NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

१२ सांसदको भारत भ्रमण विवादमा

काठमाडौं ।संसद् सचिवालयलाई जानकारी नगराई एक दर्जन सांसद भारत भ्रमणमा गएका छन् । भारतीय संसदीय व्यवस्था, अभ्यास र प्रणालीको अध्ययन तथा अवलोकनका लागि संसद्मा प्रतिनिधित्व गर्ने पाँच दलका १२ सांसद मंगलबार नयाँदिल्ली गएका हुन् ।

काठमाडौंस्थित भारतीय राजदूतावासको सहयोग र समन्वयमा स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपाल नामक गैरसरकारी संस्थाले सांसदहरूलाई भारत लगेको हो । भ्रमणबारे संघका अध्यक्ष अरविन्द महतोसँग सम्पर्क हुन सकेन । संघले यसअघि भारतीय राजदूतावाससँग समन्वय गरेर विविध कार्यक्रम गर्दै आएको थियो ।

भ्रमणमा कांग्रेसका प्रतिमा गौतम, मैना कार्की, सीता मिजार र शान्ति विक, एमालेका मेनुका पोखरेल, नारायण आचार्य, बलराम अधिकारी र फारुक अहमद सिराज सहभागी छन् । माओवादीका माधव सापकोटा र मीना तामाङ, रास्वपाका ढाकाकुमार श्रेष्ठ र एकीकृत समाजवादीबाट शेरबहादुर कुँवर नयाँदिल्ली पुगेका छन् ।

सांसदहरूको भ्रमणबारे संघीय संसद् सचिवालयलाई कुनै जानकारी छैन । ‘माननीयज्यूहरूको भारत भ्रमणबारे सचिवालयलाई औपचारिक जानकारी छैन,’ प्रवक्ता एकराम गिरी भन्छन्, ‘सभामुखज्यूसँग समन्वय भएको होला ।’ उनका अनुसार प्रतिनिधिसभा नियमावलीमा अनौपचारिक भ्रमणको जानकारी गराउने वा नगराउने स्पष्ट व्यवस्था नभएकाले यो सांसदको नैतिकता र स्वविवेकको विषय हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।