NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

प्रहरीको सुझबुझ निर्णयले गुमेको २७ लाख फिर्ता

काठमाडौं । सस्तोमा जग्गा खरिद गर्ने प्रलोभनमा २७ लाख गुमेपछि बाग्लुङ नगरपालिका– १४ का ४२ वर्षीय सूर्य सुवेदी छाँगाबाट खसेझैँ भएका थिए । तर, प्रहरीको चालाखीपूर्ण कदमले गुमेको सबै रकम फिर्ता पाएपछि सुवेदी दंग मात्रै परेनन्, प्रहरीप्रति नतमस्तक नै बने । भारत बिहार चैनपुर कुंपडवाका प्रमोद सिंहले बारास्थित निजगढमा सस्तो मूल्यमा जग्गा मिलाइदिने प्रलोभन दिएपछि सुवेदी गत फागुनको अन्तिम साता काठमाडौंबाट हान्निएर निजगढ पुगे । जग्गा चित्त बुझेपछि जग्गाको मूल्य ‘फिक्स’ भयो । ४४ लाख रुपैयाँ ठीक पार्न सिंहले भने । जब रकम बैंकबाट झिकियो, सुवेदीलाई अनेक बहाना देखाएर सिंहले रौतहट इसानाथ गाउँपालिकास्थित बन्जार पुर्‍याए ।

जग्गाधनीको आवरणमा सिंहले आफ्नै दुई छोरासँग परिचय गराए । केहीबेर द्विपक्षीय छलफल भयो । सिंहले जग्गाधनीलाई रकम दिन सुवेदीलाई भने । आलटाल भएपछि सिंह दबाबमा उत्रिए । केही सीप नचलेपछि सुवेदीले १० लाख रुपैयाँको चेकसहित २७ लाख रुपैयाँ सिंहले भनेको जग्गाधनीलाई दिए । रकम हात पर्नासाथ जग्गाधनी घटनास्थलबाट सुटुक्क हिँडे ।

अलमलिएका सुवेदीले जब जग्गा पास गर्ने विषय झिके, सिंहले अर्को दिनको भाका दिए । मनमा चिसो परेपछि सुवेदीले जग्गाधनीसँग तुरुन्तै टेलिफोन सम्पर्क गरे । सम्पर्क नभएपछि उनी सोधखोजमा जुटे । यही क्रममा जग्गाधनी नक्कली मात्र होइन, उनीहरू सिंहकै छोरा राजन र साजन रहेको खुल्यो । रकम हात पर्नेबित्तिकै उनीहरू भारतको बिहारतर्फ फरार भएको खुलेपछि सुवेदी छाँगाबाट खसेझैँ भए ।

उनी उजुरी लिएर जिल्ला प्रहरी कार्यालय रौतहट पुगे । सुरुमा प्रहरीले उजुरीप्रति चासो देखाएन । हारगुहार गर्दै उनी जिप्रकामा कार्यरत इन्सपेक्टर दिनेश कुँवरकहाँ पुगे । उनले घटनाको बेलिबिस्तार इन्सपेक्टर कुँवरलाई सुनाए । ठगीमा संलग्न अभियुक्त भारतीय नागरिक थिए । र, रकम लिएर उनीहरू भारततर्फ फरार भइसकेका थिए । त्यसो हुँदा उनीहरूलाई पक्राउ गरेर रकम फिर्ता गराउनु चुनौतीपूर्ण कदम थियो ।

तर, प्रहरी निरीक्षक कुँवर चुनौती मोल्न तयार भए । उनी भारतको बिहारतर्फ जान तत्काल तयार भए । घटनामा संलग्न अभियुक्तको नाम, हुलिया र ठेगाना लिए । टोली लिएर उनी भारतको बिहारतर्फ छिरे । नभन्दै ठगीमा संलग्न सिंहलाई पक्राउ गरेर नेपाल ल्याउन उनी सफल भए । र, गुमेको सबै रकम पीडितलाई फिर्ता दिलाए । रौतहट जिल्ला प्रहरी कार्यालयका अनुसार सिंहको समूहले सुवेदीलाई गत १ चैतमा रौतहट इसानाथ गाउँपालिकास्थित बन्जराबाट लुटेका थिए । सिंहलाई प्रहरीले बिहारबाट ३ चैतमा पक्राउ गरेको थियो । उनले लुटेको रकम ४ चैतमा फिर्ता गरेका थिए ।

जिप्रका रौतहट प्रमुख एसपी वीरबहादुर बुढामगरले ठगी घटनामा भारतीय नागरिक प्रयोग भएको र उनीहरूलाई भारतबाटैै पक्राउ गरेर ल्याई पीडितको रकम फिर्ता गरिएको बताए । ‘सस्तोमा जग्गा मिलाइदिने प्रलोभनमा पीडितबाट २७ लाख रुपैयाँ लिएर भारतीय नागरिक फरार भएका रहेछन् । हामीले उनीहरू बस्ने ठाउँ पत्ता लगायौँ । घटनास्थलतर्फ सिभिल ड्रेसमा प्रहरी पठायौँ । ठगीमा संलग्न अभियुक्त पहिचान भएपछि अनेक उपाय लगाएर नेपालको बोर्डरसम्म ल्यायौँ र पक्राउ गर्‍यौँ । ठगीको रकम बरामद गरेर पीडितलाई फिर्ता गरिसकेका छौँ,’ उनले भने ।

गुमेको रकम फिर्ता पाउँदा पीडित सुवेदी दंग परेका छन् । उनले भने, ‘सस्तोमा जग्गा खरिद गर्ने प्रलोभनमा मलाई रौतहट पुर्‍यायो । जालसाजीपूर्वक मसँग रहेको २७ लाख रुपैयाँ लिएर ठग भारततर्फ फरार भयो । रकम फिर्ता होला भनेर मैले त सोचेकै थिइनँ । प्रहरीको चलाखीपूर्ण कदमले गुमेको रकम फिर्ता भयो ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष