NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

म्यानमार : सुचीसहित ४० दलको वैधानिकता खारेज, अमेरिका रुष्ट

काठमाडौं । म्यानमारको सैन्य सरकारले त्यहाँका ४० राजनीतिक दलको वैधानिकता समाप्त गरिदिएको घटनाप्रति अमेरिकाले आपत्ति जनाएको छ ।

म्यानमारको सेना नियन्त्रित निर्वाचन आयोगले गत मंगलबार राजनीतिक कानूनअनुसार पुनः नवीकरण गर्न असफल भएको जिकिर गर्दै ४० राजनीतिक दलको वैधानिकता समाप्त भएको घोषणा गरेको थियो । जसमा नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीको नेसनल लिग फर डेमोक्रेसीलगायत छन् ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले नेसनल लिग फर डेमोक्रेसीलगायत ४० राजनीतिक दलहरू भंग गर्ने बर्माको सेनाको निर्णय गलत भएको भन्दै उक्त कदमको कडा शब्दमा निन्दा गरेका छन् ।

सन् २०२१ मा सुकी सरकारलाई अपदस्थ गरेर सत्ता हातमा लिएको म्यानमारको सैन्य सरकार पहिलो पटक चुनावतर्फ अघि बढिरहेको छ ।

सैन्य शक्तिका आलोचकहरूका अनुसार यी चुनावको उद्देश्य सेनाको शक्ति बढाउनु हो ।

अमेरिकाले सबै सरोकारवालाहरूको सहभागिताबिना गरिने निर्वाचन स्वतन्त्र र निष्पक्ष नमानिने चेतावनी दिएको छ । सैन्य शासनको व्यापक विरोधलाई ध्यानमा राख्दै चुनाव गराउने एकपक्षीय निर्णय गरिएको र यसले म्यानमारमा थप अस्थिरता बढ्ने अमेरिकाको भनाइ छ ।