NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

कहिलेसम्म हुन्छ वर्षा ?

काठमाडौं । नयाँ मौसमी प्रणालीका कारण केही दिनदेखि देशका अधिकांश भाग वर्षा बदलीको चपेटामा परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, यो क्रम आगामी तीन दिन यथावत् रहने देखिएको छ ।   महाशाखाले आगामी तीन दिन हल्का तथा मध्यम वर्षासँगै हावाहुरी र चट्याङको सम्भावना औंल्याउँदै सावधानी अपनाउन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान एक बुलेटिन सार्वजनिक गर्दै स्थानीयसँगै पश्चिम वायुको प्रभावले मंगलबार, बुधबार र बिहीबार देशका अधिकांश भागमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरेको छ ।

महाशाखाका अनुसार, हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित क्षणिक हल्कादेखि मध्यम वर्षाकोे सम्भावना रहेको छ ।

रातिको समयमा पनि देशभर आंशिक बदली रही पहाडी भू–भागका थोरै स्थानमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित क्षणिक हल्कादेखि मध्यम वर्षाकोे सम्भावना रहेको छ ।

काठमाडौँ उपत्यकामा बिहानैदेखि सामान्य बदली रहेको छ । अपराह्नतिर हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाको पछिल्लो विवरणमा सबैभन्दा बढी धनगढीमा ३१ मिलीमिटर वर्षा भएको छ ।

काठमाडौँमा १७, वीरेन्द्रनगरमा १७, ओखलढुङ्गामा ११, घोराहीमा १० र लुम्लेमा २२ मिलीमिटर वर्षा मापन गरिएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ११ र अधिकतम तापक्रम १९ दशमलव नौ डिग्री सेल्सियस छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष