NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

राष्ट्रपति निर्वाचन : पौडेललाई ९ दलको साथ, कुन दलको कति छ मतभार ?

काठमाडौं । गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको लागि बिहीबार निर्वाचन हुँदैछ । राष्ट्रपतिको चुनावी मैदानमा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल छन् । विपक्षी एमालेबाट उपाध्यक्षसमेत रहेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । यी दुवै सभामुख भइसकेका व्यक्ति हुन् ।

पौडेल प्रजातान्त्रिक आन्दोलनबाट खारिएका एक अनुभवी नेता हुन् । कांग्रेसका उपसभापतिसमेत भइसकेका उनी २०५१ सालमा प्रतिनिधिसभाका सभामुख निर्वाचित भएका थिए । पटक–पटक मन्त्री र उपप्रधानमन्त्रीको अनुभव लिएका उनी अन्य नेताको तुलनामा स्वच्छ र इमान्दार नेताका रूपमा परिचित छन् । पौडेलले २०७४ को बाहेक २०४८ देखि सबै निर्वाचन जितेका छन् ।

नेम्वाङ वामपन्थी आन्दोलनबाट खारिएका नेता हुन् । उनी २०६२÷०६३ को आन्दोलनपछि २०७२ सम्म सभामुख र संविधानसभा अध्यक्ष भएका थिए । एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङ अधिवक्ता हुन् ।

निर्वाचन आयोगले २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि सबै तयारी पुरा भएको जनाएको छ । आयोगले प्रकासित गरेको निर्वाचन तालिकाअनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

मतदानका लागि संघीय संसदका ३३४ मध्ये प्रतिनिधिसभातर्फ २७३ र राष्ट्रिय सभातर्फ ५९ गरी ३३२ सांसद सहभागी हुनेछन् । भ्रष्टाचार आरोपमा विशेष अदालतबाट दोषी ठहर भएका कांग्रेसका सांसद टेकबहादुर गुरुङ नागरिकता प्रकरणमा सर्वोच्चले दोषी ठहर गरी पदमुक्त भएका रास्वपाका सांसद रवि लामिछानेले मतदान गर्न पाउने छैनन् । गुरुङ मनाङ र लामिछाने चितवन–२ बाट निर्वाचित सांसद हुन् । यसैगरी प्रदेश सभामा ५५० सांसद मतदाता रहेका छन् । संघ र प्रदेश गरी जम्मा ८८२ सांसद मतदाता रहेका छन् ।

नेपालको संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन संघीय संसद र प्रदेशसभा सदस्य मतदाता रहेको निर्वाचन मण्डलबाट हुनेछ । संघीय संसद(प्रतिनिधिसभा र राष्ट्रिय सभा)का एक जना सांसदको मत बराबर ७९ बराबर मतभार हुन्छ । प्रदेश सभाका एक जना सांसदको मत बराबर ४८ मतभार हुन्छ । यस हिसाबले संघमा २६ हजार २२८ र प्रदेशमा २६ हजार ४०० गरी जम्मा ५२ हजार ६२८ मतभार रहेको छ ।

जम्मा खसेको मतको बहुमत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने छ । यदि निर्वाचनको दिन सबै मतदाताले मतदान गरेको र कुनै मतपनि बदर नभएको खण्डमा बहुमतका लागि २६ हजार ३१५ मत ल्याउनु पर्नेछ । कुनै पनि उम्मेदवारले बहुमत प्राप्त नगरे सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुने छ र बहुमत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुनेछ ।

कुन दलको स्थिति कस्तो छ ?

अहिलेसम्मको स्थितिमा सत्ता गठबन्धन भारी मतले अगाडि देखिएको छ । १२ फागुनमा एमाले र माओवादी समीकरण बदलिएपछि पौडेलको पक्षमा भारी मतभार देखिएको हो । नयाँ समीकरणमा कांग्रेस, माओवादी, जसपा, नेकपा एस, जपा, लोसपा, नाउपा र राजमो गरी ८ दल सहभागी छन् । सरकारलाई दिएको समर्थन कायमै राखेको रास्वपाले कसको मतदान गर्ने वा नगर्ने बारे २५ गते निर्णय लिने भएको छ ।

मंसिर ४ मा भएका प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनम सबैभन्दा ठूलो दल नेपाली कांग्रेस रहेको छ । उसको प्रतिनिधिसभामा ८८, राष्ट्रिय सभामा १० र प्रदेश सभामा १७५ सांसद रहेका छन् । यी सबैको मतभार जोड्दा कांग्रेसको १६ हजार १४२ हुन्छ ।

त्यस्तै सत्ताको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रसँग संघमा ३२, राष्ट्रिय सभामा १५ र प्रदेशमा ८४ सिट रहेको छ । माओवादीको जम्मा मतभार ७ हजार ७४५ रहेको छ ।

जसपाको प्रतिनिधिसभामा १२, राष्ट्रिय सभामा ३ र प्रदेशसभामा २० सिट रहेको छ । उसको कुल मतभार २ हजार १४५ रहेको छ ।
यसैगरी नेकपा एसको प्रतिनिधिसभामा १०, राष्ट्रिय सभामा ९ र प्रदेशमा २४ सांसद छन् । एकीकृत समाजवादीको जम्मा २ हजार ५७४ मतभार रहेको छ ।

सत्ता साझेदार दल जनमत पार्टीको प्रतिनिधिसभामा ६ र प्रदेश सभामा १६ सिट छ । जपाको कुल मत एक हजार २४२ रहेको छ ।
त्यस्तै लोसपाको प्रतिनिधिसभामा ४, राष्ट्रिय सभामा १ र प्रदेशसभामा १२ गरी जम्मा ९७१ मतभार छ । नाउपाको प्रतिनिधिसभामा ४ र प्रदेश सभामा १२ गरी जम्मा ८९२ मतभार छ ।

यसैगरी राजमो र स्वतन्त्रको एक÷एक गरी जम्मा १५८ मतभार पौडेलको पक्षमा रहेको छ । राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनित गरेका तीन जनामध्ये माओवादीका नारायण दाहल गठबन्धनका पक्षमा रहेका छन् । विमला राई पौडेल एमालेका हुन् । वामदेव गौतमको मत खुलेको छैन । त्यस्तै १९ सिटसहित १ हजार ५०१ मतभार रहेको रास्वपा अहिलेसम्म अनिर्णित अवस्थामा छ ।

यसैगरी प्रतिपक्षी दल एमालेको प्रतिनिधिसभामा ७९, राष्ट्रियसभामा १७ र प्रदेश सभामा १६१ सांसद छन् । एमालेको जम्मा मतभार १५ हजार २१२ रहेको छ । एमालेबाट उम्मेदवार रहेका नेम्वाङलाई अहिलेसम्म कुनै दलले पनि समर्थन गरेको छैन । सत्ता समीकरणमा साथ दिएको राप्रपाले पनि मतदान गर्नेबारे कुनै निर्णय गरेको छैन । राप्रपाको प्रतिनिधिसभामा १४ र प्रदेश सभामा २८ गरी २ हजार ४५० मतभार रहेको छ । यीबाहेक नेमकिपाको प्रतिनिधिसभामा १ र प्रदेश सभामा ३ सिट छ । नेपाल संघीय समाजवादीको एक सिट र हाम्रो नेपाली पार्टीको २ सिट रहेको छ ।