NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

जनयुद्धका सारथि : को के गर्दैछन् ?

काठमाडौं । तत्कालीन राज्यसत्ताविरुद्ध १ फागुन, २०५२ मा सशस्त्र विद्रोह गरेको नेकपा(माओवादी) अहिले आधा दर्जनभन्दा बढी टुक्रामा विभाजित छन् ।

सबै माओवादी घटक अस्तित्वमा रहेपनि निरन्तर सत्ताको वरपर माओवादी केन्द्र मात्र देखिएको छ । बैद्य नेतृत्वको माओवादी गतिहीन अवस्थामा छ ।

जनयुद्ध र वीर योद्धाहरूको सपनालाई प्रचण्डले गद्दार गरेको आरोप लगाउँदै राज्यविरुद्ध फेरी भूमिगत युद्ध गरेको विप्लव नेतृत्वको माओवादी सेनापतिबिनाको सिपाही जस्तै देखिएको छ ।

माओवादी त्यागेर वैकल्पिक शक्ति निर्माण गर्न हिँडेका बाबुराम भट्टराई विभिन्न पार्टी चाहार्दै पुनः माओवादी केन्द्रमै फर्किने तर्खरमा छन् । रामबहादुर थापा बादल, टोबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा लगायत माओवादीमा भविष्य नदेखेर एमालेमा ओत लाग्न गएका छन् ।

धर्मेन्द्र बास्तोला, गोपाल किराँती, विश्वभक्त दुलाल आहुती लगायत नेताहरू भुरेटाकुरे पार्टी चलाएर बसेका छन् । लोकेन्द्र विष्ट राजनीतिबाट सन्यास लिएर कृषि फर्म चलाएर बसेका छन् ।

प्रत्यक्ष युद्ध लडेका सयौं माओवादी योद्धाहरू अरबका खाडीमा आफ्ना सपना बेचेर बसेका छन् । युद्धको क्रममा घाइते अपाङ्गता भएका हजारौं लडाकुहरू अझैपनि शरिरमा गोली र बारुदका छर्रा बोकेर बस्न बाध्य छन् ।

माओवादी सशस्त्र संघर्ष(२०५२–२०६२) मा १७ हजार बढीको ज्यान गयो । हजारौं माओवादी लडाकुहरू घाइते र अपाङ्ग छन् । सयौं वेपत्ता छन् । ५ मंसिर, २०६३ मा सरकार र विद्रोही माओवादीबीच शान्ति सम्झौता भयो । त्यसयता पटक–पटक माओवादी सरकारमा सहभागी भएता पनि शहीद परिवार, वेपत्ता परिवार र घाइते तथा अपाङ्गता भएकाहरूको उचित व्यवस्थापन गर्न नसकेको आरोप लाग्दै आएको छ ।

माओवादी सशस्त्र संघर्षले राज्य व्यवस्था परिवर्तन गरेपनि नागरिकका अवस्थामा कुनै परिवर्तन नभएकोप्रति आक्रोस बढ्दै गएको छ । राष्ट्रियता, जनतन्त्र र जनजिविकाको सवालमा तत्कालीन देउवा सरकारसमक्ष ४० बुँदे माग राखि माओवादी सशस्त्र युद्धमा होमिएको थियो ।

प्रचण्ड, बैद्य, बाबुराम र बादलसहित सबै केन्द्रीय नेताहरू युद्धमा होमिएका थिए । ती मध्ये कोही युद्धमा मारिए, कोही वेपत्ता छन् भने कसैको निधन भएको छ । भर्खर जनयुद्ध दिवस मनाएका माओवादी घटकहरूले अहिले शहीद सप्ताह फागुन(१४–२१) मनाइरहेका छन् । जनयुद्ध सुरू भएको २८ वर्ष भएको छ । ती नेताहरूको सम्बन्धमा संक्षीप्त जानकारी दिइएको छ ।

जनयुद्ध सुरू गर्दा माओवादीमा १९ सदस्यीय केन्द्रीय समिति थियो । प्रचण्ड महामन्त्री थिए । ६ जना पोलिटव्यूरोमा प्रचण्डसहित मोहन वैद्य ‘किरण’, डा. बाबुराम भट्टराई ‘लालध्वज’, रामबहादुर थापा ‘बादल’, पोष्टबहादुर बोगटी ‘दीवाकर’ र सीपी गजुरेल ‘गौरव’, थिए ।
केन्द्रीय समितिका सदस्यहरूमा, हरिबोल गजुरेल ‘शितलकुमार’, यानप्रसाद गौतम ‘आलोक’, टोपबहादुर रायमाझी ‘अनिल’, देवप्रसाद गुरुङ ‘कान्छाबहादुर’, पम्फा भुसाल ‘विद्युत’, दण्डपाणि न्यौपाने ‘दीपेन्द्र’, अग्नि सापकोटा ‘कञ्चन’, थिए । यसैगरी फणिन्द्र आचार्य ‘अनल’, लोकेन्द्र विष्ट ‘अभ्यास’, हरिभक्त कंडेल ‘प्रतीक’, मातृका यादव ‘रामसिंह’, दिनेश शर्मा ‘सागर’, र नारायण शर्मा ‘कमलप्रसाद’ थिए ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’

जनुद्धका सर्वोच्च कमाण्डसमेत रहेका प्रचण्ड अहिले मुलुकका कार्यकारी प्रधानमन्त्री छन् । उनी २०६४, २०७३ र अहिले गरी तीन पटक प्रधानमन्त्री भइसकेका छन् । वि.सं. २०११ साल मंसीर २६ गते कास्कीमा जन्मिएका उनी जनयुद्धका सर्वोच्च नेता हुन् । २०४८ सालको एकता महाधिवेशनले प्रचण्डलाई पार्टीको महामन्त्रीमा निर्वाचित गरेको थियो । २०५१ सालमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनले पार्टीको नाम एकता–केन्द्रबाट परिवर्तन गरी नेकपा (माओवादी) बनाएको थियो । त्यतिबेला उनी महामन्त्री थिए । २०५७ को दोस्रो राष्ट्रिय सम्मेलनपछि प्रचण्ड पार्टी अध्यक्ष बनेका थिए ।

मोहन वैद्य ‘किरण’

२०६४ को संविधानसभा निर्वाचनपछि छोटो समय संविधानसभा सदस्य रहेका बैद्य त्यसयता राजकीय पदमा रहेनन् । प्रचण्डअघि महामन्त्री रहेका उनले २०४५ को सेक्टर काण्ड असफल भएपछि पदबाट राजीनामा दिएका थिए । उनी वामपन्थी आन्दोलनका दार्शनिक नेता र सौन्दर्य चिन्तकका रूपमा परिचित छन् । १५ साउन, २००३ मा प्युठानको खैरागाउँमा जन्मिएका वैद्य जनयुद्ध सुरु गर्दा दोस्रो बरियतामा थिए । जनयुद्ध अवधिभर पार्टीको वैचारिक नेतृत्व गरेका उनी पछिल्लो समय मुलधारबाट विद्रोह गरी नेकपा –माओवादी केन्द्र) गठन गरेका छन् । उनी उक्त पार्टीको अहिले महासचिव छन् । सशस्त्र बल प्रयोग गरी राज्य सत्ता कब्जा गर्नुपर्ने युद्धकालीन धङधङ्गिी उनले अहिलेसम्म त्याग्न सकेका छैनन् ।

डा. बाबुराम भट्टराई‘लालध्वज’,

वि.सं. २०११ साल असार ४ गते गोरखाको खोप्लाङमा जन्मिएका भट्टराई युद्ध कालमा माओवादीको तेस्रो तहमा थिए । नेपाली राजनीतिका बौद्धिक नेताका छवि बनाएका उनी २०६८ सालमा प्रधानमन्त्री भएका थिए । २०७२ सालमा नयाँ संविधान जारी भएपछि उनले माओवादी परित्याग गरी नयाँ शक्ति पार्टी गठन गरे । २०७४ को निर्वाचनमा असफल भएपछि उपेन्द्र नेतृत्वको संघीय समाजवादी पार्टीसँग पार्टी एकता गरे । त्यसपछि जसपा हुँदै उनी अहिले नेपाल समाजवादी पार्टीका अध्यक्ष छन् । पछिल्लो समय पुनः माओवादीमा फर्किने तरखरमा छन् ।

रामबहादुर थापा ‘बादल’

जनयुद्धमा चौंथो बरियतामा रहेका बादल सैन्य रणनीतिकार थिए । उनको जन्म २०१२ साल वैशाख १९ गते गुल्मीको सुन्दर गाउँमा भएको थियो । उनी शान्ति प्रक्रियापछि रक्षामन्त्री भएका थिए । २०६९ सालमा पार्टीभित्र विद्रोह गरी बैद्य माओवादीतिर लागेका थिए । २०७३ पुनः राजनीतिको मूलधारमा फर्किका उनी एमाले र माओवादीबीच एकता भई बनेको नेकपाका सचिवालय सदस्य थिए । ओली सरकारमा गृहमन्त्री रहेका उनी नेकपा विघटन पछि एमालेमा गएका थिए । एमालेका उनी उपाध्यक्ष छन् ।

पोष्टबहादुर बोगटी ‘दीवाकर’

माओवादीभित्र शालिन स्वाभावका नेता रहेका पोष्टबहादुर बोगटी नुवाकोटमा रहेको आफ्नौ सबै जायजेथा स्थानीय विद्यालयलाई दिएर युद्धमा होमिएका थिए । वि.सं. २०१० साल साउन ३ गते तुप्चेमा उनको जन्म भएको थियो । शान्ति प्रक्रियापछि उर्जामन्त्री, शिक्षामन्त्री भए । उनको २०७१ भदौ ३१ मा हृदयघातका कारण निधन भयो ।

सीपी गजुरेल ‘गौरव’

गजुरेल वि.सं. २००५ साल वैशाख १७ गते सिन्धुलीमा जन्मिएका थिए । पार्टीभित्र वैचारिक नेता मानिने उनी कुटनीतिक मामिला र अन्तर्राष्ट्रिय सम्बन्धका दख्ख रहेको नेता मानिन्छन् । उनले जनयुद्धकालभरि विदेश विभागको नेतृत्व गरेका थिए । शान्ति प्रक्रियापछि उनलाई परराष्ट्रमन्त्री बनाउने चर्चा चलेपनि पार्टीभित्र अन्तर्विरोधका कारण बन्न सकेनन् । उनी हाल मोहन वैद्य नेतृत्वको माओवादीमा छन् ।

देवप्रसाद गुरुङ ‘कान्छाबहादुर’

पार्टीभित्र अध्ययनशील र बौद्धिक नेता मानिने देव गुरुङ अहिले माओवादी केन्द्रका महासचिव छन् । युद्धकालमा प्रचण्डसँग मिलेर उनले हतियार संकलनको काम गरेका थिए।

वि.सं. २०१० सालमा मनाङमा जन्मिएका गुरुङ जनयुद्ध सुरु गर्दा माओवादीमा केन्द्रीय सदस्य थिए । उनी शान्ति प्रक्रियापछि कानूनमन्त्री भएका थिए । प्रचण्डसँग विद्रोह गरी केही समय बैद्यसँग लागेका उनी २०७३ पछि माओवादीमा फर्किए ।

टोपबहादुर रायमाझी ‘अनिल’

माओवादीमा बाबुराम निकट रहेर काम गरेका टोपबहादुर रायमाझी विद्रोही स्वभावका नेता मानिन्छन् । २०७३ मा भट्टराईले माओवादी त्याग गरेपनि उनले साथ दिएनन् । शान्ति प्रक्रियापछि पटक–पटक मन्त्री उनी नेकपा विघटन भएपछि एमालेमा गए । उनी अहिले एमालेका सचिव छन् । २०१८ कार्तिक २५ मा अर्घाखाँचीमा जन्मिएका रायमाझी मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राम्रो मत ल्याइ विजयी भए ।

अग्नि सापकोटा ‘कञ्चन’

२०११ साउन १४ गते सिन्धुपाल्चोकमा जन्मिएका सापकोटा पूर्वसभामुख हुन् । शिक्षक पृष्ठभूमिबाट राजनीतिमा लागेका उनी शान्तिप्रक्रियामा आएपछि पटक–पटक मन्त्री भए । उनी अहिले माओवादीका उपाध्यक्ष भएका छन् ।

हरिबोल गजुरेल ‘शितलकुमार’

गजुरेल अहिले प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार छन् । वि.सं. २०१२ साल वैशाख ६ गते सिन्धुलीमा जन्मिएका उनी जनयुद्ध सुरु गर्दा केन्द्रीय सदस्य थिए । २०४७ सालमा मोहनविक्रमसँग विद्रोह गरी उनी माओवादीमा लागेका थिए । शान्ति प्रक्रियापछि उनी कृषिमन्त्री भएका थिए । उनी अहिले माओवादीका उपाध्यक्ष छन् ।

पम्फा भुसाल ‘विद्युत’

वि.सं. २०१९ साल साउनमा अर्घाखाँचीमा जन्मिएकी पम्फा भुसाल जनयुद्ध सुरु गर्दा माओवादीमा एक मात्र महिला केन्द्रीय सदस्य थिइन् । २२ जना माओवादी कन्द्रको पदाधिकारीमा उनीमात्र महिला छन् । जनयुद्धको कुशल नेता मानिने भुसाल शान्ति प्रक्रियापछि पटक–पटक मन्त्री भइन् । मंसिरमा भएको निर्वाचनमा उनी ललितपुर–३ बाट पराजित भइन् ।

मातृका यादव ‘रामसिंह’

विद्रोही स्वभावका रहेका यादवको जन्म वि.सं. २०१६ सालमा सप्तरीमा भएको थियो । युद्धकालमा मधेशी समुदायका उनी एक मात्र केन्द्रीय सदस्य थिए । २०५१ मा रामवृक्ष यादव मारिएपछि मधेशमा माओवादी संगठबन्न विस्तार गर्न उनी सक्रिय रहे । २०६४ मा उनी बनमन्त्री हुँदा स्थानीय विकास अधिकारीलाई थुनेर चर्चामा आएका थिए । शान्ति प्रक्रियापछि केही समय पार्टीबाट अलग्गिएका पुनः माओवादी केन्द्रमै फर्किएका थिए ।

हरिभक्त कंडेल ‘प्रतीक’

जनयुद्धकालमा प्रवासमा रहेर अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तारमा सक्रिय रहेका हरिभक्त कंडेल २०६९ मा बैद्य माओवादीमा लागेका थिए । माओवादीमा लागेर अहिलेसम्म उनले कुनै राजकीय पद लिएका छैनन् । २०११ साउन १४ गते जन्मिएका उनी अहिले बैद्य माओवादीको प्रवक्ता छन् ।

नारायण शर्मा ‘कमलप्रसाद’

२०१४ पुस ४ मा दाङमा जन्मिएका शर्मा त्यतिबेला माओवादीका केन्द्रीय सदस्य थिए । २०६४ मा संविधान सभा सदस्य भए । एकीकृत नेकपा (माओवादी) बाट विद्रोह गरी वैद्य माओवादीमा लागेका उनी २०७३ पछि पुनः माओवादी फर्किएका थिए ।

दण्डपाणि न्यौपाने ‘दीपेन्द्र’

बौद्धिक नेताका रुपमा चिनिने न्यौपाने २०५६ जेठ ७ गते काठमाडौंबाट गिरफ्तार परे । त्यसपछि हालसम्म उनी बेपत्ताको सूचीमा रहेका छन् । उनी २००३ चैत्र १२ गते चितवनमा जन्मिएका हुन् । बेपत्ताको सूचीमा रहेका उनी सबैभन्दा उच्च नेता हुन् ।

दिनेश शर्मा ‘सागर’

शर्मा २०१६ साल साउन ७ गते काभ्रेमा जन्मिएका हुन् । माओवादीका चर्चित नेता यानप्रसाद गौतम ‘आलोक’का नातेदारसमेत हुन् । युद्धकालमा उनका श्रीमतिलाई तत्कालीन राज्यले बेपत्ता बनाएको थियो । बैद्यसँगै एमाओवादीबाट अलग भएका उनी क्रान्तिकारी माओवादीमा नै अहिले क्रियाशील छन् ।

लोकेन्द्र विष्ट ‘अभ्यास’

लोकेन्द्र विष्ट शान्ति प्रक्रियामा आएपछि पर्यटनमन्त्रीसमेत भए । प्रचण्डको कडा आलोचक रहेको उनी युद्धकालमा केन्द्रीय सदस्य थिए । २०२१ सालमा रुकुममा जन्मिएका विष्ट राजनीतिबाट सन्यास लिएर अहिले दाङमा ‘ड्रागन फ्रुट’ खेती गरेर बसेका छन् । केही समय उनले मार्सी धानको खेतीसमेत गरेका थिए ।

यानप्रसाद गौतम ‘आलोक’

पार्टीभित्र प्रखर वक्ताको रुपमा चिनिने यानप्रसाद गौतम ‘आलोक’ कुनै बेला प्रचण्डकै प्रतिस्पर्धी रुपमा हेरिन्थ्यो । युद्धकालमै उनीमाथि यौन दूराचार र पार्टी नेतृत्वका विरुद्ध षड्यन्त्र गरेको आरोप पार्टीले कारवाही गरेको थियो । २०५९ मा रोल्पाको उवामा सेनाको कार्वाहीमा मृत्यु भएको थियो । माओवादीभित्र अहिलेसम्म पनि उनको प्रवित्तिलाई लिएर आलोप प्रवृत्ति भएको भन्ने गरिन्छ । उनी २०१७ वैशाखमा काभ्रेमा जन्मिएका हुन् ।

फणिन्द्र आचार्य ‘अनल’

जनयुद्ध सुरु गर्दा माओवादीको केन्द्रीय समिति भएपनि फणिन्द्र आचार्यले युद्धमा सहभागी भएनन् । जनयुद्धको अवधिभरि चितवनमा व्यवसायिक र सामाजिक गतिविधिमा सक्रिय रहे । शान्ति प्रक्रियामा आएपछि पार्टी गतिविधिमा सक्रिय रहे । हाल उनी पार्टीमा सक्रिय भूमिकामा छैनन् ।