NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सत्ता बाहिर बिन्दास ओली : पत्नी राधिकासँगै घुम्छन्, नेता तथा कार्यकतासँग रमाउँछन्

काठमाडौं । एमालेका अध्यक्ष केपी ओली १२ चैत, २०७९ मा करिव साढे तीन दशकपछि सडकमार्गबाट अर्घाखाँचीको सुन्दर ठाउँ मसुरीपाटा पुगे ।

निरङ्कुश पञ्चायत कालमा १४ बर्ष कष्टपूर्ण जेल जीवन विताएका ओली जेलबाट निस्केपछि ०४६ सालतिर पार्टी कामका लागि लुम्बिनी अञ्चल र अन्तर्गतका विभिन्न जिल्लामा खटिएका थिए । त्यसबेला पार्टीको जिम्मेवारीका साथ अर्घाखाँची पुगेका थिए ।

मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत स्थानीय नेता तथा कार्यकतालाई हौसला प्रदान गर्न तीन दशकपछि जीवन साथी राधिकासँग त्यहाँ पुगेका ओलीले स्थानीय बासिन्दासँग भलाकुसारी गर्नुका साथै तस्बिर खिचाए ।

ओलीले अर्घाखाँचीका सुन्दर पहाड, खोलानाला, मानिस र वनस्पतिसँग आफ्नो गहिरो सम्बन्ध रहेको र अर्घाखाँचीमा पार्टीका नेताकार्यकर्ता र प्यारा नानीबाबुहरूसँगको भेटले मन आनन्दित बनाएको जिकिर गरे ।

सन्धिखर्क नगरपालिका वडा नं.९ अर्घाको मसुरीपाटामा पत्नी राधिकासँग रोमान्टिक मोडमा खिचिएको तस्बिर र भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

आफूलाई पूर्वीय दर्शन, ज्ञान, अन्वेषण, धार्मिक तथा साँस्कृतिक सम्पदाको ज्ञान, विकास र सम्वद्र्धनप्रति विशेष रुचि र ज्ञान भएको दाबी गर्ने ओलीले विभिन्न जिल्ला र ठाउँहरूको भ्रमण गरे ।

१३ चैतमा अर्घाखाँचीको मालारानी गाउँपालिकाको खन, खनदह, डाँडाकटरी, छेडाका ठाँटी हुँदै गुल्मीको सदरमुकाम तम्घास पुगेका थिए ।
त्यसअघि ११ चैतमा लुम्बिनीमा पुगेका उनले मायादेवी मन्दिरमा पूजाआजा गरे । साथै सँगै रहेको अशोक स्तम्भ, पुस्करणी पोखरी, शान्तिदीपको समेत अवलोकन गरे ।

अभियानको क्रममा ओलीले अर्घाखाँचीसहित, कपिलवस्तु, गुल्मी र पाल्पामा आयोजना गरिएका जिल्लास्तरीय भेलालाई सम्बोधन गरे ।
त्यसैदिन कपिलमुनि वैदिक संस्कृति विद्यापीठ गुरुकुलमा करिव २० मिनेट उनले प्रवचन दिए । मानव जातिको इतिहासमा महर्षी शिव र बेद तथा मन्त्रहरूको पनि महामन्त्र अर्थात गायत्री मन्त्रका रचयिता विश्वामित्रपछिका महान विद्वान कपिल ऋषि भएको सुनाए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली समकालीन राजनीतिमा अन्य नेताभन्दा फरक देखिन्छ । विपक्षीमाथि व्यंग्यसहित कडा शब्दप्रहार गरी सँधै चर्चामा आइराख्ने उनी राजनीतिक बाहेकका प्रस्तुतिमा पनि उत्तिकै माहिर देखिन्छन् ।

वाकपटुकतामा पोख्त रहेका उनी उखान–टुक्कासहित हास्य–व्यंग्य शैलीमा घण्टौं प्रवचन दिन्छन् । त्यस्तै पूर्वीय दर्शन, धर्म, संस्कार, पश्चिमा सभ्यता, विज्ञान, प्रविधि, जीवन जगत, इतिहास, भूगोल, खगोलशास्त्र, विश्व राजनीतिबारेमा विषयविज्ञ जस्तै घन्टौं धाराप्रवाह भाषण छाट्न ओली निकै सिपालु छन् ।

राजनीतिबाहेकका विषयमा देखिएको विशेष रूची र असाधारण प्रस्तुतिका कारण उनका बालबालिका, युवायुवतीदेखी वृद्धवृद्धासम्म समर्थक र प्रशंसक छन् । पछिल्लो समय उनी राजनीतिज्ञ नभइ एक चर्चित सेलिब्रेटी जस्तै देखिएका छन् । यद्यपि उनका कट्टर विरोधीहरूले ओलीलाई टुंक्के, उडन्ते, चटके, असहिष्णु भएको टिप्पणी गर्छन् ।

