NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

चितवन–२ उपनिर्वाचन : रविलाई छैन डर, कांग्रेस र एमालेको अवस्था कस्तो छ ?

काठमाडौं । निर्वाचन आयोगले रिक्त रहेको चितवन–२ सहित तनहुँ–१, बारा–२ मा वैशाख १० गते उपनिर्वाचन गराउने तयारी तिव्र पारेकाे छ ।

नागरिकता प्रकरणमा सर्वोच्च अदालतले चितवन–२ बाट निर्वाचित रास्वपाका सभापतिसमेत रहेका सांसद रवि लामिछानेको पद खारेज भएको, तनहुँ–१ बाट निर्वाचित सांसद रामचन्द्र पाैडेल राष्ट्रपतिमा निर्वाचित भएका र बारा–२ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएकाले उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेकाे हाे ।

निर्वाचित भएको ६४ दिनमै पदमुक्त भएका लामिछाने पुनः भारी मतले विजयी हुनेमा निकै उत्साहित छन् । अमेरिकी नागरिकता त्यागेपश्चात् संविधान अनुसार नेपाली नागरिकता पुनः प्राप्तिका लागि सम्बन्धित निकायलाई निस्सा नदिएको सानो त्रुटिका कारण एकैपटक उनले पार्टी सभापति, संसदीय दलको नेता, सांसद र मन्त्री पद गुमाएका थिए । गएको निर्वाचनमा वाम–लोकतान्त्रिक र एमालेका प्रभावशाली उम्मेदवारलाई ३४ हजार ३१२ मतान्तरले पराजित गरेका रविले आसन्न उपनिर्वाचनमा पहिलेको भन्दा फराकिलो मतान्तरले विजयी हुने उनको दाबी छ ।

यसअघि ४९ हजार ३०० मतसहित उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ मत पाए । श्रेष्ठलाई माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दलहरूको समर्थन रहेको थियो । अघिल्ला निर्वाचनमा लगातार सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका एमालेका प्रभावशाली नेता कृष्णभक्त पोखरेल १४ हजार ६५२ मतसहित तेस्रो स्थानमा चित्त बुझाए ।

पूर्वचर्चित सञ्चारकर्मीसमेत रहेका उनी सञ्चारकर्म छाडेर गत असारमा राजनीतिमा होमिएका थिए । राजनीतिमा आएको ५ महिनामै लामिछाने प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री बन्न सफल भए । तर मन्त्री भएको ३२ दिनमै पदमुक्त भएकोमा निकै आक्रोसित भएका लामिछानेले पत्रकार सम्मेलन गरी मूलधारका ठूला मिडियामाथि खनिएका थिए । सत्ता सझेदार दलहरूप्रति मौन रहेका उनले सर्वोच्चको फैसलामाथि पनि निकै असन्तुष्टि पोखे । अदालतले आफूलाई न्याय नदिएपनि चितवनको जनताले अत्याधिक मत दिएर पुनः विजयी गराउने विश्वास लिएका छन् । आफूलाई मिडियाले लखेटीलखेटी गृहमन्त्री बनाएको र आगामी दिनमा प्रधानमन्त्री भएर छाड्ने दाबी गरे ।

चितवन–२ बाट आगामी उपनिर्वाचनमा उठ्ने उम्मेदवारका विषयमा राजनीतिक दलहरूले अहिलेसम्म कुनै छलफल गरिसकेका छैनन् । रास्वपाले सर्वसम्मत रूपमा लामिछानेलाई नै उम्मेदवारका रूपमा अघि सारिसकेको छ । त्यहिअनुसार निर्वाचनको तयारीमा जुटिसकेको छ । २३ माघमा सरकारबाट बाहिरिएको रास्वपाले ओली–प्रचण्ड गठबन्धन भत्किएपछि प्रचण्ड सरकारलाई नै निरन्तरता दिएको छ । सोमबार प्रधानमन्त्री प्रचण्डलाई दोस्रोपटक विश्वासको मत दिएको रास्वपाले निर्वाचनपछि सरकारमा जाने तयारी छ । तर उपनिर्वाचनमा कसैसँग पनि चुनावी तालमेल नगर्ने रास्वपाको नीति छ ।

‘हामीले यसअघि पनि कसैसँग चुनावी तालमेल गरेका होइनौं । गएको निर्वाचना जनतासँग गरिएको वाचा बिर्सिएका छैनौं । आसन्न उपनिर्वाचनमा पनि रास्वपा तालमेल गर्ने पक्षमा छैन । आशा छ पहिलोको भन्दा अत्याधिक मत दिएर रविजीलाई चितवनका जनताले जिताएर पठाउने छन्’, उपसभापति डोलप्रसाद अर्यालले भने ।

अर्यालले रविलाई अत्याधिक मतले जिताउनका लागि पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गर्ने बताए ।

