NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सांसद भण्डारीलाई भारत लैजाँदा मात्रै ५५ लाख रूपैयाँ खर्च

काठमाडौं । आगोले जलेर गम्भीर घाइते भएका गुल्मीका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लैजाँदा मात्रै ५५ लाख ८८ हजार रूपैयाँ खर्च भएको छ ।

फागुन ३ गते भण्डारी आफ्नै घरमा ग्यासमा अकस्मात आगलागी हुँदा जलेर घाइते भएका थिए ।

उनलाई थप उपचारका लागि फागुन ४ गते एयरएम्बुलेन्समार्फत भारत लगीएको थियो । एयर एम्बुलेन्समार्फत भारत लैजाँदा ५५ लाख ८८ हजार १ सय ६४ रूपैयाँ खर्च भएको भण्डारीको सचिवालयले जनाएको छ । उक्त रकम सरकारले व्यहोर्ने भएको छ ।

मन्त्रिपरिषद्को फागुन ११ गतेको निर्णयबाट सरकारले भण्डारीलाई एयर एम्बुलेन्सबाट भारत लैजाँदा खर्च भएको ५५ लाख ८८ हजार १ सय ६४ रुपैयाँ राज्यकोषबाट व्यहोर्ने निर्णय गरेको छ ।

श्री एयरलाइन्स प्रा.लि. को विमानबाट भण्डारीलाई दिल्ली लैजाँदा उक्त कम्पनीले भण्डारी परिवारलाई ५३ लाख ११ हजार ६ सयको बिल थमाएको थियो । यस्तै एयर एम्बुलेन्समा लैजाँदा डाक्टर, प्यारामेडिक्स, औषधी र अन्य स्वास्थ्य सामाग्रीमा २ लाख ७६ हजार ५ सय रूपैयाँ खर्च भएको थियो ।

विमान भाडा र उडानका क्रममा लागेको औषधी उपचारलगायतका सबै खर्च सरकारले व्यहार्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले सांसद भण्डारीको उपचार नेपालमा सहज नहुने देखिएकोले देश बाहिर सुविधासम्पन्न स्वास्थ्य संस्थामा उपचारका लागि एयर एम्बुलेन्स प्रयोग गर्दाको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने निर्णय गरेको हो ।

भण्डारीको सचिवालयले एयर एम्बुलेन्सको भाडा र उडानको क्रममा भएको औषधी उपचारको खर्चसहितको बिल पेश गर्दै उक्त रकम सम्बन्धित कम्पनीमै भुक्तानी गर्नसमेत आग्रह गरेको छ ।

सांसद भण्डारीका स्वकीय सचिव बोधराज कँडेलले सरकारको निर्णयअनुसार रकम भुक्तानी गर्न बिल पेश गरिएको र बिलअनुसारको रकम सम्वन्धित कम्पनीलाई दिन अनुरोध गरेको बताए ।

नेता चन्द्र भण्डारी ग्यास सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते

कस्तो छ कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्य अवस्था ?