राजनीतिक हिसाबले आलोचकहरूले ओलीमाथि जुन विशेषण दिएर प्रहार गर्छन् वा साजिक सञ्चालमा उनका अभिव्यत्तिलाई लिएर ट्रोल बनाए छन् । त्यसको उनी तत्काल प्रतिवाद गर्छन् । आफ्नो मिसनमा अडिक रहेका देखिन्छन् । लामो संघर्षपूर्ण जेल बसाइका क्रममा जिर्ण बनेको शरिर, दुई–दुई पटक मृगौला प्रत्यारोप र विभिन्न शारिरीक संक्रमणलाई झेल्दै ७२ वर्ष उमेर पार गरेका ओलीको जीवनशैली ज्यादै लोभलाग्दो देखिन्छ । देशका तीन प्रधानमन्त्री दुई पटक पार्टी अध्यक्ष भएका उनी सत्तामा रहँदा होस् वा बाहिर हुँदा सँधै विन्दास मोडमा देखिन्छ ।

उमेर वृद्ध भएपनि कुनै युवामा हुने आत्मविश्वास र जोश आफूमा रहेका उनी दाबी गर्छन् । स्थानीय नेता तथा कार्याकर्तालाई केन्द्रीय नेतृत्वसँग साक्षात्कार गरी पार्टी संगठनलाई सुदृढ र मजबुद बनाउन अभियानको क्रमा देशका विभिन्न ठाउँमा पुगका ओलीलाई भेट्न, कुराकानी गर्न, सेल्फी खिच्न उत्तिकै मानिसहरू झ्यामिने गरेका छन् । उनको यो अतभूतपूर्व ठट्यौली जीवन शैलीबाट उनका सर्मथक मात्र होइन विरोधीहरूसमेत फिदा भएका छन् ।

बहुरुपी ओली

उट्पट्याङ भाषणबाजीबाट आलोचना र चर्चाको शिखरमा रहेका ओली विभिन्न खेलमा उत्तिकै रुचि राख्छन् । साहसिक खेल बन्जी जम्प गर्ने इच्छा भएर पनि उमेर स्वास्थ्यको हिसाबले ठगिएको बताउँछन् ।

‘मलाई पनि बन्जी जम्प गर्न जाउँजाउँ जस्तो लाग्छ । तर उमेर ढल्केको हुनाले स्वास्थ्यलाई असर गर्न सक्छ । यो विषयमा डाक्टरसँग सल्लाह लिनुपर्ला ।’ केही महिनाअघि राष्ट्रिय युवासंघले गरेका एक कार्यक्रमा उनले आफ्नो इच्छा बताएका थिए ।

ब्याटमिन्टनका पारखी रहेका उनी १०/१२ वर्ष अघिसम्म नियमित खेल्ने गरेको उनका सचिवालयले बताएको छ । गएको साउनमा झापाको महानन्द चोकस्थित बिग ब्रदर्श ब्याडमिन्टन कोर्टमा पुगेका उनले स्थायी कमिटी सदस्य खग्नि खरेलसँग जमेर खेले ।

ओली कतिसम्म रमाइलो पारका नेता हुन् भन्ने दृष्टान्तको लागि २०७६ माघ २१ मा प्रधानमन्त्री निवास बालुवाटारमा भएको साँरङ्गी साँझलाई सम्झनुपर्ने हुन्छ । मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नेपाली मौलिक धुन साँरङ्गी साँझको आयोजना गरिएको थियो । त्यस साँझ पूर्वप्रधानमन्त्री माधव नेपाल र झलानाथ खनाललाई दायाँ–बायाँ राखेर राखेर उनले बाँसुरी बजाए । उनलाई खनाल र नेपालले सारङ्गी रेटेर साथ दिए । त्यसदिन पूर्वप्रधानमन्त्री प्रचण्ड पार्टीको कार्यक्रममा भाग लिन चितवन गएकाले छुटेका थिए । ओलीको तस्बिर प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा पोस्ट गरेपछि त्यतिबेला निकै भाइरल भएको थियो ।

