NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

सुरु भयो हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार

काठमाडाैं । हिमालयन बैंक र सिभिल बैंकको मर्जरपश्चात् आजदेखि एकीकृत कारोबार सुरु भएको छ । आज बिहान हिमालयन बैंकका अध्यक्ष प्रचण्ड श्रेष्ठले केन्द्रीय कार्यालय कमलादीमा पूजा गरेर एकीकृत कारोबार सुरु गरेका हुन् ।

हिमालयन बैंकले सिभिल बैंकलाई १००ः८०।२८ को स्वाप रेसियोमा प्राप्ति गरेको हो । सिभिल बैंकका सेयरधनीले एक सय कित्ता सेयर बराबर हिमालयन बैंकको ८० दशमलव २८ कित्ता सेयर प्राप्त गर्नेछन् । हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंक अब देशकै उत्कृष्ट बैंक बन्ने बताए । हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार सुरु भएको अवसरमा सो कुरा बताएका हुन् । रु छ करोडबाट सुरु भएको बैंक हाल रु १४ अर्ब पुँजीको बैंक बनेको बैंकको उनको भनाइ थियो । आफ्नै कसरतमा ठूलो बनेको बैंक अब सिभिल बैंकलाई प्राप्ति गरेपछि उत्कृृष्ट बैंक बन्ने उनले दाबी गरे ।

यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक राणाले नौ महिनाको प्रयासपछि सिभिल बैंकलाई प्राप्ति गर्न सफल बनेको जनाए । हिमालयन बैंक आफैँमा ठूलो भएको जनाउँदै उनले राष्ट्र बैंकको नीतिलाई साथ दिनमात्रै सिभिल बैंकलाई प्राप्ति गरिएको बताए ।

३४ अर्ब पुँजी

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि बैंकको चुक्तापुँजी रु ३४ अर्ब पुगेकोे छ । पुँजीका आधारमा हिमालय बैंक छैटाैँ ठूलो बैंक हो । यस्तै बैंकको रु दुई खर्ब ७४ अर्ब निक्षेप, रु दुई खर्ब ५० अर्ब कर्जा रहेको बैंकले जनाएको छ । सिभिल प्राप्तिसँगै हिमालयन बैंकको कूल शाखा एक सय ८९ भएका छन् ।

सन् १९९३ मा स्थापना भएको हिमालयन बैंक नेपाली व्यवसायी प्रवद्र्धक भएर खुलेको पहिलो निजी क्षेत्रको बैंक हो । हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्षमा श्रेष्ठ, फैशल एन लाल्टिन, सुनिलबहादुर थापा, जीतेन्द्र धिताल, आशिष शर्मा, विजयबहादुर श्रेष्ठ र राधाकृष्ण पोटे सञ्चालक रहनुभएको छ । यस्तै बैंकको प्रमुख कार्यकारी अधिकृत ९सिइओ० मा हिमालयन बैंकका राणा रहेका छन् ।