NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

ग्रिसमा भयानक रेल दुर्घटना, १६ को मृत्यु, ८५ बढी घाइते

काठमाडौं । ग्रिसमा भयानक रेल दुर्घटना भएको छ । घटनामा १६ जनाको मृत्यु भएको छ भने ८५ भन्दा बढी घाइते छन् ।

एथेन्सबाट करिब २ सय ३५ माइल उत्तरमा अवस्थित टेम्पी नजिकै गएराति यात्रुबाहक र मालबाहक रेल ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनास्थल थेसालोनिकी र लारिसा सहरको बीचमा पर्छ ।

दुर्घटनाका क्रममा रेलका तीन वटा डिब्बामा आगलागी हुँदा ठूलो मानवीय क्षति भएको छ । समाचारहरूमा जनाइएअनुसार घाइते ८५ मध्ये २५ को अवस्था गम्भीर छ ।

उनीहरूलाई उद्धार गरेर विभिन्न अस्पतालमा पुर्याइएको छ । घाइतेको संख्या गम्भीर रहेकाले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ ।

दुर्घटनाको भिडियो फुटेज सार्वजनिक भएका छन् जसमा रेलका डिब्बाहरूमा आगो लागिरहेको देखिन्छ । उद्धारकर्ताहरूले आगो लागिरहेकै समय रेलका डिब्बाभित्र पसेर फसेका यात्रुको उद्धार गरेका थिए ।

समाचार एजेन्सी रोयटर्सबाट उद्धार गरिएका एक व्यक्तिले घटनापछिको अवस्थाको वर्णन गर्दै मानिसहरु आतंकित भएर कराएको जनाएका छन् ।

अर्का यात्रुले भूकम्प गएजस्तो महसुस भएको बताए ।