NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

महाकाली प्रादेशीक अस्पतालको सेवा सुधारिँदै

दोधारा चाँदनी । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा स्वास्थ्य सेवा थप भएपछि सेवाग्राहीको चाप बढेको छ ।

अस्पतालमा सेवा, सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्दै गएको हो । स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखा तथा निक साइमन्स संस्थानले अस्पतालमा न्यूनतम सेवा मापदण्डमा अनुगमन गर्दा विगतको तुलनामा स्वास्थ्य सेवामा सुधार भएको छ ।

स्वास्थ्य सेवा विभागले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुसार अस्पतालमा सेवा सञ्चालन भए–नभएको हरेक छ/छ महिनामा अनुमगन गर्ने गरेको छ । विभागका अनुसार सन् २०१९ मा महाकाली अस्पतालको गुणस्तर ३५ प्रतिशत मात्रै रहेको थियो । हाल अस्पतालले गुणस्तर वृद्धि गर्दै ८० प्रतिशत पु-याएको छ ।

त्यसैगरी २०२० मा अस्पातलले सेवा सुधार गर्दै ६३ प्रतिशत पु-याएको थियो । सन् २०२१ मा ६८ प्रतिशत र २०२२ मा ७८ प्रतिशत सेवा सुधार भएको हो । गत साता स्वास्थ्य सेवा विभागले अस्पतालमा गरेको अनुगमनले अस्तालले गुणस्तर वृद्धि गर्दै ८० प्रतिशत पु-याएको छ । विभागले अनुगमन गर्दा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुसार सञ्चालन भए/नभएको हेर्ने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णनन्द भट्टले जानकारी दिए ।

उनले विगतको तुलनामा अस्पतालले गुणस्तर वृद्धि गर्दै गएको बताए । ‘हामीले अस्पतालले दिने स्वास्थ्य सेवा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुसार नै दिने गरेका छौँ’, उनले भने ‘अहिले अस्पतालमा विशेषज्ञ डाक्टर र अन्य सेवासुविधासमेत थप गरिरहेका छौँ, त्यसले गर्दा बिरामीको चाप बढेको छ ।’

उहाँनले सय प्रतिशत पु-याउने लक्ष्यअनुसार अस्पतालले स्वास्थ्य सेवा विस्तार गरिरहेको बताए । ‘हामीले सुविधासम्पन्न आकस्मिक भवन सञ्चालनमा ल्याएका छौँ’, अध्यक्ष भट्टले भने, ‘सेवासुविधा पनि थप हुने प्रक्रियामा छन् ।’ उनले डायलासिस सेवाका लागि भौतिक संरचना र अन्य उपकरण तयारी अवस्थामा रहेकाले स्वास्थ्य सेवा विभागबाट अनुमति पाउन बाँकी रहेको बताए ।

अस्पतालमा हाल १४ विशेषज्ञ डाक्टर, १२ मेडिकल अफिसर र छजना डेन्टलले सेवा दिँदै आएका छन् । ‘अस्पतालमा अझै नर्सिङ्ग स्टाफको अभाव छ, भौतिक संरचना निर्माण हुँदैछन्’, उनले भने, ‘आवश्यक जनशक्ति व्यवस्थापन र भौतिक संरचनाका लागि पहल गरिरहेका छौँ ।’यहाँका स्थानीयले पनि पछिल्लो समय अस्पतालको सेवा सुधार भएको बताएका छन् ।

महाकाली अस्पतालमा उपचारका क्रममा भेटिएका नरेश जोशीले अस्पतालमा सहज रुपमा सेवा पाइरहेको बताए । ‘धेरै अगाडि अस्पतालमा आएको थिए, त्यति बेला यहाँ सामान्य उपचार पनि हुन्थेन, धनगढी वा भारत जानुपथ्र्यो’, उनले भने, ‘अहिले यही अस्पतालमा शल्यक्रिया हुने गरेको देखेपछि खुसी लागेको छ ।’ त्यसैगरी यहाँका नागरिक अगुवाले पनि अस्पतालमा राजनीति गर्न नहुने भन्दै अस्पतालको सेवा विस्तारमा लाग्नुपर्ने बताएका छन् ।

यहाँका स्थानीय रमेश पन्तले पछिल्लो सयम अस्पतालले स्वास्थ्य सेवा थप गरेको जनाउँदै जनताले घरआँगनमै उपचार पाउने गरेको बताए । ‘एकजना विशेषज्ञ डाक्टर बस्ने अस्पतालमा अहिले १४ जना छन्, त्यस्तै अन्य सुविधा पनि थप भएका छन्’, उनले भने, अस्पतालमा राजनीतिक आग्रह पूर्वाग्रहले गर्दा बेला–बेला विवाद आउने गरेको छ, अस्पतालमा राजनीति गर्नु हुँदैन ।’

ताजा अपडेट

नेपालवाच विशेष