विभिन्न फण्डामा उत्तिकै सक्रिय देखिएका त्यसअघि ०७२ जेठ २३ मा ओलीले खेलेको फुटबल म्याच निकै चर्चित छ । ०७३ मा ओली आफै प्रधानमन्त्री थिए । गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री ११ र मुख्यसचिव ११ बीच मैत्रिपूर्ण फुटबल खेल आयोजना गरिएको थियो । जसमा प्रधानमन्त्री ओली स्वयंम मैदान उत्रिएर फुटबल खेलेका थिए । त्यसअघि भूकम्पपीडितको सहयोगार्थ नयाँ पत्रिका राष्ट्रिय दैनिकले सशस्त्र प्रहरीको कार्यालय हलचोकमा गरेको नेता र अभिनेताबीचको मैत्रीपूर्ण फुटबल म्याचमा पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालासँगै ओलीले निकै फूर्तिसाथ खेलेका थिए । एमाले अध्यक्ष ओली, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, माधव नेपाल, माओवादी अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराई सहभागी रहेका थिए ।

ओलीको क्यारेमबोर्डमा पनि उत्तिकै रुचि रहेको देखिन्छ । जेठ २८ मा बुद्धनगरमा जनसाँस्कृतिक महासंघले गरेको कार्यक्रमा भाग लिएका थिए । ओली पत्नी राधिकासहित कार्यक्रमपछि सिधै कोटेश्वर महादेवस्थानस्थित मदन भण्डारी बाटिकामा पुगेका थिए । अध्यक्ष ओलीलाई काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, नेता अग्नि खरेलले स्वागत गरेका थिए । पत्नी राधिका, उपमेयर सुनिता र नेता खरेललाई साथमै राखेर केहीबेर उनले क्यारेमबोर्ड खेलेका थिए जसको सामाजिक सञ्जालमा निकै चर्चा भयो । ओलीका सचिवालयका अनुसार यीबाहेक उनी स्नुकर खेल्न र गल्फकोर्टका पनि सौखिन छन् । गत असार २२ मा उनले राजधानीमा स्नुकर खेलेको भिडियो निकै भाइरल भएको थियो । त्यसैदिन सार्वजनिक भएको गल्फकार्ट कुदाएको दृष्यपनि निकै रोमाञ्चकारी देखिन्थ्यो ।

त्यसअघि असार १५ मा युवा संघले भक्तपुरमा आयोजना गरेको धान रोपाईंमा ओलीले पत्नी राधिकालाई सँगै राखेर मेसिनद्वारा धान रोपाईं गरेका थिए । श्रीमतीसहित हिलोमा पुगेका उनले निकै रमाइलो मानेर धान रोपेका थिए । उनी पौडी खेल्न पनि उत्तिकै च्याम्पियन रहेको उनी आफैं बताउँछन् । खेलाडीहरूलाई सम्मान गर्ने कार्यक्रमा ओलीले पौडीबाज गौरिका मल्ललाई मेन्सन गर्दै आफू पनि बगेका ठूल्ठूला नदीहरूमा पौडिन सक्ने दाबी गरे । यीबाहेक ओली कहिले स्टेजमै छमछमी नाचेर मनोरञ्जन दिन्छन् त कहिले अरूको क्यारिकेचर गर्दछन् । उनी अरूको आलोचना फिटिक्कै सहँदैनन् तर आफ्ना विरोधीमाथि घन्टौं शब्दवाण प्रहार गरेर थाक्दैनन् ।

ओलीको राजनीतिक यात्रा

२०२८ सालको झापा विद्रोहबाट राजनीतिमा हामफालेका ओलीले स्थानीय धर्मनाथ ढकालको हत्या आरोपमा १४ वर्ष कठोर जेल जीवन विताएका थिए । उनीसँगै जेल जीवन बिताएका सहकर्मी राधाकृष्ण मैनालीको विचारमा ओली पहिल्यैदेखि चतुर नेता थिए । मैनालीले लेखेको नलेखिएको इतिहासमा ओलीबारे रोचक प्रसंग उल्लेख गरेका छन् ।

‘ओली पहिल्यैदेखि धुर्त र चतुर नेता हुन् । उनी कामभन्दा गफ लडाउन निकै सिपालु छन् । नभएको कुरालाई हो जस्तो बनाउने र उट्पट्याङ कुरा गर्न माहिर नेता हुन्’, उनले पुस्तकमा लेखेका छन्’, ‘एक समय उनी जेलमा टि.बी. र अल्सरले थलिएर मृत्युको मुखमा पुगेका थिए । त्यस्तो हुँदा पनि खानामा ओलीलाई असाध्यै मिठो चाहिने । नमिठो भए भागै नबस्ने बानी थियो । हामीले गाँस कटाएर उनलाई मिठोमसिनो दिन्थ्यौं । उनी रोगले यति थलिएका थिए की जेलमा सिहार्ने मान्छे नहुँदा मैले उनको अंग नछोएको ठाउँ नै छैन ।’

