NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

१५ वर्षमुनिका बालबालिकालाई मुटुको नि:शुल्क उपचार

गत साता सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको पेडियाट्रिक वार्डमा ५० दिनका एक शिशु भर्ना गरिए । परीक्षणबाट उनमा डेक्सट्रो–ट्रान्पोजिसन अफ द ग्रेट आर्टरिज (डि–टिजिए) अर्थात् मुटुको जन्मजात समस्या भएको पुष्टि भयो । मुटुमा जटिल समस्याका कारण शिशुको शरीर नीलो भइसकेको थियो  । अक्सिजनको स्याचुरेसनसमेत निकै कम थियो । चिकित्सकले तत्कालै भेन्टिलेटरमा राखेर उपचार सुरु गरे । जन्मजात देखिएको धमनीको शल्यक्रियापश्चात् शिशुको अवस्था सामान्य बन्यो । परिवारले करिब अन्तिम अवस्थामा मात्र अस्पताल पुर्‍याएको भए पनि त्यसपछिको उपचार समयमै पाउँदा ती शिशुको ज्यान बच्यो ।

यो एक प्रतिनिधि घटना मात्र हो । मुटुमा समस्या भएका अधिकांश बालबालिकालाई समयमै अस्पताल नपुर्‍याइँदा स्वास्थ्यमा जोखिम आउने गरेको चिकित्सकहरू बताउँछन् । ५० दिनका ती शिशुलाई पनि परिवारका सदस्यले निकै ढिलो अस्पताल पुर्‍याएका थिए । बाल मुटुरोगसम्बन्धी चिकित्सकका अनुसार लक्षणको अज्ञानता र आर्थिक बोझको डरले पनि बालबालिकाले समयमै उपचार पाउने गरेका छैनन् ।

सरकारले १५ वर्षमुनिका प्रत्येक बालबालिकालाई मुटुको नि:शुल्क उपचार गराउँदै आएको छ । यसबारे जानकारी नहुँदा आर्थिक अवस्था कमजोर रहेका धेरैले आफ्ना बालबालिकालाई उपचारका लागि अस्पताल लैजाने गरेका छैनन् । लगे पनि निकै ढिलो मात्र पुर्‍याउने गरेका छन् ।

समयमै अस्पताल नपुर्‍याइँदा धेरै बालबालिकाको स्वास्थ्यमा गम्भीर समस्या आउने गरेको छ । कतिपयको ज्यानै जाने गरेको पाइएको छ । ५० दिने शिशुको उपचारमा संलग्न बाल मुटुरोग विशेषज्ञ डा. मनीष श्रेष्ठका अनुसार उनमा डि–टिजिएका कारण मुटुबाट रगत निकाल्ने मुख्य धमनीमा समस्या थियो । यस्ता शिशुको जन्मेको दुई साताभित्र शल्यक्रिया गरिसक्नुपर्छ । तर, ५० दिनपछि मात्र ती शिशु अस्पताल पुर्‍याइएका थिए ।

‘बच्चाको अवस्था निकै गम्भीर भएकाले तत्काल शल्यक्रिया गर्ने अवस्थासमेत थिएन । अक्सिजनको मात्रा बढाउन पुरिने अवस्थामा रहेको जन्मजात मुटुमा हुने एएसडीको उपचारपश्चात् मात्रै धमनीको शल्यक्रिया गर्नुपर्‍यो,’ डा. श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘जटिल शल्यक्रिया भएकाले बच्चालाई लामो समयसम्म बेहोस बनाएर राख्ने अवस्था थिएन । जसले गर्दा बच्चाको ज्यानसमेत जान सक्थ्यो ।’

ढिला अस्पताल आइपुग्दा उपचारमा समस्या हुने मात्र नभई ज्यानै जाने जोखिमसमेत हुन्छ । तर, ज्यान नै जाने अवस्थामा बिरामीहरू अस्पताल पुग्ने दर उच्च रहेको चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार मुटुसम्बन्धी समस्या भएका बालबालिकामध्ये झन्डै ७० प्रतिशत ढिलो अस्पताल आइपुग्ने गरेका छन् ।

‘स्वास्थ्यमा समस्या देखिएर गंगालाल ल्याइपुर्‍याइएका अधिकांश बालबालिका काठमाडौंबाहिरका छन् । उपकरण र दक्ष जनशक्ति अभावमा समयमै रोग पत्ता नलाग्ने तथा उपचार नपाउने कारण अधिकांश बालबालिका गम्भीर अवस्थामा मात्रै अस्पताल आइपुग्छन्, जसका कारण उपचारपछि पनि जटिल समस्या आउने जोखिम अत्यधिक हुने गरेको छ,’ डा. श्रेष्ठले भने ।

समयमा लक्षण नदेखिने, लक्षण देखिए पनि मुटुरोग पत्ता नलाग्ने र उपचारका लागि काठमाडौं नै आउनुपर्ने बाध्यताका कारण ढिला मात्र अस्पताल पुग्ने दर निकै उच्च रहेको तथ्यांकले देखाउँछ । पछिल्ला वर्षहरूमा तुलनात्मक रूपमा समयमा रिफरल बढेकाले उपचारमा पहुँच बढिरहे पनि अझै शतप्रतिशत बालबालिकाले मुटुको उपचार नपाइरहेको चिकित्सक बताउँछन् ।

गंगालालमा बर्सेनि पुग्छन् ६ देखि ८ हजार बालबालिका

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मात्रै प्रत्येक वर्ष ६ देखि आठ हजार मुटुको समस्या भएका बालबालिका उपचारका लागि आउने गरेका छन् । अधिकांश देशका भिन्नभिन्न अस्पतालबाट रिफर भएका हुन् । ओपिडीमा आउने बिरामीसँगै अन्य अस्पतालबाट रिफरल र इमर्जेन्सीमा गरी सन् २०२२ मा सात हजार दुई सय ४८ बालबालिका उपचारका लागि आएको अस्पतालको तथ्यांक छ । इकोकार्डियोग्राफीका लागि अस्पताल पुगेका बालबालिकामध्ये एक दिनको नवजात शिशुसमेत छन् । यीमध्ये जटिल समस्या भएका अधिकांशमा एस्यानोटिक जन्मजात मुटुरोगको समस्या पाइएको तथ्यांकले देखाएको छ । उपचारका लागि अस्पताल पुगेका बालबालिकामध्ये ३९ प्रतिशतमा सामान्य मुटुको समस्या पाइएको थियो । नयाँ पत्रिका दैनिकमा खबर छ ।