NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

ओलीले अब चलाउन सक्ने अस्त्र

काठमाडौं । राष्ट्रपति निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको रणनीति असफल भएपछि उनको भावी कदमलाई लिएर निकै चासो व्यक्त भएको छ । बिहीबार भएको राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धबाट उम्मेदवार रहेका कांग्रेसका नेता रामचन्द्र पौडेल भारी मतले विजयी भए । एमालेका उपाध्यक्षसमेत रहेका सुवासचन्द्र नेम्वाङ आफ्नै पार्टीको मतमा सिमित भए । पौडेलले ३३ हजार ८०२ मत प्राप्त गर्दा नेम्वाङले १५ हजार ५१८ मत पाए ।

पुस १० गते ओली निवास बालकोटमा एमाले र माओवादीबीच सहमति हुँदा राष्ट्रपति र सभामुख आफूले लिने गरी ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाएका थिए । बालकोट सहमतिलाई एमाले, माओवादीसहित रास्वपा, राप्रपा, जसपा, जपा र नाउपाको साथ थियो । तर तीन महिना नपुग्दै बालकोट सहमति भत्किएपछि एमालेलाई ठूलो धक्का लागेको हो । आफैले बनाएको प्रचण्ड सरकारबाट एमाले बाहिरिसकेको छ । उपराष्ट्रपतिको निर्वाचनपछि प्रदेशमासमेत सत्ताबाट हात धुनुपर्ने अवस्थामा एमाले छ ।

कांग्रेससँग सहकार्यको प्रस्ताव

निकै छोटो समयमा आफ्नो रणनीति फेल खाएपछि राजनीति वृत्तमा ओलीको आगामी कदमलाई निकै चासोसाथ हेरिएको छ । प्रचण्डबाट धोका पाएको आत्मातुष्टिको बदला लिन ओलीले कांग्रेससँग सत्ता सहकार्य गर्न सक्ने धेरैको अनुमान छ । त्यसको संकेत बिहीबार ओली आफैंले दिइसकेका छन् । राष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै ओलीले आफूले कांग्रेससँग सहकार्य नगर्ने भनेर कसम नखाएको जिकिर गरे ।

माओवादी केन्द्रले नाटकीय ढंगले सहयात्री परिवर्तन गरेपछि एमाले प्रतिपक्षमा बस्नुपर्ने अनिच्छित अवस्थामा पुगेको छ । यो परिस्थितिमा ओली चुप लागेर बस्ने छैनन् बरु उनले केही अस्त्र प्रयोग गर्नेछन् । जसले वर्तमान समीकरणको रूपरेखामा परिवर्तन ल्याउन सक्छ 

‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्छन् नि, त्यही हो । एक ठाउँमा नआउने भनेर कसम खाएको छैन’ उनले भने ।
दुई वर्षअघि आफैलाई प्रतिगामी करार गरी सडक संघर्ष गरेका प्रचण्डलाई प्रधानमन्त्री बनाएर राजनीतिक वृत्तमा तरंग ल्याइदिएका ओलीले आगामी दिनमा कांग्रेससँग सहकार्य असम्भव नभएको प्रष्ट संकेत थियो । यद्यपि ओलीको अभिव्यक्तिलाई लिएर कांग्रेसका महामन्त्री गगन थापाले २०८४ अघि एमालेसँग सहकार्य सम्भव नभएको बताइसकेका छन् ।

‘एउटै विषयमा कतिपटक धोका दिने ? पुस १० गते उहाँले के गर्नुभयो भन्ने त सबैलाई थाहा भइसक्यो,’ उनले भन,े ‘२०८४ को चुनावअघि एमालेसँग सहकार्य सम्भव छैन’, ओलीलाई थापाको जवाफ थियो ।

सरकारका सबैभन्दा ठूलो घटक एमाले र राप्रपाले समर्थन फिर्ता लिइसकेपछि अल्पमतमा रहेका प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा उनी छन् । राष्ट्रपतिमा कांग्रेसको उम्मेदवार विजयी भइसकेकाले आगामी दिनमा कांग्रेसको भूमिका के हुन्छ भन्ने अनुमान गर्ने अवस्था छैन ।

यद्यपि फागुन १२ गते बालुवाटारमा बसेको ८ दलको बैठकले साढे दुई वर्षसम्म प्रचण्ड सरकारलाई नै निरन्तरता दिने सहमति भएको नेताहरूको दाबी छ । राष्ट्रपतिमा प्रचण्डले कांग्रेसलाई गुन लगाएकाले तत्काल सकार ढल्ने अवस्था नभएको कांग्रेसका नेताहरूको भनाइ छ ।

महामन्त्री थापाले केही दिनअघि प्रचण्डको भूमिकालाई प्रशंसा गर्दै वर्तमान सरकारलाई नै निरन्तरता दिने संकेत गरेका छन् । ‘हामीले सहीलाई सही भन्न सक्नुपर्छ । प्रचण्डले चाहेको भए एमालेसँग मिलेर सरकारलाई निरन्तरता दिन सक्थे । एमालेसँग मिल्दा पनि माओवादीले राष्ट्रपति पाउने होइन । कांग्रेससँग मिल्दा पनि राष्ट्रपति पाउने होइन । तरपनि उहाँले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्नुभयो’, राजधानीको एक कार्यक्रममा उनले भनेका थिए ।

