NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

ललितपुरमा शृङ्खलाबद्ध रुपमा मूर्ति चोर्ने को ?

ललितपुर । एकपछि अर्को हुँदै ललितपुरमा शृङ्खलाबद्ध रुपमा मूर्ति चोरी हुने क्रम बढेको छ । यही फागुन १७ मा चापागाउँस्थित पुरानो बसपार्कसँगै मोति पुस्तकालय आडमा रहेको चैत्यबाट बुद्धको मूर्ति चोरी भयो । त्यसको ठीक ११ दिनपछि आइतबार राति सोही चैत्यबाट फेरि दुईवटा मूर्ति चोरी भए ।

मोति पुस्तकालय आडमा रहेको बुद्धको चैत्य चापागाउँ प्रहरी चौकीबाट तीन सय मिटरको दूरीमा पर्छ । रातिको समयमा बसपार्कमा प्रहरीले गस्ती गरिरहेको हुन्छ । मोति पुस्तकालय बसपार्कबाट १० मिटरको दूरीमा छ । चैत्यमा राखिएका चार मूर्तिमध्ये तीन वटा चोरी भइसकेको छ । चोरिएका यी मूर्तिहरु इस्वी संवत् ८२७ मा स्थापना गरिएको शिलालेखमा उल्लेख छ ।

गत मङ्सिर १४ मा बुधबार गोदावरी नगरपालिका–५ मा रहेको मन्दिरमा भएका ३३ कोटी देवताका आकृतिमध्ये २५ वटा चोरी भयो मध्यराति १:२२ बजे दुईजना चोर मन्दिरको ताला फोडेर भित्र पसेको सिसिटिभी फुटेजमा पनि देखिए । तर पनि प्रहरीले उनीहरुलाई तत्कालै पक्राउ गर्न सकेन ।

विसं २०७८ माघ महिनामा ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरको मूर्ति चोरी भयो तर यो मूर्ति चोरी भएको केही दिनपछि हात्तीवनमा भेटियो । यसको केही साताअगाडि काठमाडौँको इचङ्गु र ललितपुरको हरिसिद्धिबाट पनि मूर्ति चोरी भएको थिएका थिए । यी मूर्ति चोरहरु अझैसम्म पनि फेला पर्न सकेका छैनन् ।

ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचोस्थित क्वेलाक्षी मन्दिरबाट २०७४ साल पुस १९ गते जात्रा सकेर राखिएको प्राचीन मूर्ति चौथो पटक चोरी भयो । सोही स्थानबाट यसअघि पनि तीन पटक मूर्ति चोरी भइसकेको थियो । स्थानीय गुठीका नाइके तुलसी महर्जनका अनुसार २०७४ अघि २०४१ सालमा मूर्ति चोरी भएको थियो ।

‘त्यस आगाडि चोरी हुँदा म सानै थिए मिति खासै याद भएन,’ गुठी नाइके महर्जनले भने, ‘२०४१ सालपहिले पनि दुईपटक चोरी भएको थियो ।’ मूर्ति चोरी भएपछि दुई गाउँ र समुदायबीच झगडा हुने गरेको मन्दिरका पुजारीले बताए । ब्रह्मायणी देवीलाई नेवार समुदायमा ठूलो आस्थाका रुपमा मान्दै आएको पाइन्छ ।

कलासंस्कृति र सम्पदाले भरिपूर्ण ललितपुरमा विभिन्न मन्दिरबाट मूर्ति चोरी हुने क्रम बढ्दो छ । मन्दिरैमन्दिरले भरिपूर्ण काठमाडौँ उपत्यकामा हिन्दू, बौद्ध धर्मावलम्बीहरुको आस्था र विश्वास रहेको मन्दिर र चैत्यबाट मूर्तिहरु चोरी हुँदा वार्षिक करोडाँ रकम नोक्सनी हुने गरेको छ ।  यसबाट आर्थिक मात्रै नभई धार्मिक तथा सांस्कृतिक पक्षमा समेत सङ्कट सृजना हुँदै गइरहेको छ ।

महानगरीय प्रहरी वृत चापागाउँका प्रहरी नायब उपरीक्षक कृष्ण चन्दले बढ्दो जनघनत्वको साथै कान्ति लोकपथको माग भएकाले पनि सुरक्षालाई चुनौती दिने गरी चोरीका घटना बढिरहेकोतर्फ आफूहरुको ध्यान केन्द्रित भएको बताए ।

‘चोरीका घटना हुन नदिनका लागि हामी क्रियाशील रहने हो । यसरी क्रियाशील भइरहँदा पनि चोरी हुनु हाम्रो लागि चुनौतीको विषय हो । यसमा हामीले अनुसन्धानमा छौँ’, उपरीक्षक चन्दले भने, ‘शृङ्खलाबद्ध रुपमा भइरहेका यी घटनाहरुलाई हामीले गम्भीर रुपमा लिएका छौँ । हाम्रो सुरक्षा प्रणालीमा भएका कमजोरीलाई ध्यान दिएर त्रुटिरहित बनाउन लागिरहेका छौँ ।’

स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय पाटनकी प्रमुख मञ्जु सिंह भण्डारीले मूर्तिहरुमा बहुमूल्य धातुहरु हुने आर्थिक लोभका कारण बाहिरी समुदायका मानिसहरुबाट चोरी हुनेहुँदा यसका लागि स्थानीयहरु नै बढी सचेत हुनुपर्ने बताए ।

‘यसका लागि स्थानीयहरु नै बढी सचेत हुनुपर्छ । बाहिरी समुदायबाट बसाइँ सरी आउने र आवतजावत गर्नेहरुलाई त्यसको महत्व र माया हुँदैन । अन्य बाहिरी व्यक्तिबाट चोरी हुने हो । यसका लागि स्थानीय र सुरक्षा निकाय अलि बढी नै चनाखो हुनुपर्छ,’ प्रमुख भण्डारीले भने ।

कतिपय मन्दिरमा पुजारीबाहेक अरुलाई भित्र प्रवेश गर्न प्रतिबन्ध गरिएको हुन्छ । ती मूर्तिहरुको फोटो खिच्न पनि नपाइने भएका कारण रेकर्डमा पनि नहुने गरेको छ । यसका लागि त स्थानीयहरु नै सचेत हुनुपर्ने देखिन्छ ।

‘स्थानीयलाई आफ्नो धार्मिक आस्था, जात्रा, पर्वका आधारमा महत्व हुन्छ, अरूलाई त्यसको महत्व हुँ । त्यसैले पनि संरक्षण गर्ने र सम्पदा जोगाउने कुरामा स्थानीयहरुको चासो र सरोकार बढी नै हुनुपर्छ,’ भण्डारीले भने ।