NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

कर्णालीको कथामा ‘बुलाकी’

काठमाडौं । नेपाली चलचित्रमा ग्रामीण परिवेश र कथालाई केही समययता देखाउनेक्रम बढेको छ । मौलिक नेपाली चलचित्रमा स्थानीय भाषा, पहिरन र संस्कृतिलाई समेटिने गरिन्छ ।

कर्णालीमै डेढ महिना छायाङ्कन गरिएको चलचित्र ‘बुलाकी’को काठमाडौँमा बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अभिनेत्री सुरक्षा पन्तले मनोरञ्जन, मौलिकतासँगै संस्कृतिलाई समेटेर तयार गरिएको जानकारी दिइन् ।

‘कर्णाली ठाउँ विकट भए पनि त्यहाँका मान्छे दुःखी छैनन् । हामीले चलचित्रमार्फत अहिले पनि त्यहाँ सुनिने जारी प्रथाको कथालाई उठाएका छौँ’, उनले भनिन्, ‘यसले प्रथाको प्रभावलाई देखाएको छ । त्यो ठिक होइन भन्ने सन्देश समाजलाई दिन्छ । ’ उनले निर्देशक लक्ष्मण सुनार स्थानीय भएकाले काम गर्न सजिलो भएको जानकारी दिँदै स्थानीय लवजसँगै पहिरन, खानपिनमै रहेर छायाङ्कन गरिएको चलचित्रमार्फत महिलाको कथा भन्न खोजिएको बताइन् ।

चलचित्रमा अभिनेत्री पन्तको श्रीमान्को भूमिका निर्वाह गरेका अभिनेता नरेन खड्काले कर्णालीको एउटा समाज र परिवार देखाइएको बताए । ‘यसलाई नेपाली मौलिक चलचित्र भनेर जहाँ पनि देखाउन सकिन्छ । हामीले व्यावसायिकभन्दा मौलिकता झल्कने चलचित्र बनाएका छौँ’, उनले भने, ‘चलचित्र पर्दामा हेरिरहँदा कर्णालीका बासिन्दाले आफूलाई पात्रसँग कनेक्ट गर्नुहुनेमा विश्वस्त छु ।’

अभिनेता रमेश बुढाथोकीले नयाँपुस्ताको काम र लगावको प्रशंसा गरे । उनले भने, ‘कलाकारले जीवन्त अभिनय गर्नुभएको छ । आफ्नो पात्रलाई लिएर गर्ने तयारी अहिलेका कलाकारमा झनै राम्रो छ । सबैले आफ्नो पात्रलाई न्याय दिनुभएको छ ।’ यसमा विराज विष्ट, लक्ष्मी गिरी, कूलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त उदास, सोनु सेढाईंलगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रमा शिव ढकालले छायाङ्कन, अर्जुन जिसीले सम्पादन, राजबहादुर सानेले कथा लेखन, लेखक साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता विष्टले पटकथा तथा संवाद तयार गरेका हुन् । डोल्पा, जाजरकोट र रुकुम पश्चिमका रमणीय स्थानमा खिचिएको चलचित्र अगामी वैशाख १ गते प्रदर्शनमा आउँदैछ ।