NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

एमालेलाई प्रचण्डको जवाफ : प्रधानमन्त्री माग्न म बालकाेट गएको होइन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानन्त्री बनाएकोमा एमाले अध्यक्ष केपी ओलीलाई धन्यवाद दिएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको पक्षमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले ओलीलाई धन्यवाद दिएका हुन् ।

एमालेका सांसद विष्णु पौडेलले तीन महिना नपुग्दै गठबन्धन तोड्न प्रधानमन्त्रीलाई के बाध्यता आइलाग्यो भन्ने प्रश्नको जवाफ दिँदै प्रचण्डले आफैंसँग प्रश्न गर्न आग्रह गरे ।

‘मलाई प्रधानमन्त्री बनाएकोमा केपीजीलाई धन्यवाद दिन्छु । प्रधानमन्त्री बनाएर ओलीजीले साँवा फिर्ता गरेका छन् । अझै ब्याज लिन बाँकी नै छ । त्यो लेखेर राख्नुहोला’, उनले भने, ‘विष्णुजीले बालकोट सहमतिबारे ममाथि प्रश्न गर्नुभयो । त्यहाँ के भएको थियो भन्ने विषयमा तपाईं अर्थमन्त्री पनि हुनुहुन्थ्यो, आफैलाई सोध्नुहाेस् । म प्रधानमन्त्री बन्नका लागि बालकोट गएको होइन । ओलीकै चाहनामा गएको हो । शान्ति, विकास निर्माण र आर्थिक एजेण्डाका लागि प्रधानमन्त्री बन्न तयार भएको हुँ ।’

निर्वाचनपछि ओलीमा परिवर्तन आयो होला भनेर आफू बालकोट गएको दाबी गर्दै उनले ओलीमा कुनै परिवर्तन नदेखेपछि एमालेसँग सहकार्य हुन सक्दैन भनेर त्यसैदिन निष्कर्ष निकालेको उनको जिकिर थियो । आफूलाई गुमाएकोमा कांग्रेसले गल्ती महशुस गरेकाले पुनः आफ्नो लभ परेको बताए ।