NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

मंगलबारको घटनामा लिङ्देनको प्रतिक्रिया– मुख बन्द गरे र त के बन्दुकले पनि आवाज थुनिदैन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकको आवाज मुख थुनेर त के बन्दुकले पनि नरोकिने बताएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मुख थुन्नेतिर भन्दा समस्याको समाधानतिर लाग्न सुझाव पनि दिए ।

जातीय भेदभावविरुद्ध मंगलबार राजधानीमा आयोजित प्रचण्ड सहभागी एक कार्यक्रममा बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरविरुद्ध संघर्षरत केही युवाले  प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेपछि अस्वाभाविक ढंगले मुख बन्द गर्ने प्रयास गरिएको थियो । अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिएको भन्दै प्रहरीको यो रवैयाको विरोध भइरहेका बेला लिङ्देन पनि सामेल भएका हुन् ।

चाँडोभन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदर घटाउन तथा देशभित्रै रोजगारी सिर्जनाको वातावरण बनाउनहोस्, जो सम्भव छ,’ लिङ्देनले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएका छन्, ‘अन्यथा मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन् । जो तपाईं स्वयंलाई सबैभन्दा बढी थाहा छ ।’

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता ल्याएर अभिव्यक्ति स्वतन्त्रता ल्याएको बताउने प्रचण्ड हेर्दाहेर्दै मुख थुन्नुपर्ने कस्तो दिन आयो भन्दै उनले प्रश्न समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘हामीले गणतन्त्र ल्यायौं, संघीयता ल्यायौं, धर्मनिरपेक्षता ल्यायौं र त सबैले बोल्न पाएका छौं भन्नुहुने क. प्रचण्ड हेर्नुहोस् त हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?’