NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सांसद खनालका नजरमा सामुदायिक शिक्षा सुधारका उपायहरू

काठमाडौं । सामुदायिक शिक्षा सुधारको विषय उठ्नासाथ आउने नाम हो शिशिर खनाल । नेपालका दूर दराजका सामुदायिक विद्यालयमा भएको विषयगत शिक्षकको कमीलाई पूर्ति गर्नका लागि ‘टिच फर नेपाल’ मार्फत उनले थालेको अभियानले शिक्षा क्षेत्रमा साँच्चै नै आशाको किरण जगायो ।

हिजो अभियानमार्फत नेपालको सामुदायिक शिक्षा सुधारमा लागेका उनै खनाल अहिले कानुन बनाउने स्थानमा पुगेका छन् । काठमाडौं क्षेत्र नम्बर ६ बाट गत मंसिरमा प्रतिनिधिसभा सांसद चुनिएसँगै उनले शिक्षामन्त्री हुने अवसर पनि पाए ।

तर छोटो समयमै सरकारबाट बाहिरिनुपरेका कारण उनले आफ्नो व्यवसायिक जेष्ठता त्यहाँ लागू गर्ने मौका भने गुमाउनुपर्यो ।

हाल नेपालको सामुदायिक शिक्षाको गुणस्तर सिकाइ तथा उपलब्धीको दृष्टिकोणबाट हेर्दा हामी संकटमै रहेको उनी बताउँछन् । उनको विचारमा कुनै पनि कोणबाट यसमा गर्व गर्ने अवस्था छैन । यद्यपी यो २५ वर्षमा नेपालको शिक्षामा भएको सुधार भनेको पहुँचको विस्तार भएको उनले बताए । ‘शिक्षामा व्यक्तिको पहुँच बढेको छ । जाति, लिंगका आधारमा हेर्ने हो भनेपनि विद्यालय शिक्षामा पहुँच राम्ररी बढेको छ,’ उनले भने, ‘उच्च शिक्षामा पनि धेरै हदसम्म पहुँच विस्तार भएको छ ।’

तर शिक्षामा पहुँचको फैलावटसँगै त्यसलाई आवश्यक व्यवस्थापकीय र संस्थागत संरचनामा सरकारले चासो नराखेको उनको गुनासो छ ।

‘निजी क्षेत्रमा पनि हाम्रो खुब राम्रो अनुभव भइसकेको मुलुक होइन । त्यसले गर्दा सार्वजनिक विद्यालयमा विस्तारतासँगै त्यसलाई आवश्यक आर्थिक, संस्थागत र व्यवस्थापकीय संरचनामा भने हामी असफल भएकै हौं । अर्थात् पहुँच बढेपनि हामीले गुणस्तरमा काम गर्न सकेनौं,’ उनले भने ।

पछिल्लो समयमा सामुदायिक विद्यालयमा विद्यार्थीहरूको बढ्दो ‘ड्रप आउट’ हुने समस्या चुनौतीका रूपमा खडा भएको उनले बताए । सिकाइको अभावका कारण विद्यालय छोड्ने गरेको पाइएको छ । योसँगै समाजिक कारणहरू पनि छन् । यसलाई सम्बोधन गर्नका लागि शिक्षाको गुणस्तर नबढाइ नहुने उनले बताए ।

उनै खनालसँग नेपालवाचको नियमित भिडियो श्रृंखला एजुकेसन डायलगमा सार्वजनिक शिक्षामा भएका समस्या र ती समस्याको नीतिगत निराकरणबारे कार्यक्रम प्रस्तोता तथा किङ्स कलेजका प्रधानाध्यापक नरोत्तम अर्यालले छलफल गरेका छन् ।

छलफलमा ढकालले सार्वजनिक शिक्षामा भएको रिक्त दरबन्दीका समस्यादेखि विद्यालय ‘मर्ज’ सम्मका उपाय सुझाएका छन् । योसँगै नेपालमा कुनै एकजना व्यक्तिले पारेका उदाहरणबाट सिकेर यसैलाई सम्बोधन गर्ने किसिमको नीति तर्जुमा गर्न सिफारिस गरेका छन् ।

‘हाम्रोमा धेरै कुरा व्यक्तिको नेतृत्वमा भर पर्छ । उदाहरणको रूपमा भन्नुपर्दा सबैले बुझ्ने विद्युत प्राधिरकण हो । कुलमान घिसिङ आउँदा संरचना त त्यही थियो । तर एउटा व्यक्ति आएपपछि रातारात परिवर्तन भएजस्तो भयो । उहाँ आएपछि केही व्यवस्थापकीय जुक्ति लगाउनुभयो जसले गर्दा धेरै ठाउँमा विद्यूत पुग्यो,’ उनले भने, ‘विद्यालयको हकमा पनि त्यस्तै छ । राम्रो भनिएका विद्यालयको इतिहास केलाउने हो भने त्यो कुनै न कुनै व्यक्तिसँग ठोक्किन जान्छ । व्यक्तिको नेतृत्व सही हुँदा संस्था राम्रो भएका उदाहरण छन् भने हामीले त्यस्तै किसिमको नीति किन नल्याउने ?’

व्यक्तिले गर्दा कुनै सार्वजनिक विद्यालयमा सुधार आउँछ भने नेतृत्वमा सही व्यक्तिलाई आकर्षण गर्ने किसिमको नीति ल्याउन उनले सुझाव दिएका छन् ।

भिडियोमा हेर्नुहोस् सांसद ढकालसँग गरिएको कुराकानीको पूरा अंश

ताजा अपडेट

नेपालवाच विशेष