NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

यी हुन् राष्ट्रपति निर्वाचनमा मतदान गर्न नपाउने सांसदहरू

काठमाडौं । फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा संघीय संसदका तीन जना सांसदले भोट हाल्न नपाउने भएका छन् ।
निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको मतदाता नामावली अनुसार संघीय संसद (राष्ट्रिय सभा र प्रतिधिनिसभा)को ३३४ सांसदमध्ये ३३१ जना सांसदको मात्र नामावली सार्वजनिक गरेको छ । त्यस्तै प्रदेशसभाका ५५० जना सदस्य नामावलीमा समावेश रहेका छन् ।

निर्वाचनमा भाग लिन नपाउनेमा चितवन–२ बाट निर्वाचित रास्वपाका प्रतिनिधिसभा सदस्य रवि लामिछाने नागरिकता प्रकरणमा सर्वोच्च अदालतले पदमुक्त गरिसकेको छ । उनी पदमुक्त भएपछि उक्त क्षेत्र अहिले रिक्त रहेको छ ।

यसैगरी निलम्बित सांसद टेकबहादुर गुरुङले पनि मतदान गर्न नपाउने भएका छन् । उनको नाम पनि मतदाता नामावलीमा समावेश छैन । कांग्रेसका सांसद रहेका उनी मंसिर ४ मा भएको निर्वाचनमा मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । गुरूङ भ्रष्टाचारको अभियोगमा निलम्बित छन् ।

त्यस्तै कैलाली–२ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरूणकुमार चौधरीको नाम पनि राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा समावेश छैन । आगजनी तथा मान्छे कुटपिट मुद्दामा उनी पक्राउ परेका थिए ।

चौधरी राष्ट्रपतिबाट माफी पाएर जेल मुक्त भैसकेका छन् । उनी पक्राउ परेको सूचना संसद सचिवालयमा सुनाइएको अवस्थामा मतदाता नामावली अन्तिम गरिएका कारण उनको नाम समावेश नभएको हो । निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएको छ ।

यस्तै फरार सूचीमा रहेका नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीको नाम भने मतदाता नामावलीमा समावेश छ । आयोगले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार मतदाता नामावलीमाथि बिहीबरसम्म दाबी विरोध गर्न पाइनेछ ।