NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

एमालेका चर्चित नेता कृष्णभक्त पोखरेल उपनिर्वाचनमा नउठ्ने

काठमाडौं । बैशाख १० मा हुने चितवन–२ को उपनिर्वाचनमा एमालेका चर्चित नेता कृष्णभक्त पोखरेलले उम्मेदवारी नदिने भएका छन् । मंसिर ४ मा भएको निर्वाचनमा यो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछाने अत्याधिक मतसहित विजयी भएका थिए । पोखरेलले तेस्रो स्थानमा चित्त बुझाएका थिए ।

रविले ४९ हजार ३०० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए । पोखरेल १४ हजार ६५२ मतसहित तेस्रो भए । यसअघि लगातार तीन पटक निर्वाचन जितेर चर्चामा आएका पोखरेल फेरी उम्मेदवार बन्ने धेरैले अनुमान गरेका थिए ।

मंगलबार नेपालवाचसँग कुराकानी गर्दै पोखरेलले आसन्न उपनिर्वाचनमा उम्मेदवार नबन्न घोषणा गरे । यसअघि रविको लोकप्रियता बढेको प्रतिकुल अवस्थामा आफू उम्मेदवार भएपनि पार्टीबाट नै असहयोग भएको उनले गुनासो पोखे ।

‘मंसिरमा भएको निर्वाचनमा मैले प्रतिकुल अवस्थामा उम्मेदवारी दिएको थिएँ । त्यतिबेला रविलाई कृष्ण भगवान जस्तै मान्नेहरूको जमात बढी थियो । फरक आस्थाको कारण मलाई पार्टीबाट नै असहयोग भयो । योपटक उम्मेदवारी दिने पक्षमा म छैन । साथीहरूलाई सहयोग गर्छु’, उनले भने ।

आफू वकालत पेशाबाट जनतासँग जोडिएको राजनीतिमा आएकाले पुरानै पेशा अंगाल्ने उनले बताए ।
यसअघि रविलाई नबुझ्नेहरूले भगवान मान्दै आएपनि उहाँको पछिल्लो गतिविधिले विस्तारै उहाँको वस्तविकता उदाङ्गिदै गएको पोखरेलको भनाइ ।

‘मान्छेले नक्कली कुरा गरेर हुँदैन । नक्कली कुरा गरेर जनता ढाँट्न मिल्दैन । राजनीति इमानले चल्ने हो, बेमानले चल्दैन’, उनले भने, ‘रविलाई भगवान मान्नेले विस्तारै बुझ्दै छन् ।’

चितवनमा पोखरेल जनताको मत चोर्न सक्ने सक्षम नेताका रूपमा चिनिन्छन् । उनले २०६४, २०७० र २०७४ तीन वटा निर्वाचनमा लोकप्रिय मत ल्याएर विजयी भएका थिए ।