NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

गोदावारीको क्रसर उद्योग बन्द गराउन दुई सयभन्दा बढी स्थानीयको उजुरी

काठमाडौं । ललितपुरस्थित गोदावारीमा सञ्चालित खानी तथा क्रसर उद्योग बन्द गराउने माग गर्दै त्यहाँका दुई सय भन्दा बढी स्थानीयले उजुरी दिएका छन् ।

गोदावारी नगरपालिका ५ मा सञ्चालनमा रहेको उक्त उद्योग ढुंगा, गिटी, बालुवा उत्खनन विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ विपरित भएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको हो ।

उक्त उद्योग तत्काल बन्द गराई दुई सय ६५ जना स्थानीयले वातावरणीय न्याय माग गरेका छन् ।

यसबारे छानविन गरेर आवश्यक कारवाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह मन्त्रालयलाईसमेत पत्राचार गरेको छ ।

हाल सञ्चालन भइरहेको खानी तथा क्रसर उद्योगका कारण लेले महादेव खोला प्रदूषित भएको उजुरीमा जनाइएको छ । स्थानीयका अनुसार उद्योग सञ्चालनमा आउनुभन्दा पहिला उनीहरूले त्यही खोलाको पानी खानेपानी, कृषि, घरपालुवा पशुको प्रयोजनमा प्रयोग गर्दै आएका थिए ।

तर अहिले खोलामा पहेलो रङको पानीसहितको लेदोमात्रै बग्ने गरेको स्थानीयको गुनासो छ ।

जसले गर्दा स्थनीयले पिउने पानीको मुहान त फोहोर भएकै छ, कृषि उपादनमासमेत क्षति पुगेको छ भने पानीको मूल स्रोत सुकेको जनाइएको छ ।

यी समस्याबारे छानविन गरी मापदण्ड विपरित सञ्चालन भइरहेका सबै खानी तथा क्रसर उद्योगहरू अनुगमन गरी बन्द गर्न माग गरिएको छ ।