रविविरूद्ध कांग्रेसले उम्मेदवारी दिने

कांग्रेस र एमालेको उम्मेदवारविरुद्ध एक्लै चुनावी मैदानमा होमिन लागेको रविविरुद्ध सत्ता गठबन्धनबाट कांग्रेसले उम्मेदवारी दिने तयारी गरेको छ । चैत २ गते बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले चितवन लगायत रिक्त निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने आकांक्षीको नामसहित सूची पठाउन मातहतका समितिलाई निर्देशन दिइसकेको छ । यहाँ पूर्वमन्त्रीसमेत रहेका रविका प्रतिस्पर्धी उमेश श्रेष्ठ, जिल्ला सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जितनारायण श्रेष्ठसहित झण्डै एक दर्जनले उम्मेदवार बन्ने आकांक्षा देखाएका छन् ।
‘रविविरूद्ध यसअघि पनि मैले राम्रै मत ल्याएकोले स्वभाविक रूपमा मेरो दाबी रहन्छ । यस विषयमा पार्टीले निर्णय गरे फेरी उम्मेदवार बन्न म तयार छु । यदि मलाई नबनाएको खण्डमा पार्टीले जसलाई उम्मेदवार बनाउन उसलाई मेरो समर्थन रहन्छ ’, श्रेष्ठले भने ।

रास्वपा बाहेक माओवादी केन्द्र, नेकपा एसलगायत अन्य साना सत्ता घटक दलहरूले कांग्रेसले उम्मेदवारी दिए समर्थन गर्न सकिने बताएका छन् । उम्मेदवारी दिने विषयमा अहिलेसम्म पार्टीभित्र कुनै छलफल नभएको नेता गणेश साहले बताए ।

‘अहिले चितवन लगायत केही ठाउँमा निर्वाचन क्षेत्र रिक्त रहेका छन् । यस विषयमा पार्टीभित्र कुनै छलफल भएको छ । सत्ता साझेदार दलहरूबीच छलफल गरेर निर्णय लिन्छौं’, उनले भने ।

एमालेबाट तीन जना आकांक्षी

तीन महिना नपुग्दै प्रचण्ड सरकारबाट बाहिरिएको एमालेले पनि अहिलेसम्म उम्मेदवारको टुंगो लगाएको छ । रविविरूद्ध यसअघि प्रतिस्पर्धा गरेका चर्चित नेता कृष्णभक्त पोखरेलले उम्मेदवारी नदिने घोषणा गरेका छन् । चुनावी प्रतिस्पर्धाबाट पोखरेल पछि हटेपछि रविविरूद्ध उम्मेदवारी दिन चितवन जिल्ला अध्यक्षसमेत रहेका रामप्रसाद न्यौपाने, उद्योगी डा. तिलचन्द्र भट्टराई र कालिका नगरपालिकाका पूर्वमेयर गोपी श्रेष्ठले आकांक्षा देखाएका छन् । तीमध्ये न्यौपाने एमालेबाट उम्मेदवार बन्ने सम्भावना छ ।

रविले जित्ने सम्भावना कति ?

यो निर्वाचन क्षेत्रमा कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर नगरपालिकाको १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ गरी १० वटा वडा पर्छन् । गएको निर्वाचनमा एक लाख २५ हजार ३८० मतदाता रहेका थिए । कुल खसेको सदरमत मध्ये समानुपातिकमा रास्वपाले ३५ हजार ९४५ मत पाएको थियो । दोस्रो स्थानमा रहेको एमालेले १६ हजार ७८४ मत पायो । तेस्रोमा रहेको कांग्रेसले १२ हजार १३२ मत पाएको छ । माओवादी केन्द्रले ८ हजार ४०७ मत पाएको छ । यसैगरी राप्रपाले ३ हजार २१८ मत पाउँदा एकीकृत समाजवादीले ६१६ मत पायो ।
गएको निर्वाचनमा दलहरूले पाएको समानुपातिक मत हेर्दा लामिछाने एक्लै निर्वाचनमा सहभागी भएपनि अत्याधिक मतले जित्ने सम्भावना छ । उनले कुनै दलको समर्थन नलिएपनि अहिले लोकप्रियतामा कुनै कमी आएको छैन । सत्ता समीकरण बदलिएसँगै रविले लिएको नीतिलाई लिएर उनी आलोचित भएपछि जनस्तरमा रविको विरोध गरिएको देखिदैन । आफूमाथि चितवबासीको अकार्षण देखिएकाले नै निर्वाचनवमा भाग लिन उनी हौसिएका हुन् ।

सरकारमा सहभागी भएपनि परिक्षण नभइ उनी बाहिरिएको र नागरिकता प्रकरणमा लामिछानेलाई राज्यले फसाइएको आम मानिसको बुझाइ छ । राज्य संयन्त्र असफल बनाउन ठूला मिडियाको ‘सिन्डिकेट’ प्रमुख भूमिका रहेको वास्तविकता उनले बाहिर ल्याएपछि लामिछानेमाथि सहानुभूति झनै बढेको छ ।

अघिल्लो निर्वाचनमा परम्परागत दलको गतिविधिबाट असन्तुष्ट रहेका मतदाता अत्याधिक मत पाएका लामिछानेले यो उपनिर्वाचनमा थप मतप्राप्त गर्ने सम्भावन रहेको प्रतिस्पर्धी दलहरूले नै स्वीकार गरेका छन् ।