NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

नेपालाई विश्वकपको ढोका कति कठिन ?

काठमाडौं ।आइसिसी पुरुष विश्वकप प्रतियोगिता आगामी अक्टोबरदेखि नोभेम्बरसम्म भारतमा आयोजना हुँदै छ । त्यसमा १० राष्ट्र सहभागी हुनेछन् । सात राष्ट्र छनोट भइसकेका छन् । विश्वकपमा सहभागिताका लागि तीनवटा बाटो छन् । पहिलो, सुपर लिग । सुपर लिगमा शीर्ष वरीयताका १३ टिम छन्, जसबाट उत्कृष्ट सात राष्ट्र सीधै विश्वकप प्रतियोगिताका लागि छानिन्छन् । पछिल्ला तीन वर्षमा खेलिएका खेलको आधारमा सुपर लिगबाट भारत, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अस्ट्रेलिया, बंगलादेश, पाकिस्तान र अफगानिस्तान छनोट भइसकेका छन् । सुपर लिगको आठौँ स्थानमा रहने राष्ट्र पनि सीधै विश्वकपमा पुग्नेछ । आठौँ राष्ट्रको चयन हुन भने बाँकी छ । सुपर लिगका केही खेल बाँकी रहेकाले श्रीलंका, वेस्टइन्डिज, दक्षिण अफ्रिका र आयरल्यान्ड आठौँ स्थानको प्रतिस्पर्धामा छन् ।

बाँकी दुई राष्ट्र क्वालिफायरबाट विश्वकपमा पुग्नेछन् । क्वालिफायरमा दश राष्ट्र सहभागी हुन्छन् । सुपर लिगमा रहेका १३ मध्ये पुछारमा रहेका पाँच राष्ट्र सीधै विश्वकप क्वालिफायर पुग्छन् । यस्तै, डिभिजन लिग २ मा रहेका सातमध्ये शीर्ष तीन राष्ट्र पनि सीधै क्वालिफायरमा पुग्छन् । बाँकी दुई राष्ट्र प्लेअफबाट छानिन्छन् । प्लेअफमा भने १२ एसोसिएट राष्ट्रहरू रहेको च्यालेन्ज लिगको शीर्ष दुई र डिभिजन लिग २ को चौथोदेखि सातौँ स्थानमा रहेका चार गरी ६ राष्ट्रबीच प्रतिस्पर्धा हुन्छ । त्यहाँबाट शीर्ष दुई टोली विश्वकप क्वालिफायर पुग्छन् । यसरी आएका दश राष्ट्रबीच हुने प्रतिस्पर्धामा शीर्ष दुई स्थान प्राप्त टोली विश्वकपमा सहभागी हुन्छन् ।

बिहीबार युएईलाई पराजित गरेपछि डिभिजन लिग २ को तेस्रो स्थानमा रहँदै नेपालले विश्वकप क्वालिफायरमा स्थान सुरक्षित गरेको हो । अहिलेसम्म नेपालसँगै जिम्बावे, नेदरल्यान्ड, स्कटल्यान्ड र ओमानले क्वालिफायरमा स्थान सुरक्षित गरिसकेका छन् । स्कटल्यान्ड र ओमान डिभिजन लिग २ को पहिलो र दोस्रो स्थानमा रहँदै पुगेका हुन् । जिम्बावे र नेदरल्यान्ड भने सुपर लिगको १२औँ र १३औँ स्थानमा रहँदै पुगेका हुन् । यही लिगमा रहेका श्रीलंका, वेस्टइन्डिज, दक्षिण अफ्रिका र आयरल्यान्डमध्ये एक सीधै विश्वकपमा पुग्नेछ भने बाँकी तीन राष्ट्र क्वालिफायरमा पुग्नेछन् । विश्वकप क्वालिफायर दुईवटा समूहमा बाँडेर खेलाइन्छ । दुवै समूहका शीर्ष तीन–तीन राष्ट्र सुपर सिक्समा पुग्छन् । सुपर सिक्समध्ये उत्कृष्ट दुई राष्ट्रले विश्वकप खेल्न पाउनेछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।