NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

कुन कुन दलसँग हुँदैछ वामपन्थी एकतासहित समाजवादी मोर्चा ?

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २७ फागुनमा केही दिनभित्रै समाजवादी मोर्चा बन्ने घोषणा गरे । त्यसैको जगमा शक्तिशाली कम्युनिष्ट पार्टी बनाउन पहल गर्ने जिकिर गरे ।

प्रचण्डको उक्त घोषणापछि वामपन्थीहरूबीच शक्तिशाली मोर्चा बन्न लागेको धेरैको अनुमान छ । ‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ । यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरूरी छ’, मधेश प्रदेशको बैठकमा प्रचण्डले भनेका थिए ।

युद्धकालीन विषयलाई लिएर प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएपछि पूर्वमाओवादी घटकहरू एक ठाउँमा आइसकेका छन् । उपाध्यक्ष मोहराको नेतृत्वमा गठित कार्यदलले शक्तिशाली समाजवादी मोर्चा बनाउने सम्बन्धमा वार्ता अन्तिम चरणमा पुगेको कार्यदलका सदस्य गिरिराजमणि पोखरेलले बताए ।

‘एकीकृत समाजवादी, नेपाल समाजवादी, नेकपा (माओवादी समाजवादी) सँग कुरा मिलिसकेको छ । महराले पूर्वमाओवादी घटकसँग कुराकानी गरिसकेका छन् । विप्लवसँग अध्यक्षले नै कुराकानी गरेका छन् । जसपासँग पनि नयाँ ढंगले कुराकानी भइरहेको छ । अध्यक्षले भनेको जस्तै केही दिनमा आकार ग्रहण हुन्छ’, पोखरेलको दाबी छ ।

समाजवादी मोर्चा निर्माणको प्रयास पहिलो पटक भएको होइन । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया भंग गर्ने २३ फागुन २०७७ को सर्वोच्च अदालतको फैसला लगत्तै प्रचण्डले समाजवादी मोर्चा निर्माणको पहल गरेका थिए । उनले पूर्वमाओवादी घटकसँग शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंग्याउने विषयमा छलफल हुने बताए ।

छलफलसँगै कार्यगत एकताले विस्तारै कार्यदिशा, विचारधारा र संगठनात्मक सवाल बहस र छलफल गरेपछि पार्टी एकतासम्म पुग्ने उनको जिकिर छ । अध्यक्ष प्रचण्डले दाबी गरेजस्तै समाजवादी मोर्चा प्रधानमन्त्रीले विश्वासको मत लिएपछि बन्ने पोखरेलको जिकिर छ ।
बृहत् वाम एकता तथा समाजवादी मोर्चाका लागि उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा १३ पुसमा कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदलले नेकपा (एकीकृत समाजवादी), विप्लव नेतृत्वको नेकपा, बाबुराम नेतृत्वको नेपाल समाजवादी र गोपाल किराँती नेतृत्वको नेकपा माओवादी समाजवादीबीच पार्टी एकताका लागि पहल भइरहेको पोखरेलले जानकारी दिए । यसअघि बसेको माओवादी केन्द्रको स्थायी कमिटीको भर्चुअल बैठकमा अध्यक्ष प्रचण्डले पार्टीको नाम र झण्डा परिवर्तन गर्ने सम्बन्धी राखेको राजनीतिक प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो ।

वामपन्थी घटकबीच एकता भएपछि बनेको पार्टीको नाम नेकपा (समाजवादी) रहने गरी छलफल अगाडि बढीरहेको पोखरेलले बताए ।
प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचन भएलगत्तै माओवादी केन्द्र र नेकपा एसबीच पार्टी एकताका लागि कार्यदल गठन गरेका थिए । नेकपा एसबाट महासचिव डा. वेदुराम भुसालको नेतृत्वमा, उपमहासचिव द्वय प्रकाश ज्वाला र डा.गंगालाल तुलाधर रहेको तीन सदस्य कार्यदल गठन भएको थियो ।