NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

प्रकाश ज्वाला : पार्टीभित्र विद्रोहदेखि संघीय मन्त्रीसम्म

काठमाडौं । एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका छन् । लामो समय वामपन्थी आन्दोलनमा रहेका ज्वाला शुक्रबार प्रचण्ड नेतृत्वको सरकारमा नियुक्त भएका हुन् ।

पहिलोपटक संघीय मन्त्री भएका उनी कर्णाली प्रदेशका चर्चित नेता हुन् । कर्णाली प्रदेशमा वामपन्थी राजनीतिमा जनतालाई गोलबन्ध गर्न उनको निकै योगदान रहेको छ । माओवादी सशस्त्र विद्रोहमासमेत एमालेको संगठनलाई कर्णालीमा उनले कमजोर बनाउन दिएका थिएनन् ।

मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा एकीकृत समाजवादीका उम्मेदवार उनी तत्कालीन सत्ता गठबन्धनको सहयोगमा निर्वाचित भएका थिए । अघिल्लो पटक कर्णालीमा माओवादी नेतृत्वको सरकार जोगाउन एमालेसँग विद्रोह गरेका ज्वाला अहिले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएका हुन् ।

२०२३ साल मंसिर १२ गते वनगाड कुपिण्डे नगरपालिका–१, देवस्थलमा जन्मिएका ज्वाला सानैदेखि वामपन्थी आन्दोलनमा लागेका चर्चित नेता हुन् । २०७४ मा कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीसमेत भएका उनी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाउन एमालेसँग विद्रोह गरेका थिए ।

२०७८ वैशाख ३ गते कर्णाली प्रदेशमा तत्कालीन मुख्यमन्त्री शाहीले विश्वासको मत लिने क्रममा उनीसहित एमालेका ४ जना सदस्यले फ्लोर क्रास गरी विश्वासको मत दिँदा शाहीको सरकार जोगिएको थियो । विद्रोहको नेतृत्व ज्वालाले गरेका थिए । उनी पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका अत्यन्तै विश्वासिला पात्र हुन् । नेपाललाई कठिन परिस्थितिमा उनले साथ दिंदै आएका छन् ।

युवावस्थामै ज्वाला सल्यानको भूगोलमा चिरपरिचित नाम हुन् । २०५६ सालको संसदीय चुनावमा पहिलोपटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । माओवादी युद्ध प्रभावित क्षेत्र रहेको सल्यानमा एमालेलाई विजयी गराएपछि त्यतिबेला उनी निकै चर्चामा आएका थिए ।
त्यसयता लामो समय संसदीय निर्वाचनमा भाग नलिएका उनी अघिल्लो निर्वाचनमा प्रदेशसभा सदस्यमा विजयी भएका थिए । तर पार्टीको ह्वीप उल्लंघन गरेको आरोपमा उनीसहित चार जनालाई एमालेले निष्कासन गरेको थियो । संसदीय इतिहासमा विरलै देखिने उनको विद्रोहका कारण देशको राजनीति नै तरंगित भएको थियो ।

२०३९ सालको शिक्षक आन्दोलनबाट राजनीतिमा होमिएका ज्वाला तत्कालीन नेकपा एमालेको जिल्ला कार्यालय सचिव, केन्द्रीय सदस्य, पार्टीको राप्ती अञ्चल ईन्चार्ज हुँदै नेकपा एमालेको पोलिटब्युरो सदस्य भएका थिए । एमाले विभाजनमा माधव–झलना समूहलाई साथ दिएका उनी अहिले नेकपा एसका उपमहासचवि रहेका छन् । उनले मानविकी संकायमा स्नातकोत्तर र कानुनमा स्नातकसम्मको अध्ययन गरेका छन् ।