NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

पाथीभरा पदमार्ग : ‘डस्टबिन’ रित्तो, आसपासमा फोहरको थुप्रो

ताप्लेजुङ । पाथीभरा मन्दिर जाने पदमार्गको फोहर व्यवस्थापनका लागि बुधबार ‘हाम्रो अभियान नेपाल’ सहितका छ संस्थाले पदमार्गका विभिन्न क्षेत्रमा डस्टबिन राखेका छन् ।

यसअघि पाथीभरा क्षेत्र विकास समिति, नेपाल टेलिकमलगायत संस्थाले पदमार्गमा दर्जनौँ थान डस्टबिन राखेका थिए । तर फोहरजन्यवस्तु डस्टबिनभन्दा बाहिर यत्रतत्र छरिएको अवस्थामा देखिन्छन् । विभिन्न खानेकुरा, पेयपदार्थका खोल, बोतल तथा मोजालगायत फोहरजन्यवस्तु पदमार्गको आसपासमा फालिएका पाइन्छन् ।

पदमार्गमा यसरी फोहर बढ्नुमा पाथीभरा दर्शन र सो क्षेत्रमा घुमघामका लागि आउने पर्यटकको लापरबाही प्रमुख कारण भएको सामाजिक अभियन्ता रमेश दाहालले बताए ।

“नजिकै डस्टबिन हुँदाहुँदै बाटोमा खानेकुरा र पेयपदार्थका खोल तथा मोजा फालेर जथाभावी फोहर गर्ने गरेको पाइएकाले मन्दिरसँग सम्बद्ध सङ्घसंस्थाका साथै सरोकारवाला निकायले यस्तो कार्यमा रोक लगाउनुपर्छ”, उनले भने । धार्मिक तथा पर्यटकीय क्षेत्रमा यसरी जथाभावी फोहर फाल्नाले यहाँको वातावरणका साथै प्रकृतिमा समेत प्रतिकूल असर पुग्ने दाहालको भनाइ थियो ।

पदमार्गमा जम्मा भएको फोहरको उचितरुपमा व्यवस्थापन नभएको पाथीभरा दर्शनका लागि आएका विष्णुप्रसाद आचार्यले बताए ।

“अन्यत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रमा फोहर फाल्नेलाई नियम बनाएरै नियन्त्रण र नियमन गर्ने परिपाटी छ, तर यहाँ त्यस्तो केही देखिएन, यसमा सबैको ध्यान जान आवश्यक छ”, उनले भने ।

उनका अनुसार बस्ती आसपासमा पनि घरबाट निस्कने फोहरको सङ्कलन र व्यवस्थापन नभएको देखिएको छ । यात्राका क्रममा विभिन्न ठाउँमा टिनका टुक्रा, रक्सी तथा बियरका बोतल, प्लाष्टिकजन्यवस्तु यत्रतत्र देखिएको आचार्यको भनाइ थियो ।

यस क्षेत्रका व्यापारीले समेत जथाभावी फोहर फाल्ने गरेको उनले बताए । पाथीभरा क्षेत्रको माथिल्लो भागमा फोहर न्यून भए पनि बस्तीभन्दा तलको भागमा फोहजन्यवस्तु अत्यधिक देखिएको पाथीभरा दर्शन गरेर फर्किएका एक दर्शनार्थीले बताए ।

धार्मिक तथा पर्यटकीय क्षेत्र पाथीभरा क्षेत्रमा रेडपान्डासहितका वन्यजन्तु पाइन्छन् । यसलाई लोपोन्मुख हाब्रे (रेडपान्डा) को चरन र उचित बासस्थानका रुपमा लिने गरिएको छ । यसरी यस क्षेत्रमा फोहर बढ्नुले यहाँका बोटबिरुवा र जनावरलाई नकारात्मक असर पुग्ने देखिएको सरोकारवालाले बताएका छन् । फोहरकै कारण भूमि, वायु र जल प्रदूषण हुने भएकाले जीवजन्तु तथा बोटबिरुवालाई असर गर्ने वातावरण संरक्षणकर्मी बताउँछन् ।

यहाँ मासुजन्य फोहरका साथै खानेकुराहरु जथाभावी फाल्दा त्यहाँ कुकुर पुग्ने र रेड पान्डा कुकुरको आक्रमणमा पर्ने खतरा बढेको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । “जथाभाबी खानेकुरा र मासुजन्य फोहर फाल्दा कुकुरहरु आउने जाने र त्यो समयमा रेडपान्डा आक्रमणमा पर्ने समस्या देखिन्छ, कुकुरकै आक्रमणले पाथीभरा क्षेत्रमा रेडपान्डा मरेका घटना पनि छन्”, उनले भने ।

मन्दिरमा बलि दिएर ल्याइएको पाठापाठीको मासुबीच बाटोमै खाने, सफा नगरी छोड्ने गर्नाले भुस्याहा कुकुरहरु आउने र रेडपान्डालाई आक्रमण गर्ने गरेको राईले बताए । यस क्षेत्रका व्यवसायीले जथाभावी कुकुर पाल्न नहुने तथा फोहर पनि व्यवस्थित तरिकाले सङ्कलन गर्नुपर्ने उनको भनाइ थियो ।

कुहिने र प्लास्टिकजन्य वस्तुले माटो प्रदूषण भई हानिकारक रसायन निस्कने, हावामा हानिकारक ग्यास फैलने तथा पानीका स्रोतसमेत फोहर हुने भएकाले व्यवस्थित रुपमा फोहर सङ्कलन गनुपर्नेमा स्थानीयवासीले जोड दिए ।

फोहरले वातावरण र प्रकृतिमा नकारात्मक प्रभाव पार्ने भएकाले यसको उचित व्यवस्थापन हुन नसकेको यहाँ आउने पर्यटकले गुनासो गरेका छन् । फोहरको उचित व्यवस्थापन भएमा दैनिक सयौँको सङ्ख्यामा पाथीभरा आउने धार्मिक पर्यटकलाई सहज हुने उनीहरुको भनाइ थियो ।

यहाँको फोहर व्यवस्थापनका लागि पदमार्गका विभिन्न ठाउँमा डस्टबिन राखिएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले बताए। “ठाउँठाउँमा डस्टबिन राख्ने, समय–सयममा कर्मचारी खटाई सरसफाइ गर्ने गरिएको छ ।

यहाँ आउने जाने तीर्थयात्रीले प्रायः डस्टबिनको प्रयोग नगरेको पाइन्छ, फोहर गर्नु हुँदैन भन्ने चेतना सबैमा हुनुपर्छ, सीमित व्यक्ति र संस्थाको मात्रै प्रयासले पुग्दैन्”, उनले भने । पछिल्लो समय हिउँ परेकाले पनि फोहर उठाउन समस्या भएको अध्यक्ष थेबेको भनाइ थियो ।

वातावरणलाई स्वच्छ राख्दै पाथीभरामा आउने जाने धार्मिक पर्यटकलाई सहज बनाउने आफूहरुको प्रयास निरन्तर हुने समितिका उनले बताए। अलौकिक शक्तिपीठका रुपमा मानिने पाथीभरामा स्वदेशी र विदेशी गरी वार्षिक लाखौँको सङ्ख्यामा तीर्थयात्री आउने गरेका छन् ।

नेपालसहित भारतका विभिन्न ठाउँबाट भक्तजनको बाक्लो उपस्थिति हुने गरेको छ । विशेषगरी दसैँको समयमा भक्तजनको भीड लाग्ने गर्छ । माघदेखि बैशाखसम्मको समयलाई पाथीभरा आउने मुख्य यामका रुपमा लिइन्छ ।