NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

चितवन–२ उपनिर्वाचन : कृष्णभक्त ‘ब्याक’, एमालेबाट रविको प्रतिस्पर्धी को ?

काठमाडौं । चर्चित निर्वाचन क्षेत्र चितवन–२ मा बैशाख १० गते उपचिर्वाचन हुँदैछ । यस क्षेत्रबाट निर्वाचित सांसद रवि लामिछाने नागरिककता प्रकरणमा दोषी ठहर भइ सर्वोच्च अदालतले पदमुक्त गरेपछि रिक्त स्थानमा फेरी निर्वाचन हुन लागेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि अहिले चुनावी मैदानमा सक्रिय छन् । उनको विरूद्धमा सत्ता गठबन्धन र एमालेबाट कसैले पनि उम्मेदवारी घोषणा गरेका छैनन् ।

रविको बढ्दो लोकप्रियताका कारण राजनीतिक दलका नेताहरू उम्मेदवारी दिन हिच्किचाइरहेका छन् । रास्वपा अहिले सत्ता गठबन्धनमै रहेपनि रविलाई साझा उम्मेदवार बनाएर जाने सम्भावना नरहेको यसअघि उनका प्रतिस्पर्धीसमेत रहेका कांग्रेस नेता उमेश श्रेष्ठले बताए ।
चैत २ मा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले उपनिर्वाचनमा उम्मेदवार बन्न चाहने उम्मेदवारहरूको ‘लिस्ट’ पठाउन मातहतका समितिलाई निर्देशन दिइसकेको छ । रविका प्रतिस्पर्धी रहेका एमालेका चर्चित नेता कृष्णभक्त पोखरेल निर्वाचनमा नउठ्ने घोषणा गरेका छन् । उनीले २०६४, २०७० र २०७४ को निर्वाचनमा आफ्ना बलिया प्रतिस्पर्धीलाई पराजित गरेका थिए ।

मंसिर ४ मा भएको निर्वाचनमा उनले आफ्ना प्रतिस्पर्धीलाई ३४ हजार ३१२ को फराकियो मतान्तरले पराजित गरी विजयी भएका थिए । रविले ४९ हजार ३०० मतसहित विजयी हुँदा उनका निकटतम प्रस्तिपर्धी कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए । यसअघि तीन पटक लगातार जित हात पारेका एमालेका चर्चित उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत पाए ।

चुनावी प्रतिस्पर्धाबाट पोखरेल पछि हटेपछि एमालेबाट रविविरूद्ध कसले उम्मेदवारी दिन्छ भन्नेमा चासो बढेको छ । चितवनका प्रभावशाली नेताका रूपमा हेरिएका पोखरेल जनतामाझ भिजेका निकै लोकप्रिय नेता हुन् । वकालत पेशाबाट वामपन्थी राजनीतिमा आएका उनी जनताको मत चोर्न सक्ने नेतामा परिचित छन् ।

पाेखरेल चुनावी प्रतिस्पर्धाबाट बाहिरिएपछि एमालेका चितवन अध्यक्षसमेत रहेका रामप्रसाद न्यौपाने, डा.तिलचन्द्र भट्टराई र गोपी श्रेष्ठले उम्मेदवार बन्न आकांक्षा देखाएका छन् । भट्टराई एमाले निकट नेपाल उद्योग संघका अध्यक्ष हुन् । उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य हुन् । श्रेष्ठ २०७४ मा कालिका नगरपालिका चितवनका मेयर हुन् ।

पोखरेलको अनुसार एमालेबाट न्यौपाने उम्मेदवार बन्ने सम्भावना बलियो रहेको छ । उनी भाषण कालामासमेत दख्खल भएका र पुस्तान्तरण गर्नसमेत लायक नेता भएको उनले बताए । श्रेष्ठको पनि चितवनमा लोकप्रियता राम्रो भएको पोखरेलको भनाइ छ । मंसिरमा भएको निर्वाचनमा रविको क्रेजका कारण समस्या भएपनि अहिले त्यो अवस्था नभएकाले निर्वाचनमा केही सहज हुने उनको जिकिर छ ।

निर्वाचन आयोगले मतदाताहरूको चैत १६ गतेसम्म मतदाता नामावली अद्यावधि गर्ने, २० गते उम्मेदवारको मनोनयन दर्ता गर्ने, २१ गते उम्मेदवारीविरूद्ध उजुरी दिने, उजुरीमाथि छानविन गरी निर्णय लिने र उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । २२ गते उम्मेदवारको नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशित गर्ने र २३ गते उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका छ ।