नेपाली सत्ता राजनीतिमा देखिने दृश्यभन्दा नदेखिने दृश्य शक्तिशाली भएको विगत साक्षी छ । देउवासँग १७ महिना लामो सहकार्य भंग गरी ओलीसँग कुम जोड्न पुगेका प्रचण्ड तीन महिना नपुग्दै पुनः देउवासँग सहकार्य गर्न आइपुगे । प्रतिनिधिसभाको निर्वाचपछि सबैभन्दा ठूलो दल रहेको कांग्रेसले प्रचण्डकै कारण सत्ता गुमाएको थियो । वर्तमान सरकार ढलेपछि संविधानको धारा ७६ को उपधारा ३ बमोजिमा संसदमा ठूलो दलको हैसियतले देउवा नै प्रधानमन्त्री हुनेछ ।

ओलीले यसैलाई हतियार बनाएर आफ्नो सरकार असफल बनाउन एमाले–कांग्रेस मिल्न सक्ने डर प्रधानमन्त्री प्रचण्डलाई रहेको छ । उपराष्ट्रपतिको निर्वाचनपछि प्रचण्डलाई विश्वासको मत लिनुअघि नै देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गर्न ओली निकटले दबाब दिएका छन् । तर ओलीले आफूलाई प्रधानमन्त्री बनाउन लिखित समर्थन ल्याउने वचन दिएर प्रचण्डलाई प्रधानमन्त्री बनाएकोमा बिच्किएको कांग्रेसले तत्काल सहकार्य गर्ने अवस्था देखिँदैन ।

एकीकृत समाजवादीसँग एकताको प्रस्ताव

कांग्रेससँग सहकार्यको प्रस्ताव असफल भएमा ओलीले एक वर्षअघि आफैसँग विद्रोह गरेका पार्टीसँग पार्टी एकताको प्रस्ताव राख्न सक्छन् । माधव नेपालको नाम लिएमात्रै मुख कुल्ला गर्नुपर्ने अभिव्यक्ति दिएका ओलीले राष्ट्रपति गुमानउने अवस्था आएपछि उनै माधवलाई उम्मेदवार बनाउने प्रस्ताव गरे ।

उम्मेदवारको मानोनयन दर्ताअघि महाराजगंजको एक घरमा चार घण्टा भेट गरी ओलीले विगतको त्रुटिलाई सच्याएर पार्टी एकता गर्ने प्रस्ताव गरेका थिए । ओलीले पार्टी एकता गर्न प्रस्ताव गर्नुको पछाडि संविधानको उपधारा ३ बमोजिम कांग्रेसलाई सरकार बनाउनबाट रोक्न ल्याइएको कुटील चाल भएको नेकपा एसका नेताहरूको बुझाइ छ ।

अहिले एमालेसँग ७९ सिट रहेको छ भने नेकपा एससँग १० सिट छ । ८९ सिट रहेको कांग्रेससँग मनाङबाट निर्वाचित टेकबहादुर गुरुङ भ्रष्टाचार आरोपमा पदमुक्त भइसकेका छन् । तनहुँ–१ बाट निर्वाचित पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि स्वतः पदमुक्त भएका छन् । अहिले कांग्रेससँग ८७ सिट रहेको छ ।

यदि ओलीको प्रस्तावअनुसार एमाले र नेकपा एसबीच पार्टी एकता भएमा सबैभन्दा ठूलो दल एमाले हुनेछ । संविधानअनुसार ठूलो दलको हैसियतमा आफूले प्रधानमन्त्री दाबी गर्ने ओलीको दाउ रहेको देखिन्छ । तर पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता झलनाथ खनालले एमालेसँग तत्काल पार्टी एकताको सम्भावान नरहेको बताएका छन् ।

साना दलसँग सहकार्य

दोस्रो रणनीति पनि असफल भए बालकोट सहमतिमा साक्षी रहेका रास्वपा, राप्रपा, जसपा, लोसपा, जपा लगायत दलहरूलाई विश्वासमा लिने ओलीको प्रयास हुने देखिन्छ । पछिल्लो नयाँ भनिएका दलहरूसमेत जता सत्ता उतै देखिएकाले त्यो पनि असम्भव देखिँदैन । संसदमा अहिले रास्वापको १९, राप्रपाको १४, जसपाको १२, जपाको ६, लोसपाको ४ र नाउपाको ४ सांसद गरी ५९ रहेका छन् ।

एमालेसहित साना दल मिल्दा संसदमा बहुमत पुग्ने देखिन्छ । वर्तमान सरकार ढलेको अवस्थामा देउवा प्रधानमन्त्री भएपनि तीस दिनभित्र बहुमत सिद्ध गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यस्तो अवस्थामा साना दललाई साथ लिएर देउवालाई असफल बनाउने रणनीति ओलीले बनाउन सक्छन् । प्रधानमन्त्रीको निर्वाचनलाई संविधानको उपधार ५ तर्फ धकेल्न प्रयास गर्नेछन् । त्यसपछि सके आफै प्रधानमन्त्री हुने नसके मध्यावधिमा लैजाने उनको प्रयास हुनसक्ने वामपन्थी नेता राधाकृष्ण मैनालीको जिकिर छ ।

माओवादीसँग पुनः सहकार्य

प्रचण्डसँग तत्काल सहकार्य भत्किएपनि राष्ट्रपतिको निर्वाचनपछि एमाले र माओवादीबीच फेरी सहकार्य हुन सक्ने दुवै दलका नेताहरूका विश्वास छ । राष्ट्रपतिमा पराजित भएपछि एमालेका शीर्ष नेताहरू आक्रोसित हुने स्वभाविक भएको माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेलको भनाइ छ । राष्ट्रपति निर्वाचनले दुवै दलका नेताहरूले सम्बन्धमा पुनर्विचार गर्ने अवस्थामा आइपुग्न सक्छन् । राजनीतिमा असम्भव केही नभएकाले केही समयपछि वामपन्थहरू एक ठाउँमा आइपुग्ने उनको दाबी छ ।