NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

उपराष्ट्रपति निर्वाचन : अष्टलक्ष्मीलाई रामसहायको चुनौती, यस्तो छ मतभार

काठमाडौं । गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिका लागि शुक्रबार निर्वाचन हुँदैछ । चुनावी मैदानमा गठबन्धनबाट साझा उम्मेदवारका रूपमा जसपाका संसदीय दलका नेता रामसहायप्रसाद यादवले उम्मेदवारी दिएका छन् ।

यादवको उम्मेदवारीविरुद्ध जसपाकै राष्ट्रियसभा सदस्य प्रमिलाकुमारी यादवले उम्मेदवारी दर्ता गराएकी छिन् । यद्यपि उनले सोमबार आफ्नो उम्मेदवारी फिर्ता लिँदै रामसहायलाई नै समर्थन गर्ने घोषणा गरेकी छिन् ।

त्यस्तै यादवविरुद्ध सत्ता घटक जनमत पार्टीकी नेता ममता झाले उम्मेदवारी दिएकी छिन् । विपक्षी एमालेबाट उपाध्यक्ष एवं बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छिन् ।

अहिले चुनावी मैदानमा शाक्यसहित तीन जना प्रतिस्पर्धामा छन् । तीमध्ये यादव र शाक्यबीच मुख्य प्रतिस्पर्धी हुन् । सत्ता गठबन्धनमा बहुमत सदस्य रहेकाले उपराष्ट्रपतिमा यादव विजयी हुने सम्भावना बलियो देखिन्छ । बिहीबार भएको राष्ट्रपति निर्वाचनमा गठबन्धनबाट रामचन्द्र पौडेल १८ हजार २८४ मतान्तरले विजयी भएका थिए । पौडेलले ३३ हजार ८०२ मत प्राप्त गर्दा एमालेका उम्मेदवार नेम्वाङले १५ हजार ५१८ मत पाए ।

कसको मतभार कति ?

गठबन्धनका उम्मेदवार यादवलाई अहिलेसम्म कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी र राजमोको मात्र समर्थन रहेको देखिन्छ । प्रतिनिधिसभामा कांग्रेसको ८७ सिट छ । त्यस्तै राष्ट्रिय सभामा १० र प्रदेश सभामा १७५ गरी जम्मा १६ हजार ६३ मत रहेको छ । माओवादी केन्द्रको ७ हजार ७४५, जसपाको २ हजार १४५, एकीकृत समाजवादीको २ हजार ५७४ र राजमोको २०६ गरी सत्ता गठबन्धनसँग जम्मा मतभार २८ हजार ७३३ छ ।

यसैगरी सत्ता साझेदार दलबाट उम्मेदवार रहेकी झालाई जनमत पार्टीले समर्थन गरेको छ । जनमत पार्टीको १ हजार २४२ मतभार रहेको छ । जनमत पार्टीले लोसपा र नाउपाको समेत समर्थन आफूलाई रहेको दाबी गरेको छ । यद्यपि लोसपा र नाउपाले कसलाई मत दिने भन्ने विषयमा अहिलेसम्म मुख खोलेका छैनन् । यदि यी दुई दलको समर्थन जसपालाई भएमा झाको पक्षमा ३ हजार १०५ मतभार पुग्छ । यसअघि राष्ट्रपतिमा गठबन्धनका उम्मेदवारलाई मत दिएको रास्वपा अनिर्णित रहेको छ । प्रतिनिधिसभामा १९ सिट रहेको रास्वपासँग १ हजार ५०१ मत रहेको छ ।

राष्ट्रपति निर्वाचनमा एकजुट भएको ८ दलीय गठबन्धन उपराष्ट्रपति निर्वाचनमा विभाजित भएका छन् । झाले उम्मेदवारी फिर्ता लिन नमानेपछि साझा उम्मेदवार बनाउने गठबन्धनको प्रयाससमेत असफल भएको छ । दोहोरो उम्मेदवारीका कारण गठबन्धनको मतभार प्रभावित हुने देखिन्छ ।

