NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

‘महिनावारी’लाई लिएर मदन पुरस्कार विजेता र आइएनजिओबीच झगडा, अखबारमा मित्रापत्र

काठमाडौं । कुनै पनि सिर्जना समाज, राष्ट्र र मानव जातिको हितका लागि गरिन्छ । यस्ता सिर्जना सबैले उपभोग गर्न पाउँछन् तर दोस्रो पक्षले अर्को व्यक्ति तथा संस्थाको सिर्जना प्रयोग गर्दा स्रोत उल्लेख गर्न भने कन्ज्युस्याइँ गर्न हुँदैन ।

तर कहिलेकाहीँ संयोगवश सिर्जनाका ‘प्लट’ र केही हरफ मिल्न गइदिन्छन् ।  केही समयअघि चर्चित दुई कविबीच यस्तै विषयलाई लिएर सामाजिक सञ्जालमै आरोप प्रत्यारोप चलेको थियो । आरोप लगाउनेको पोल खुलेपछि यो प्रकरण फासफुस भएको थियो । अहिले फेरि यस्तै मामला सतहमा आएको छ ।

यो झगडाचाहिँ अघिल्लो जस्तो साहित्यकारबीचको नभएर नेपालमा मर्यादित महिनावारीका लागि काम गर्दै आएका दुई संस्था राधा पौडेल फाउण्डेसन र प्लान इन्टरनेशनल नेपालबीचको हो । झगडाको बीउ बनेको छ, एउटा मामुली हरफ ।

०७१ मा मदन पुरस्कारप्राप्त ‘खलंगामा हमला, एउटी नर्सको डायरी’ नामक पुस्तककी लेखिका राधा पौडेलको अर्को कीर्ति ‘मर्यादित महिनावारी, हामी सबैको जिम्मेवारी’ प्रकाशित छ । उनकै नाममा स्थापित राधा पौडेल फाउण्डेसनले सन् २०१७ मा प्रकाशित गरेको यो कृतिको थप तीन संस्करण सन् २०१८, २०१९ र २०२० मा प्रकाशित छन् । यो सामग्री अनलाइनका साथै श्रवण शक्ति नभएका व्यक्तिका लागि लक्ष्य गरेर सांकेतिक भाषामा दृश्यांकन गरी युट्युबमा समेत अपलोड गरिएको छ ।

राधा पौडेल फाउन्डेसनले जस्तै प्रकृतिको काम गर्ने प्लान इन्टरनेशनलले नेपालले सन् २०२१ मा राधा पौडेलकै पुस्तक शीर्षकसँग मिल्ने सचेतनामूलक सामग्री प्रकाशन गरेर वितरण गरेको थियो । लक्ष्य र उद्देश्य एउटै भएका दुई संस्थाबीच त्यही शीर्षकलाई लिएर विवाद भएको हो ।

प्लान इन्टरनेशनलले अहिले राधाको कृतिको जस्तै शीर्षक प्रयोग गरेको होइन । एउटा प्रकाशित सामग्रीमा दुई वर्षअघि नै प्रयोग गरिएको हो ।

पौडेलको फाउन्डेसनको मत राधाको कृतिको शीर्षक बिना अनुमति हुँबहुँ किन राखेको भन्नेमा छ भने प्लान इन्टरनेशनल शीर्षक चोरेको स्वीकार्न तयार छैन । राधाको कृतिबाट हुबहु सारिएको भन्दा पनि संयोगवश मिल्न पुगेको प्लान इन्टरनेशनलको दाबी छ ।

‘सन् २०२१ मा मर्यादित महिनावारी, हामी सबैको जिम्मेवारी’ शीर्षकका साथ मर्यादित महिनावारी सम्बन्धी विभिन्न स्रोत सामग्री प्रकाशित गरी वितरण गरिएको छ,,’ प्लान इन्टरनेशनलको भनाइ छ, ‘यी सामग्रीहरूको शीर्षक राधा पौडेल फाउण्डेसनको प्रकाशन ‘मर्यादित महिनावारी, हामी सबैको जिम्मेवारी’ नामक राधा पौडेलद्वारा लिखित पुस्तकसँग संयोगवश मिल्न गएको छ ।’

विषय मामुली भए पनि राधा पौडेल फाउण्डेसनले विवाद निकालेर झमेला गरेको प्लानका एक अधिकारीले नेपालवाचलाई बताए ।

‘हामी दुवैको लक्ष्य र उद्देश्य समान समाजमा जागरण ल्याएर विकासको गतिमा अघि बढाउनु हो,’ ती अधिकारीले भने, ‘प्रचार सामग्रीमा शीर्षक मिल्नु मामुली कुरा भए पनि बखेडा झिकेर झमेला गरियो ।’

यो विषयलाई लिएर केही समय भित्रभित्रै घोचपेचमा उत्रिएका यी दुई संस्थाबीच अन्तिममा भने समझदारी भएको छ । प्लानले राधा र उनको संस्थाको योगदान गर्ने र आफ्नो सामग्रीको शीर्षक संयोगवश पर्न गएको स्वीकार गर्ने सर्तमा दुईबीच मिलापत्र भएको स्रोतको भनाइ छ ।

लामो समयसम्म कतै पनि बाहिर नआएको यो विषयमा दुई संस्थाले अखबारमा सूचना नै जारी गरेर प्रष्ट पारेका छन् । सूचनामा पनि राधा र उनको संस्थाको योगदानको प्लानले कदर गर्ने तथा संयोगवश शीषक मिल्न गएकोमा दुःख व्यक्त गर्ने उल्लेख छ ।

‘प्लान इन्टरनेशनल नेपाल राधा पौडेल र उहाँको फाउण्डेसनको योगदानको कदर गर्दछ । साथै संयोगवश उक्त शीर्षक प्रयोग हुन गएकोमा दुःख व्यक्त गर्दछ ।’

नेपालमा मर्यादित महिनावारीका लागि आफ्ना प्रयास जारी राख्ने प्रतिबद्धता पनि उनीहरूले संयुक्त सूचना जारी गरेर जनाएका छन् ।