NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

‘सहकारीलाई बलियो बनाउन ‘मर्जर’ मा जानुपर्छ’

विराटनगर । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले सहकारीमा देखिएका समस्या समाधानका लागि ‘मर्जर’मा जानुपर्ने बताएका छन् ।

महानगर क्षेत्रभित्र सञ्चालित सहकारीसँग गरिएको अन्तरक्रिया कार्यक्रममा उनले ‘मर्जर’ मा गएर भए पनि सहकारी बलियो हुनुपर्नेमा जोड दिए ।

‘यहाँ सहकारीको उद्देश्य अनुरुप राम्रो गर्ने सहकारी पनि छन्,’ उनले भने, ‘केही सहकारीका कारण सबै सहकारीको बदनाम भइरहेको छ ।’ ‘मर्जर’ मा गएमा सहकारी बलियो हुने भन्दै नगरप्रमुख कोइरालाले सहकारीको मर्म र भावनाअनुसार सञ्चालन नभएकाले समस्या देखिएको स्पष्ट पारे ।

महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले न्यायिक समितिमा पछिल्लो समय धेरैजसो सहकारीसँग सम्बन्धित उजुरी आउने गरेको जानकारी दिए ।

स्थापना भएको तीन महिनासम्म ऋण प्रवाह गर्न नपाइने कानुनी व्यवस्था भए पनि सहकारीले त्यसलाई कार्यान्वयन नगरेको उनको भनाइ थियो । उपप्रमुख कार्कीले सहकारीको पैसा घरजग्गासहित अन्य क्षेत्रमा लगानी गर्दा समस्या निम्तिएको धारणा राखे ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सहकारी सञ्चालकमा पारदर्शीता र इमान्दारिता जरुरी रहेको औँल्याउनुभयो  । अन्तरक्रियामा सहकारीकर्मी उमेश गुरुङ, मुकुन्द थापा, गोविन्द निरौला, जुनु पोखरेल, हरि भट्टराईलगायतले आगामी आर्थिक वर्षको बजेटमा सहकारीलाई प्राथमिकता राख्न सुझाव दिएका थिए ।

उनीहरूले सहकारीले रोजगारी सिर्जना र आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरे पनि राज्यले बेवास्ता गरेको गुनासो राखेका थिए । महानगरले सञ्चालन गर्ने रोजगारमूलक र सीपमूलक तालिम सहकारीमार्फत गर्नुपर्नेमा उनीहरूले जोड दिएका थिए ।