यसैगरी विपक्षी एमालेबाट उम्मेदवार रहेकी शाक्यलाई एमालेको मात्र समर्थन रहेको छ । प्रतिनिधिसभामा ७९, राष्ट्रिय सभामा १७ र प्रदेश सभामा १६१ गरी जम्मा एमालेको १५ हजार ३१२ मतभार रहेको छ । उपराष्ट्रपतिमा शाक्यको उपस्थिति गर्विलो भए पनि राजनीतिक समीकरणका कारण जित निकाल्न निकै कठिन देखिएको छ । शाक्यले जितेमा उपराष्ट्रपति जित्ने पहिलो महिला हुनेछिन् ।
राष्ट्रपतिको निर्वाचनमा भाग नलिएको राप्रपा र नेमकिपाले उपराष्ट्रपतिको निर्वाचनमासमेत सहभागी नहुने भएको छ । राप्रपाको मतभार २ हजार ४५० र नेमकिपाको २२३ मतभार छ । अन्यको मतभार १ हजार २२५ छ ।

को हुन् उपराष्ट्रपतिका तीन उम्मेदवार ?

गठबन्धन दलबाट उपराष्ट्रपतिको उम्मेदवार बनेका रामसहायप्रसाद यादव बारा क्षेत्र नं. २ बाट निर्वाचित सांसद हुन् । यादवले २०५३ सालदेखि सद्भावना पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका थिए । उनी पहिलो संविधानसभा निर्वाचन २०६४ मा मधेसी जनअधिकार फोरम नेपालबाट समानुपातिक सांसद भए । त्यसपछि २०७४ सालमा पनि बारा क्षेत्र न २ बाटै चुनाव जिते । २०२७ सालमा बाराको सिम्रौनगढमा जन्मिएका यादप १३ पुसमा भएको जसपाको संसदीय दलको नेतामा निर्वाचित भएका थिए । उनी अघिल्लो पटक वन तथा वातावरणमन्त्री बनेका थिए । यादवले जितेको खण्डमा मधेशी समुदायबाट उपराष्ट्रपति बन्ने उनी दोस्रो व्यक्ति हुनेछन् । यसअघि गणतन्त्र नेपालको पहिलो उपराष्ट्रपति परमानन्द झा निर्वाचित भएका थिए ।

एमालेबाट उम्मेदवार बनेकी शाक्य राष्ट्रपति बन्ने क्षमता भएकी नेता हुन् । महिला सशक्तिकरणमा हस्तक्षेपकारी भूमिका खेलेकी उनी आफ्नै क्षमताले केन्द्रीय राजनीतिको शिखरमा पुगेकी हुन् । २०१० सालमा काठमाडौमा जन्मिएकी उनी २०३६ सालदेखि वामपन्थी राजनीतिमा पूर्णकालीन रूपमा लागेकी हुन् । २०४५ सालमा अखिल नेपाल महिला संघको शाक्य अध्यक्ष भएकी थिइन् । उनी २०४९ सालमा एमालेको पाँचौँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भइन् ।

२०५९ सालमा देउवा नेतृत्वको सरकारमा उनी महिला, बालबालिका तथा समाजकल्याणमन्त्री भइन् । २०५६ सालमा प्रतिनिधिसभामा निर्वाचित भएकी उनी २०६५ सालमा उद्योग मन्त्री भइन् । एमालेको नवौँ र दशौं महाधिवेशनमा शाक्य केन्द्रीय उपाध्यक्ष भइन् ।
२०७४ सालको प्रदेश सभामा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ (ख) बाट निर्वाचित भएकी थिइन् ।

गठबन्धनबाटै उम्मेदवारी दिएकी जनमत पार्टीकी झा सद्भावना पार्टीबाट राजनीतिमा लागेकी हुन् । २०२५ सालमा उनी सप्तरीमा जन्मिएकी हुन् । जसपा सप्तरीकी जिल्ला इन्चार्ज रहेकी उनी केही समय पहिले पार्टी प्रवेश गरेकी हुन् ।