ओली पदमा रहँदा बारम्बार छुद्रो बोली, रुखो र टर्रो बोली लगाउने टिप्पणी, आलोचक र मिडियाप्रति शत्रुता साँध्ने नेतामा परिचित छन् ।
ओली चिकित्सकहरूको सल्लाहलाईसमेत पर्वाह नगरी दैनिक १८ घण्टा जस्तो राजनीतिमा सक्रिय हुन्छन् । चारवटा मृर्गौला भएको विश्वकै पहिलो प्रधानमन्त्री आफू रहेको भन्दै उनी गर्व गर्छन् । उनी खेलमा मात्र होइन अध्ययनमा पनि त्यतिकै रुचि राख्छन् । रातमा जम्मा चार घण्टा सुत्ने गरेको उनी दाबी गर्छन् । फुर्सदको समयमा अध्ययन गरेर बिताउने गरेका छन् । साथै आफ्नो निवासमा आएकासँग रातको १२/१ बजेसम्म मज्जाले गफिने नेतामा समेत ओली पर्छन् ।

जेल जीवनदेखि सिंहदरबारको कुर्सीसम्म ओली

वि.सं. २००८ सालमा पूर्वी नेपालको तेह्रथुमको इवा गाउँमा जन्मिएका उनी सानै उमेरमा झापा बसाइँ सरेका थिए । अहिले ओलीको बसाइ भक्तपुरको बालकोटमा रहेको छ । उनी ०२२ सालदेखि राजनीतिमा लागेका थिए । २०४४ सालमा जेलमुक्त भएसँगै एमालेको केन्द्रीय सदस्यमा नियुक्त भए । २०४८, ०५१, ०५६ मा झापा ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । २०६४ को पहिलो संविधानसभामा पराजित भएका उनी ०७० र ०७४ मा झापाबाट नै निर्वाचित भए । ०६२ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भए ।

२०७१ मा भएको एमालेको नवौं महाधिवेशनमा माधव नेपाललाई हराउँदै उनी अध्यक्षमा निर्वाचित भए । भारतीय नाकाबन्दीको खुलेर विरोध गरेका ओली २०७२ मा माओवादीको सहयोगमा प्रधानमन्त्री भए । दुश्मनी सम्बन्ध रहेको माओवादीसँग रातारात पार्टी एकता गरी चुनाव जित्नेदेखि प्रधानमन्त्री बन्नेसम्मको उनको प्रयासलाई धेरैले अस्वाभाविक मान्ने गरेका छन् । तर कांग्रेसलाई नमिठो हार चखाउन उनले दुश्मनी सम्बन्ध रहेको माओवादीसँग पनि दोस्तीको हात बढाएर चर्चा र शक्तिमा आए ।

भारतविरुद्ध राष्ट्रवादी अडान देखाएकै कारण ओलीको राजनीतिक उच्चाइ ह्वात्तै बढेको थियो । भारतले मिचेका नेपाली भुगोल समेटेर चुच्चे नक्सा सार्वजनिक गर्दा विपक्षी कांग्रेसलाई समेत ओलीले आफ्नो कित्तामा ल्याएका थिए । बहुदल स्थापनापछि जनमातबाट सबैभन्दा लामो समय प्रधानमन्त्री हुनेमा ओलीले रेकर्ड राखे ।

२०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी वाम गठबन्धनबाट झण्डै दुईतिहाइको शक्तिशाली प्रधानमन्त्री भए । तर अध्यक्ष प्रचण्ड र नेता माधव नेपालसँगको बिग्रदो सम्बन्धले तीन वर्ष चार महिनामा ओली सरकार ढल्यो ।

२०७७ फागुन २३ मा सर्वोच्च अदालतले तत्कालीन नेकपा भंग गरिदिएपछि साविक पार्टी एमालेका अध्यक्ष भए । गत भदौ २ गते माधव–झलनाथ पार्टीबाट अलग भएपछि थप कमजोर भएका ओली मंसिरमा चितवन महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भए । मंसिरमा भएको निर्वाचनपछि दोस्रो दल भएका ओलीले निकै सानो अंकसहित तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका अध्यक्षलाई प्रधानमन्त्री बनाएर विगतको तिक्तता मेट्ने प्रयास गरे । तर राष्ट्रपति निर्वाचनमा एमालेसँगको सहमति तोडेर कांग्रेससँग सहकार्य गरेपछि सत्ता समीकरण भत्किएको छ । राष्ट्रपति गुमाएको एमाले संघदेखि प्रदेशसम्म प्रतिपक्षमा पुगेको छ ।