NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

बारा–२ मा कांग्रेसले उपेन्द्रलाई समर्थन गर्ने, चितवन–२ र तनहुँ–१ मा उम्मेदवार को हुन् ?

काठमाडौं । नेपाली कांग्रेसले बैशाक १० मा हुने उपनिर्वाचनमा चितवन–२ बाट जितनारायण श्रेष्ठ र तनहुँ–१ बाट गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बिहीबार बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले बारा–२ मा भने जसपाका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए ।

भट्टराई कांग्रेसका केन्द्रीय सदस्य हुन् भने श्रेष्ठ चितवनका पूर्वसभापति हुन् । २५ फागुनमा तनहुँ–१ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्र रिक्त रहेको थियो ।

चितवन–२ बाट रास्वपाका निर्वाचत सांसद रवि लामिछाने नागरिकता प्रकरणमा सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएका थिए । सत्ता गठबन्धन दलमै रहेका रास्वपाले रविलाई नै उम्मेदवार बनाएको छ । उपनिर्वाचनमा सत्ता साझेदार दलहरूसँग तालमेल नगर्ने निर्णय गरेपछि गठबन्धनको तर्फबाट कांग्रेसले उम्मेदवार बनाएको हो ।

बारा–२ मा उपेन्द्रलाई सघाने निर्णय गरेको कांग्रेसले गठबन्धनकै सहयोगमा चितवन–२ मा रविलाई हराउने रणनीति बनाएको छ । मंसिर ४ मा भएको निर्वाचनमा रविले ४९ हजार ३०० मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए ।

बारा–२ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएपछि खालि रहेको उक्त क्षेत्रमा जसपाका अध्यक्ष आफै उठ्ने तयारी गरेका छन् । यसअघि सप्तरी–२ बाट उम्मेदवार रहेका उनी जपाका अध्यक्ष सीके राउतसँग पराजित भएका थिए ।

आफू पुनः सांसद बन्नकै लागि यादवले आफ्ना विश्वास पात्र रामसहायलाई उपराष्ट्रपति बनाएको आरोप लाग्दै आएको । यदवलाई चुनौती दिन सत्ता घटक दल जपाले शिवचन्द्र कुशवाहलाई उम्मेदवार बनाउने तयारी गरेको छ । बुधबारमात्र माओवादी परित्याग गरेका कुशवाह यसअघि रामसहायसँग ३१५ मतले पराजित भएका थिए । जपाको उम्मेदवारलाई नाउपा र लोसपालले समथर्न गर्ने विश्वास लिएको छ ।