NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

यसकारण ओली र माधवबीच तत्काल सहकार्य र एकता सम्भव छैन

काठमाडौं । माधव नेपालको नाम लिएमात्रै मुख कुल्ला गर्नुपर्ने कडा अभिव्यक्ति दिएका एमालेका अध्यक्ष केपी ओली पछिल्लो समय उनीसँग नजिकिएका छन् । ९ भदौ, २०७८ मा एमाले विभाजन गरी एकीकृत समाजवादी गठबन गरेपछि नेपालसँग ओली निकै क्रुद्ध भए ।

नेपालकै योजनामा छँदाखाँदाको पार्टी विभाजन गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको आरोप लगाउँदै उनको नाम लिएमात्रै तीन पटक मुख कुल्ला गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

गतवर्ष संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सर्वोच्च आदालतले ओलीलाई प्रधानमन्त्रीबाट पदमुक्त गरी देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । आदालतको परमादेशपछि बालुवाटारबाट बालकोट पुगेका उनले नेपाललाई एमालेको ढोका सँधैभरीका लागि बन्द भएको घोषणा गरेका थिए ।

पार्टी विभाजनपछि लामो समय सार्वजनिक मञ्चसमेत सेयर नगरेका ओलीले राष्ट्रपतिको निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष आफैले माधवको नाम प्रस्ताव गरे । १० फागुनमा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका ओलीले उपाध्यक्ष सुवास नेम्वाङ र माधवको नाम प्रस्ताव गरेका थिए । त्यसअघि नेकपा एसका एक नेताको घरमा ओलीले नेपालसँग गोप्य भेटवार्ता गरेका थिए । करिब चार घण्टा भएको भेटमा नेपालाई राष्ट्रपति बन्न प्रस्ताव गरेका थिए ।

यद्यपि ओलीको प्रस्तावमा प्रधानमन्त्री प्रचण्डले अस्वीकार गरी कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि सत्ता गठबन्धन नै भत्किएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमाले सरकारबाट बाहिरिसकेको छ ।

एकीकृत समाजवादीलाई दलको मान्यता नै नदिएका उनै ओलीले नेपाललाई सम्बोधन गर्दै राष्ट्रपतिमा एमालेका उम्मेदवार नेम्वाङ समर्थन गर्न फागुन १३ मा पत्र पठाए । बिहिबार एमालेका उपाध्यक्षसमेत रहेका राष्ट्रपतिका उम्मेदवार नेम्वाङको नेतृत्वमा शीर्ष नेताहरू नेपाललाई भेट्न पहिलो पटक नेकपा एसको पार्टी कार्यलयमा पुगेका थिए ।

‘उहाँहरूको उदेश्य राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई मत माग्न आउनुभएको थियो । दुई पार्टीबीचको सहकार्य अगाडि बढाउन अमुर्त प्रस्ताव गर्नुभयो’, उनले भने, ‘जवाफमा हाम्रा अध्यक्षले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार पौडेललाई सहयोग गर्न सर्मथक बसेकाले सहयोग गर्न नसकिने बताउनुभयो ।’

भेटवार्तामा नेम्वाङसहित उपाध्यक्ष विष्णु पौडेल, उपमहाचिव पृथ्वीसुब्बा गुरुङ र पूर्वपरराष्ट्रमन्त्री विमला राई पौडेल सहभागी थिए । नेकपा एसबाट अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल, महासचिव डा. बेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला र जगन्नाथ खतिवडा र स्थायी कमिटी सदस्य रामचन्द्र झा सहभागी थिए । राष्ट्रपतिको उम्मेदवारलाई मत माग्न पुगेका नेताहरूले दुई पार्टीबीच सहकार्य गर्ने अमुर्त प्रस्ताव राखेको नेता झाले बताए ।

‘उहाँहरूको उदेश्य राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई मत माग्न आउनुभएको थियो । दुई पार्टीबीचको सहकार्य अगाडि बढाउन अमुर्त प्रस्ताव गर्नुभयो’, उनले भने, ‘जवाफमा हाम्रा अध्यक्षले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार पौडेललाई सहयोग गर्न सर्मथक बसेकाले सहयोग गर्न नसकिने बताउनुभयो ।’

अहिलेको स्थितिमा तत्काल एमालेसँग पार्टी एकता हुनै नसक्ने झाको बुझाइ थियो । एमालेसँग जुन विन्दूबाट विद्रोह गरी अलग भएका थियौं, अहिले पनि त्यहि विन्दूमा रहेकाले राष्ट्रपतिको निर्वाचनका प्रयोजनबाहेक अन्य विषयमा प्रवेश नगरेको झाको जिकिर छ ।
भेटवार्ताको सम्बन्धमा एमालेका उपमहासचिव गुरुङले सकारात्मक भएको दाबी गर्दै दुई पार्टीबीच सम्वाद जारी राख्ने बताए ।

‘राष्ट्रपतिको उम्मेदवारलाई मत माग्न गएपनि हामीबीच वार्ता र संम्वादलाई जारी राख्ने सहमति भएको छ । यस भेटवार्ताले भविष्यमा सहकार्यको सम्भावनाको ढोका खुलेको छ । राष्ट्रपतिको निर्वाचनपछि पनि छलफल जारी राख्ने छौं’, उनले भने ।

एमालेसँगको पूर्वसहमित तोड्दै प्रचण्डले कांग्रेससँग सहकार्य गरेपछि निकै आक्रोसित भएका ओली नेपालसँग नजिकिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । आफैले बनाएको सरकारमा दुई महिना नपुग्दै बाहिरिनु परेपछि प्रचण्ड सरकार ढाल्न भित्रभित्रै लागेको प्रचण्डको आशंका छ ।
राष्ट्रपतिको निर्वाचनपछि प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री प्रचण्डले सरकारलाई असफल बनाउन ओली कांग्रेस, एकीकृत समाजवादी र रास्वपाका नेताहरूसँग निरन्तर सम्वादमा रहेको सूचना बालुवाटारमा पुगेको छ ।

‘एमाले आफ्नै कारणले प्रतिपक्षमा पुगेको हो । सरकारबाट बाहिरिनु पर्दाको पीडा र छटपटीले ओलीजी कहिले कांग्रेस त कहिले नेकपा एस र रास्वपाका नेताहरूसँग सम्वादमा भएको सूचना आएको छ । एमालेकै कारण मुलुक पुनः अस्थिरतामा जाने खतरा छ । संविधान र परिवर्तनका पक्षधरहरू एक ठाउँमा उभिनुको कुनै विकल्प छैन’, माओवादीका एक नेताले भने ।

ती नेताकाअनुसार राष्ट्रपतिमा नेम्वाङलाई सहयोग गरे निर्वाचनपछि प्रधानमन्त्रीमा कांग्रेसलाई समर्थन गर्ने प्रस्ताव विभिन्न च्यानलबाट ओलीले पठाएका छन् । यद्यपि ओलीले जुनसुकै प्रस्ताव गरेपनि वर्तमान गठबन्धन नभत्किने कांग्रेसका महामन्त्री गगन थापाले जिकिर गरेका छन् ।

‘हामी १० पुसको घटना दोहोर्याउन चाहदैनौं । निर्वाचनपछि भत्किसकेको पुरानो गठबन्धन पुनः एक ठाउँमा आउन सम्भव भएको छ । ओलीले जतिसुकै चलाखी गरेपनि वर्तमान गठबन्धन भत्किँदै’, थापाले भने ।

एमालेसँग तत्काल सहकार्य र पार्टी एकता सम्भवन नभएको एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले बताए । ओलीको रणनीति वर्तमान गठबन्धन भत्काउनेमा देखिन्छ । प्रतिपक्षमा पुगेपछि ओलीले विभिन्न फोरममार्फत सहकार्य र एकताका कुरा गरेर अलमल्याइ रहेको उनको आरोप छ ।

‘ओलीले संविधान विपरित दुई–दुई पटक संसद विघटन गर्नुभयो । त्यसमा अहिलेसम्म उनले माफी मागेका छैनन् । अर्कोतर्फ उहाँ अझैपनि पार्टीको संस्थागत निर्णयलाई मान्नुहुन्छ । उहाँले जे भन्यो पार्टीले त्यहि मान्ने अवस्था छ । विचार, सिद्धान्त र संगठनात्मक स्वरुपमा एमाले र हाम्रो पार्टीबीच धेरै भिन्नता छ । यस्तो अवस्थामा ओली नसच्चिएसम्म सहकार्य र सहमति हुनै सक्दैन’, ज्वालाले भने ।

दुई महिना नपुग्दै सत्ता समीकरण भत्किएपछि कांग्रेससँग मिलेर ओलीले सत्ता सहकार्य गर्न सक्ने धेरैको आशंका छ । एमाले–कांग्रेसबीच सत्ता सहकार्य हुन नसके एकीकृत समाजवादीसँग सहमति, सहकार्य र एकता गरी शक्ति सञ्चय गर्ने दाउमा ओली रहेको नेकपा एसका शीर्ष नेताहरूको बुझाइ छ ।

‘ओलीले संविधान विपरित दुई–दुई पटक संसद विघटन गर्नुभयो । त्यसमा अहिलेसम्म उनले माफी मागेका छैनन् । अर्कोतर्फ उहाँ अझैपनि पार्टीको संस्थागत निर्णयलाई मान्नुहुन्छ । उहाँले जे भन्यो पार्टीले त्यहि मान्ने अवस्था छ । विचार, सिद्धान्त र संगठनात्मक स्वरुपमा एमाले र हाम्रो पार्टीबीच धेरै भिन्नता छ । यस्तो अवस्थामा ओली नसच्चिएसम्म सहकार्य र सहमति हुनै सक्दैन’, ज्वालाले भने ।

ओलीकै दम्भका कारण एमालेसँगको सहकार्य तत्काल सम्भव नभएकाले ओलीबाहेक समाजवादी शक्तिहरूसँग कार्यगत एकता हुनसक्ने ज्वालाको भनाइ छ ।