NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

एमालेले शान्ति प्रक्रियाको हलो अड्काउने काम गर्यो : महासचिव गुरुङ

काठमाडौं । माओवादी केन्द्रका महासचिव देव गुरुङले एमालेको कारण शान्ति प्रक्रिया रोकिएको आरोप लगाएका छन् ।

आइतबार माओवादी घटक दलहरुले गरेको संयुक्त कार्यक्रममा महासचिव गुरुङले अघिल्लो प्रतिनिधिसभामा दर्ता भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक एमालेको असहयोगका कारण रोकिएको आरोप लगाएका हुन् ।

एकातर्फ सदनमा विधेयक अड्काउने र अर्कोतर्फ द्वन्द्वकालीन मुद्दालाई फौजदारी मुद्दा सरह नियमित अदालतमा लैजाने प्रवृत्ति देखिएकोमा उनले चिन्ता व्यक्त गरे ।
सर्वोच्च अदालतको आदेश अनुसार सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिन आयोगसम्बन्धी ऐन संसदमा दर्ता गरेको तर एमालेको असहयोगले रोकिएको उनको आरोप छ ।

‘बिडम्बनाको विषय भनौं नेकपा एमालेको नेतृत्वले शान्ति प्रक्रिया टुंग्याउन लगातार नकारात्मक खालको धारणा राख्दै आयो । विधेयक अन्तिम समयमा पुग्दा पनि उहाँहरुको फरक धारणाका कारण डेडलक भयो’, उनले भने ।

कार्यक्रमा उनले संक्रमणकालीन न्यायका विषयलाई फौजदारी मुद्दासरह व्यवहार गर्नु बृहत शान्ति सम्झौता र संवैधानिक मान्यता विपरीत हुने जिकिर गरे ।