NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

बल्ल खोलिन् इष्टुले मुख

काठमाडौं । हाँस्य टेलिश्रृखला ‘हल्का रमाइलो’मा निकै रुचाइएकी पात्र हुन्, इष्टु कार्की उर्फ नेप्स । पर्दामा मरिचमान श्रेष्ठ उर्फ बल्छीसँग उनको जोडी निकै जम्यो , जुठेमा जुनकिरी र जुठेको जस्तै ।

हल्का रमाइलोमा अधिक रुचाइएको भए पनि खै किन हो, नेप्स केही भाग खेलेपछि भने एकाएक गायब भइन् । एक दुई भागमा नदेखिँदा खासै नोटिस भएन । तर जब उनको ठाउँमा अर्की कलाकार रिप्लेस भइन्, त्यसपछि बल्ल भेद खुल्यो नेप्स अलग भएकी रहिछन् भनेर ।

सिरियलमा आउनुपूर्व थिएटरमा नाटक खेलेर खारिएकी भए पनि इष्टुको परिचय फराकिलोचाहिँ हल्का रमाइलोले नै पारेको थियो ।

सुनिएअनुसार, इष्टु व्यवस्थापनसँगको असमझदारीका कारण ‘नेम’ र ‘फेम’ दिएको सिरियलबाट बाहिरिएकी हुन् ।

इष्टु बाहिरिएपछि बल्छीले अर्की प्रेमिका पाइसकेका छन् । हल्का रमाइलो पनि पुरानो रफ्तारमा उसैगरी अघि बढिरहेको छ । तर दर्शकले इष्टुलाई बिर्सिन सकेका छैनन् । प्रत्यक्ष भेट हुँदा होस् वा सामाजिक सञ्जालमा, हल्का रमाइलोमा अब कहिलेदेखि खेल्ने ? भन्ने प्रश्न उनले बरोबर सामना गर्नु परिरहेको छ ।

इष्टुले सुरुदेखि नै सामना गरेको यो प्रश्न लामो समय पन्छाइन् । तर टिकटकमा उम्किनै नसक्ने गरी फन्दामा परेपछि उनले यसबारे मुख खोलेकी छन् । जुन हल्का रमाइलोमा उनलाई देख्न चाहनेका लागि नीरसलाग्दो छ ।

इष्टुका अनुसार अब उनी कहिल्यै पनि हल्का रमाइलोमा देखिन्नन् ।

‘आइ विल नेभर बी ब्याक,’ हल्का रमाइलोसँग कुनै तुष भएजस्तो गरी इष्टुले भनेकी छन्, ‘जहिले पनि म फ्रन्टमा हेरेर हिँडेकी हुन्छु । त्यसैले कहिल्यै पनि हल्का रमाइलोमा देख्न पाउनु हुनेछैन ।’

दर्शकको चाहना राम्रोसँग बुझेकी इष्टुले आफ्नो कठोर निर्णयले दर्शकलाई दुःखी बनाउने ठानेर होला क्षमा पनि मागेकी छन् ।

तर असन्तुष्टि मिश्रित उनको  प्रष्टीकरणले एउटा जिज्ञासा भने फेरि पनि छाडेको छ– आखिर बल्छीले इष्टुको मन दुखाएचाहिँ केमा ?