NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

‘मिसन ग्रासरूट’ अभियानबाट उत्साहित छन् एमालेका नेताहरू

काठमाडौं । नेकपा (एमाले)ले संगठन विस्तार अभियान अन्तर्गत ‘मिसन ग्रासरूट’ अभियान देशव्यापी रूपमा जारी राखेको छ ।
एमालेका अध्यक्ष केपी ओलीले भर्चुअल माध्यमबाट ५ फागुनमा एकसाथ अभियानको उद्घाटन गरेका थिए ।

सात वटै प्रदेशमा अभिमुखीकरण कार्यक्रमबाट अभियान सुरू गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । अभियानलाई सफल बनाउ केन्द्रीय नेतृत्व अहिले सात वटै प्रदेशमा पुगेका छन् ।

यस अभियानले नेतृत्वलाई आधारभूत तहका कार्यकर्तासँग र आधारभूत तहका कार्यकर्तालाई नेतृत्वसँग जोड्ने काम भएकाले संगठनलाई थप बलियो हुने विश्वास लिएका छौं’, उनले भने ।

ज्ञवालीका अनुसार सातै प्रदेशमा जनवर्गीय संगठन, भातृसंगठन, विभिन्न पेशा व्यवसायसँग जोडिएका पार्टीका शुभेच्छुक संघ–संगठनसँग बहस, छलफल र अभिमुखिकरण गरी संगठन विस्तार गरिनेछ ।

२६ माघमा बसेको एमालेको सचिवालय बैठकले सदस्यता नवीकरण, प्रशिक्षण, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुधार, पार्टीबारे राय सुझाव लिनेलगायत ११ वटा कार्यादेश दिएर जस्ता काम समेटेर सम्पूर्ण केन्द्रीय सदस्यहरुलाई पालिकाहरूमा खटाउने निर्णय गरेको थियो । अभियान चैतसम्म जारी उनले बताए ।

यसैगरी गण्डकी प्रदेशमा खटिएकी सचिव पद्माकुमारी अर्याल अभियानबाट निकै खुशी देखिएकी छिन् ।

‘यो अभियानले कार्यकर्ता तहमा निकै उत्साह थपिएको मैले पाएँ । हामी अभियानकै क्रममा गण्डकी प्रदेशका पालिका तहसम्म भेला, प्रशिक्षण, अन्तक्र्रिया, अभिमुखिकरण लगायत काम गरिरहेका छौं । यस अभियानले संगठन विस्तार र सुदृढिकरणमा पार्टीलाई थप मजबुद बनाएको छ’, अर्यालले भनिन् ।

त्यस्तै अभियानकै क्रममा सिन्धुपाल्चोक पुगेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ यो अभियानबाट निकै उत्साहित देखिएका छन् ।

‘संगठन विस्तारको क्रममा हामी सिन्धुपाल्चोकको विभिन्न पालिकामा आइपुगेका छौं । आभियानबाट स्थानीय कार्यकता तथा जनताहरूमा उत्साह थपिएको छ । एमाले नै देशको समस्या समाधान गर्ने एक मात्र पार्टी भएको बुझाइ उहाँहरूको छ’, उनले भने, ‘यो अभियानबाट हामी निकै उत्साहित भएका छौं । पार्टीले दिएको जिम्मेवारी पुरा गरेर मात्र हामी काठमाडौं फर्किन्छौं ।

के हो मिसन ग्रासरूट अभियान ?

मिसन ग्रासरुट केन्द्रीय नेतृत्वलाई आधारभूत तहका कार्यकर्तासँग र आधारभूत तहका कार्यकर्तालाई नेतृत्वसँग जोड्ने अभियान भएको एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् ।

उनकाअनुसार समग्रतामा सिंगो पार्टीलाई आम जनतासँग जोड्ने अभियान हो । भविष्यमा एमालेलाई बहुमत प्राप्त बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्नेगरी पार्टीको सदस्यतालाई भौतिक उपस्थितिमा व्यवस्थित गर्ने अभियान भएको पनि पोखरेलले जानकारी दिए । यस अभियानवाट पार्टी सदस्यको वास्तविक अभिलेख प्राप्त हुने र पार्टी सदस्यहरुको विशिष्टिकृत क्षमताको पहिचान हुने उनको विश्वास छ ।

