NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

आर्थिक अवस्थाले बालश्रम गर्ने बढी

काठमाडौं । काठमाडौंमा आर्थिक अवस्थाका कारण बालश्रममा लाग्नेको संख्या उल्लेख्य रहेको समाजसेवा तथा मानव अधिकारमा महिला र बालकालिका(सिविस)ले जनाएको छ ।

सिविसले काठमाडौंमा चाइल्ड लेवर एक्सन रिसर्च इनोभेशन इन साउथ एण्ड साउथ वेस्टर्न एसिया (क्ल्यारिसा) कार्यक्रममार्फत अनौपचारिक क्षेत्रका खाजाघर, डान्सबार, दोहोरी साँझ, रेष्टुरेन्ट, स्पा तथा मसाज पार्लर जस्ता वयस्क मनोरञ्जन स्थलमा हुने बालश्रमको बारेमा चार सयजना बालबालिकाहरूको अनुभव संकलन गरेको हो ।

उक्त अनुभवका आधारमा बालबालिकाहरू बालश्रम गर्न बाध्य हुने कारणहरूसहित श्रमस्थलमा उनीहरूमाथि हुने शारीरीक, मानसिक र यौनजन्य शोषणबारे अनुसन्धान गरिएको छ । राजधानी मा आज एक कार्यक्रमका बीच उक्त अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिएको हो । अनुसन्धानले काठमाडौंमा सबैभन्दा बढी बालश्रम होटेल तथा खाजा घरमा हुने देखाएको छ ।

विचौलिया र खरब संगतका कारण बालकालिकाहरू श्रम बजारमा आउन बाध्य भएको अनुसन्धानले औंल्याएको छ । त्यस्तै, पारिवरीक कलह तथा आर्थिक समस्याले बालबालिका यस्तो श्रम गर्न बाध्य हुने गरेका छन् । यसवाहेक बहुविवाह, घरमा वेवास्ता, आमाबाबुको सम्बन्ध बिच्छेदहरू पनि यसका प्रमुख कारण रहेको अनुसन्धानमा जनाइएको छ ।

सबैभन्दा बढी बालश्रम खाजाघरमा

सिविसले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै अनुसन्धानकर्ता सम्झना भुजेलले काठमाडौंका चार सय बालश्रमिकमा गरिएको अध्ययनमा सबैभन्दा बढी बालदुरुपयोग खाँजा घरमा हुने गरेको सुनाइन् । ‘बालबालिका बालश्रममा लाग्नका लागि एउटै मात्र कारण छैन,’ उनले भनिन्, ‘बालश्रमका लागि पारिवारिक, आर्थिक समस्यासँगै अन्य विविध कारण हुन्छन् ।’

अन्तरक्रियाका क्रममा अर्की अनुसन्धानकर्ता रञ्जना शर्माले मनोरञ्जन क्षेत्रमा महिला र पसलहरूमा पुरुषको संख्या बढी हुने गरेको बताइन् ।
हाल नेपालमा ५ हजार ३२७ बालबालिका बाध्यकारी श्रम गरिरहेका छन् भने ५५ हजार ६५५ बालबालिका घरेलु मजदुरको रुपमा रहेको तंथ्याक छ ।