NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

पञ्चायतका ‘बेइमान माननीय’, जसको हिसाब अझै सरकारी खातामा छ

काठमाडौं । कसैलाई मन परे पनि, नपरे पनि पञ्चायती व्यवस्था एउटा इतिहास हो । राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्त गरेर सुरु गरेको यो व्यवस्था अन्त्य भएको नै तीन दशक बढी समय भइसक्यो । राज संस्थालाई बिदा गरेर ल्याइएको गणतन्त्र नै अहिले १७ वर्षमा लुखुरलुखुर हिँड्दै छ ।

तर सुदूर इतिहास बन्ने दिशातर्फ उन्मुख त्यही पञ्चायती व्यवस्थामा राष्ट्रिय पञ्चायत सदस्य रहेका केही व्यक्तिले अझैसम्म सरकारलाई तिर्नुपर्ने बक्यौता रकम नबुझाएको पाइएको छ । राष्ट्रिय पञ्चायत अहिलेको संसदजस्तै काम गर्ने पञ्चायतको विधायिका हो ।

सरकारले लिनुपर्ने रकमको हरहिसाब राखेर असुलउपर गर्ने कार्यादेश पाएको महालेखा नियन्त्रक कार्यालय, कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयले पञ्चायतकालमा अस्तित्वमा रहेको राष्ट्रिय पञ्चायतका चार जना भूतपूर्व सदस्यले अहिलेसम्म सरकारी बक्यौता नबुझाएको जनाएको छ ।

सरकारी दायित्व पूरा नगर्ने तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्यहरूमा यादव सिंह रायमाझी, प्रकाशबहादुर सिंह, जय प्रकाश र विश्वनाथ प्रसाद जयसवाल छन् । उनीहरूले तिर्नुपर्ने रकम कुन प्रयोजनको थियो भन्ने कार्यालयले खुलाएको छैन । वर्षौंअघि राजकीय पदमा रहेका उनीहरूको अवस्थाबारे पनि प्रष्टता छैन ।

बक्यौता रकम बुझाउन उनीहरूको घर ठेगानामा पटक–पटक पत्राचार गरिए पनि भुक्तानी नभएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार, ०७९ फागुन महिनाको ब्याजसहित रायमाझीले ७ हजार ४९६, सिंहले ६० हजार ४६५, प्रकाशले २० हजार ५७४ र जयसवालले ३१ हजार २०४ रूपैयाँ तिर्न बाँकी छ ।

कार्यालयले पञ्चायतका यी माननीयलाई ३५ दिनभित्र आफुनो नाममा रहेको रकम बुझाउन निर्देशन दिएको छ । निर्धारित मितिमा पनि उक्त रकम भुक्तानी नगरेमा कानूनबमोजिम असुलउपर प्रक्रिया थाल्ने कार्यालयले जनाएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ११४ को उपनियम ३ देखि १२ सम्म कुनै व्यक्ति तथा संस्थाले सरकारी बक्यौता चुक्ता नगरेमा विभिन्न प्रक्रिया पूरा गरेर असुलउपर गर्न सकिने व्यवस्था छ । कार्यालयले यही व्यवस्थामा टेकेर उठ्न बाँकी सरकारी रकम असुल्दै आइरहेको छ ।