बुँदागत रूपमा यस्तो छ अभियानको उदेश्य

– नयाँ पुस्तालाई पार्टीमा जोड्ने काम हुनेछ । नेतृत्व विकासको सम्भावना वोकेका युवा नेतृत्वको पहिचान हुनेछ ।
– सबै टोल र वस्तीमा पार्टी कमिटी विस्तार गरिनेछ। आधारभूत तहका कमिटीहरुको पुनर्गठनको आधार तयार हुनेछ ।
– पार्टी सम्वद्ध सबै जनसंगठनका आधारभूत तहसम्म कमिटीको संजाल तयार हुनेछ । सबै वर्ग र समुदायका वीचमा जनसंगठन मार्फत पार्टीको प्रभावलाई विस्तार गरिनेछ ।
– स्थानीय तहमा पार्टी एकतावद्ध र सुदृढ हुनेछ र स्थानिय तहमा विद्यमान अन्तरविरोध समाधानमा सहजिकरण गरिनेछ ।
– पार्टीमा उत्पन्न जटिल समस्याको पहिचानगरी त्यसको समाधानको उपाय खोजिनेछ ।
– स्थानीय तहका जनप्रतिनिधिहरुको कामलाई प्रभावकारी बनाउन सहयोग पुग्नेछ । पार्टी र जनप्रतिनिधि वीचको सम्वन्ध समधुर हुनेछ ।
– वैचारिक र राजनीतिक स्तर माथि उठाउन सहयोग पुग्नेछ । आधारभूत तहदेखि नेतृत्व विकासको आधारशीला तयार हुनेछ ।
– वर्तमान सन्दर्भमा सामाजिक र जनसरोकारका विशिष्टिकृत मुद्दाहरु पहिचान हुनेछ । मुद्दामा आधारित जनपरिचालनको काममा तिव्रता आउने छ ।
– आन्दोलन र समाजमा विशिष्ट योगदान गरेका भूईतहका व्यक्तित्वहरुको पहिचान र सम्मान गरिनेछ ।
– यस अभियानको सफलतासंगै अवसरवाद र अराजकतावादमाथि विजयको आधार तयार हुनेछ ।
– समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरागर्न सक्ने गरी एकल बहुमत प्राप्त गर्न सक्ने वलियो राष्ट्रिय शक्तिका रुपमा पार्टीको सुदृढ हुनेछ । त्यसैले मिसन ग्रासरुटलाई पार्टी सुदृढिकरण र विस्तार अभियानका रुपमा सिर्जनात्मक ढंगले अघि वढाउ ।

को–को छन् अभियानमा ?

अभियानको लागि एमालेले कोसी प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव टोपबहादुर रायमाझी र नेताहरू शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिम्मत कार्कीलाई खटाएको छ।

मधेस प्रदेशमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव रघुवीर महासेठ, नेताहरू गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेल छन्।

त्यस्तै वागमती प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, काशीनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ छन्।
गण्डकी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, सचिव पद्माकुमारी अर्याल, नेताहरू किरण गुरुङ, खगराज अधिकारी र थममाया थापा छन् ।

यसैगरी लुम्बिनी प्रदेशमा उपाध्यक्ष रामबहादुर थापा, छविलाल विश्वकर्मा, भीम आचार्य, राजन भट्टराई र शिवमाया तुम्बाहाम्फे छन् ।

कर्णाली प्रदेशमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, सचिव योगेशकुमार भट्टराई, भानुभक्त ढकाल, यामलाल कँडेल र गोरखबहादुर बोगटी छन् ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, लेखराज भट्ट, मणिचन्द्र थापा, विन्दा पाण्डे र कर्णबहादुर थापा रहेका छन्।

विशेष कमिटी (केन्द्रिय कार्यालय) मा महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल र नेता डा. भीष्म अधिकारी रहेका छन्।