NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

आत्मदाह प्रकरण : आचार्यलाई डिप्रेसन रहेपनि व्यक्तिवका कारण स्पष्ट नदेखिएको निष्कर्ष

काठमाडौं । संसद भवनअघि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यलाई डिप्रेसनको लक्षण रहेपनि उनको व्यक्तित्वका कारण स्पष्ट नदेखिएको निष्कर्ष निकालिएको छ ।

सरकारले यसबारे छानविन गर्न बनाएको समितिले यस्तो निष्कर्ष निकालेको हो । उक्त टोलीमा मनोचिकित्सकलाई पनि समावेश गराईएको प्रतिवेदनमा जनाइएको छ ।

आत्महत्याको मनोचिकित्सकीय विश्लेषणबाट आचार्यमा आत्मदाह गर्नु भन्दा करिब १० महिना अघिदेखि पटक पटक तनावका लक्षणहरू, हाउभाउ तथा आनिबानीमा देखा परेको जनाइएको छ । यी लक्षणहरू क्रमशः वृद्धि हुँदै जाँदा कार्तिक २१ गते उनले पाटन मानसिक अस्पतालमा छोटो समयका लागि मनोचिकित्सकीय मनोपरामर्श तथा मनोउपचारको सेवा लिएका थिए ।

त्यहाँ उनलाई १५ दिनको लागि औषधी दिइएको थियो । औषधी सेवन गरेपछि उनमा देखिएका लक्षणहरू क्रमशः सुधार हुँदै गएको थियो ।

यसअघि असोज महिनामा उनले घरमा स्पष्ट जानकारी नदिइ ब्रम्हपुत्र नदीतटमा गई आत्महत्याको प्रयास गरेका थिए । त्यही समयमा श्रीमती नानुकालाई उनले चार पेजको सुसाइड नोट मेसेन्जरमा पठाएका थिए । ब्रह्मपुत्र नदीमा गई अत्महत्याको कोशिस गरेका उनी पछि फर्किएर श्रीमतिसँग माफी मागेका थिए ।

त्यसपछि नै अब यस्तो नगर्ने वाचासहित उनले मनोचिकित्यसकको सल्लाह लिएका हुन् । लक्षणमा सुधार आएर फेरि साउदी अरेबिया र कतार जाने प्रयास गरेका थिए । यसमा पनि विफल भएपछि मंसिर महिनाको अन्तिमतिर उनी फेरि निकै निराश हुन थालेका थिए ।

आचार्य पछिल्लो समय भने लेनदेनका विषयहरूका तनाव झेल्न नसकेपछि आफ्नो परिवारबाट अलग बस्न थालेका थिए ।

उनले आफ्नो भोगाईहरूसँग सम्बन्धित भावनाहरूलाई नियन्त्रण गर्न नसकेको र आक्रोश व्यक्त गर्न नसक्दा आफैं परिलक्षित भएको यस प्रकरणबारे अध्ययनमा जुटेका मनोचिकित्सकको दाबी छ ।

उनी व्यक्तिगत रूपमा आफ्ना कमीकमजोरी वा आलोचनामा असहसज महसुस गर्ने र अरूको सल्लाह सुझाव लिने भन्दा अरूलाई आफ्नो विचारमा विश्वास्त पार्न पोख्त, स्पष्टवक्ता, बहिरमुखी स्वभाव थिए । साथै उनमा परिवारप्रतिको जिम्मेवारीबोध पनि थियो ।

जीवनमा भएको पटक–पटकको असफलता, हार तथा दुर्भाग्यको भोगाईले गर्दा उनी जीवन तथा भविष्यमा नकारात्मक तथा निराशजनक धारण लिन थालेका थिए । यीनै समस्याबाट सधैंको मुक्तिका लागि आत्मवृतान्तसहितको आत्मदाहको बाटो रोजेको निष्कर्ष निकालिएको छ ।

३७ वर्षिया आचार्यले गत १० माघमा दिउँसो ३ बजे आत्मदाहको प्रयास गरेका थिए । घटनापश्चात कीर्तिपुर अस्पताल लगिएको उनको उपचारको क्रममा मृत्यु भएको हो ।

छानबिन समितिले भेटेन प्रेम आचार्यलाई आत्मदाह गर्न बाध्य पार्ने व्यक्तिहरू