NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

मन्त्री बन्ने विषयमा कांग्रेसमा किचलो : लम्बिन सक्छ मन्त्रिपरिषद्को पूर्णता

काठमाडौं । मन्त्री बन्ने विषयमा कांग्रेसभित्र विवाद चुलिएको छ । आठ मन्त्रालय भाग पाएको कांग्रेसले विवादकै कारण शुक्रबार चारजना मात्रै सरकारमा पठायो । कांग्रेस नेताहरूका अनुसार मन्त्रिपरिषद्लाई पूर्णता दिने कार्य दुई–तीन साता लम्बिन पनि सक्छ ।

दुई मन्त्रालय पाएको जसपाले पनि अपूरो सिफारिस गरेको छ । उसले एकजना मात्रै सरकारमा पठाएको छ । जनमतका मन्त्रीले त मन्त्रालयप्रति असन्तुष्टि जनाउँदै राजीनामा नै दिएका छन् ।

कांग्रेस संस्थापन पक्षले आफ्नो समूहका चारजनालाई मन्त्री बनाइसकेको छ भने इतर समूह तीन मन्त्रालय पाउनुपर्ने अडानमै रह्यो र पार्टी सभापतिलाई नाम दिएन । सभापति देउवाले इतर समूहसँग दुई मन्त्रीको नाम मागेका थिए ।

कांग्रेस विवादका कारण उसले पाएका परराष्ट्र, कानुन, स्वास्थ्य र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (माओवादीसँग खेलकुद मन्त्रालयसँग साट्ने गरी)मा मन्त्री पठाउन सकेन । कांग्रेसको शेखर–गगन समूहले समूहले तीन मन्त्रालय आफूले पाउनुपर्ने दाबीसहित नाम दिन मानेन भने संस्थापनबाट पनि आकांक्षी व्यवस्थापन गर्न नसकेपछि चार मन्त्रालयमा नाम पठाउन सम्भव भएन ।

स्रोतका अनुसार बिहीबार साँझ नेता शेखर कोइरालालाई सभापति देउवाले इतरबाट दुईजनाको नाम पठाउन भनेका थिए । तर, कोइरालाले आफ्नो समूहलाई न्यायोचित रूपमा तीन मन्त्रालय दिनुपर्ने अडान राखेका थिए । शेखर समूहले अडान राखेर शुक्रबार बिहान पनि नाम पठाएन । शेखर समूहले सभापति देउवाबाट सकारात्मक जवाफसहित शुक्रबार शपथअघिको समयसम्म प्रतीक्षा गरेको थियो ।

बिहानैबाट नेता कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार दिनभरजसो नक्सालस्थित एक होटेलमा देउवाको जवाफको प्रतीक्षासहित आफ्नो समूहको रणनीतिबारे छलफलमा थिए । तर, देउवाले कुनै सल्लाह नगरी चारजनाको मात्र नाम प्रधानमन्त्रीलाई पठाए ।

देउवाले एकतर्फी नाम सिफारिस गरेपछि कांग्रेसभित्रको विवाद झन् पेचिलो बनेको छ । यसले सरकारले पूर्णता पाउनमा पनि ढिलाइ हुने कांग्रेस नेताहरूको भनाइ छ । ‘हामीले सभापतिसँग बारम्बार महाधिवेशनको मतअनुसार तीन मन्त्रालय मागेका हौँ । तर, नेतृत्वले बेवास्ता ग¥यो । तीन मन्त्रालय नपाए सरकारमा सहभागी हुने पक्षमा छैनौँ,’ इतरनिकट एक पदाधिकारीले नयाँ पत्रिकासँग भने ।

संस्थापन पक्षका नेता बालकृष्ण खाणले पार्टीमा छलफल भइरहेकाले सबै नाम पठाउन नसकिएको दाबी गरे । ‘सभापतिले पार्टीका सबै शीर्ष नेताहरूसँग छलफल गरिरहनुभएको छ । कुन मन्त्रालय पाउने र कसलाई पठाउने भन्ने छलफलकै क्रममा छ । केही दिनमा टुंगो लाग्नेछ र सरकारले पूर्णता पाउँछ,’ उनले नयाँ पत्रिकासँग भने ।

इतरनिकट सहमहामन्त्री जीवन परियारले आफ्नो समूहले पार्टीले पाएको मन्त्रालयबाट न्यायोचित अवसरको पाउनुपर्ने माग राखेको र टुंगो नलागेसम्म सरकारमा सहभागी नहुने बताए । ‘हामीले पार्टीभित्रको अर्को समूहलाई न्यायोचित रूपमा अवसर दिइनुपर्छ भनेका हौँ । तर, नेतृत्वबाट यसबारे कुनै प्रतिक्रिया आएको छैन । संख्यामा कुरा मिलेपछि कुन मन्त्रालयमा कसलाई पठाउने भन्ने टुंगो लाग्छ,’ उनले भने, ‘न्यायोचित अवसर पाउँदा मात्रै सरकारमा सहभागी हुनपर्ने आवाज हाम्रो समूहमा छ,’ उनले नयाँ पत्रिकासँग भने । इतरबाट दुई नाम नपठाएपछि सभापति देउवाले धेरै महत्व नदिने रणनीतिअनुसार थप छलफल नगरेको स्रोतले बतायो । मन्त्रिपरिषद् विस्तारपछि देउवाले शेखर समूहसँग कुनै संवाद गरेका छैनन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष