NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

उपचुनाव : कांग्रेसलाई रास्वपाको चुनौती, उपेन्द्रलाई यसरी बन्दैछ गठबन्धन नै गलपाँसो

काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनको लागि राजनीतिक दलहरूले उठाएका उम्मेदवार हेर्दा मंसिरमा भएको निर्वाचनलाई बिर्साउने खालको छ । रोचक कुरा त आसन्न निर्वाचन सत्ता भर्सेस सत्ता गठबन्धनबीचको प्रतिस्पर्धा जस्तै देखिन्छ ।

एमाले–माओवादी सत्ता समीकरण भत्किएपछि अहिले कांग्रेस, माओवादी, रास्वपा, जसपा, नेकपा एस, जपा, लोसपा, नाउपासहित १० दलको गठबन्धन छ । तीमध्ये रास्वपा, राजमो र प्रभु साह नेतृत्वको आम जनता पार्टी सरकारमा गएका छैनन् ।

मन्त्रालय भागबण्डाप्रति असहमति जनाउँदै जपा सरकारबाट बाहिरिएको छ । यद्यपि उसले सरकारलाई दिएको समर्थन कायमै राखेको छ । आगामी निर्वाचनमा सत्ता गठबन्धनभित्रै उम्मेदवारी दिने विषयमा एकमत देखिँदैन ।

तनहुँ–१ र चितवन–२ मा कांग्रेसले उम्मेदवारी दिएको ठाउँमा गठबन्धन एकजुट भएपनि बारा–२ मा एक अर्काविरूद्ध उम्मेदवारी दिने तयारी गरेका छन् । यहाँ जसपाका अध्यक्ष उपेन्द्र यादव फेरी निर्वाचनमा उठ्ने तयारी गरेका छन् । उनलाई सत्ता साझेदार दलहरू कांग्रेस, माओवादी, जसपा, नेकपा एस लगायत दलहरूले समर्थन गरेका छन् । तर सत्ता घटक जपा, नाउपा र लोसपाले यादवलाई समर्थन गर्ने अवस्था छैन । यस परिदृष्यले चुनावी माहोललार्ई थप तताएको छ ।

अर्कोतर्फ चुनावी मैदानमा हेवी उम्मेदवारबीचको घम्साघम्सीले तीनवटै क्षेत्रले सबैको ध्यानाकर्षण गराएको छ । मुख्यतः यो निर्वाचनमा कांग्रेस, एमाले र रास्वपाका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचनका लागि निर्वाचन आयोगले सोमबार उम्मेदवारी दर्ताको समय तोकेको छ । २१ गते उम्मेदवारविरूद्ध दाबीविरोध, २२ गते परेका उजुरीमाथि छानविन र २३ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरी चुनाव चिन्ह प्रदान गर्ने आयोगको कार्यतालिका छ ।

तनहुँमा कांग्रेसलाई विरासत जोगाउन स्वर्णिमको चुनौती

कांग्रेसको पुस्तौनी विरासत रहेको तनहुँ–१ राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र हो । उनी २५ फागुनमा राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको सो क्षेत्रमा कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । नेविसंघका पूर्वसभापति समेत रहेका उनी झण्डै चार दशक कांग्रेस राजनीतिमा सक्रिय छन् । मंसिरमा भएको निर्वाचनमा उनी उम्मेदवार बन्न चाहेका थिए । तर पौडेलले नै उम्मेदवार बन्न चाहेपछि भट्टराई पछि हटेका थिए । यो क्षेत्र २०४८ देखि २०७४ को निर्वाचन बाहेक सबै निर्वाचन कांग्रेसले जित्दै आएको छ ।

२०७४ मा पनि कांग्रेसले पूर्वमन्त्री तथा नेता गोविन्दराज जोशीलाई व्यवस्थापन गर्न नसकेको आन्तरिक कमजोरीले मात्र पराजय भोगेको थियो । कांग्रेसको गढको रूपमा मानिएको तनहुँ–१ मा आफ्नो विरासत जोगाउन मुख्य चुनौती योपटक नयाँ दल रास्वपा देखिएको छ ।
शुक्रबार कांग्रेस परित्याग गरी रास्वपा प्रवेश गरेका चर्चित अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले भट्टराईलाई चुनौती दिन मैदानमा उत्रिएका छन् । सभापति शेरबहादुर देउवा र आर्जु राणा गिरोहको अपमान खप्न नसकेको आरोप लगाउँदै ५० वर्ष लामो पारिवारिक राजनीति विरासतमाथि अल्पविराम लगाउँदै वाग्लेले कांग्रेस परित्याग गरेका हुन् ।

लामो समय अमेरिका बसोबास गरेका वाग्ले २०७४ र २०७९ को तीन वटै निर्वाचनमा निर्वाचन घोषणापत्रका मस्यौदाकार हुन् । अर्थतन्त्रसम्बन्धी राम्रो ज्ञान हाँसिल गरेका उनी विश्वकै प्रशिद्ध अर्थशास्त्री हुन् । राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) एसिया प्यासिफिकको प्रमुख आर्थिक सल्लाहकार रहेर काम गरेका वाग्ले गतवर्ष मात्र स्थायी रूपले नेपाल फर्केका हुन् । गएको निर्वाचनमा चिवन र काठमाडौंका निर्वाचन क्षेत्रमध्ये एक ठाउँबाट उम्मेदवार बन्न चाहेका थिए । तर उनलाई देउवाले टिक दिन नचाहेपछि नेतृत्वसँग वाग्ले असन्तुष्ट थिए । बुढानीलकण्ठ स्कुल हुँदै लण्डन स्कुल अफ इकोनोमिक्स, हावर्ड विश्वविद्यालयमा अध्ययन गरेका उनी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पनि हुन् ।

योपटक वाग्लेको उपस्थिति कांग्रेसका उम्मेदवार भट्टराईलाई भारी पर्ने देखिन्छ । उनी लामो समय तनहुँलाई केन्द्रबिन्दू बनाएर राजनीतिमा खारिएका अनुभवी नेता हुन् । तनहुँका जनताबीच भट्टराई निकै लोकप्रिय छन् । भट्टराई र वाग्ले दुवै जना परिक्षण नभएका तथा सम्भावना बोकेका नेता हुन् । तर कांग्रेसभित्र वाग्लेको विद्रोह तथा रास्वपाप्रति जनताको बढ्दो आकर्षणका कारण कांग्रेसको विरासत जोगाउन भट्टराईलाई फलामको चिउरा चपाए सरह हुने देखिन्छ । यद्यपि उनलाई गठबन्धनबाट कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत दलहरूको समर्थन रहेको छ ।

विपक्षी एमालेले यो क्षेत्रमा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाललाई उठाएको छ । गएको निर्वाचनमा काठमाडौं–६ बाट रास्वपाका उम्मेदवार शिशिर खनालसँग फराकिलो मतान्तरले पराजित भएका खनाल वाग्ले र भट्टराई चुनौती दिन तनहुँ जान लागेका हुन् । तीस वर्ष लामो समय प्रहरी सेवामा काम गरेका उनी लोकप्रिय प्रहरी अधिकारी हुन् । योपटक सत्ता गठबन्धबीचको प्रतिस्पर्धाले विभाजित जनमत आफूले पाउने विश्वास एमालेले लिएको छ ।

भारी मतले फेरी विजयी हुनेमा रवि ढुक्क

यसैगरी चर्चित निर्वाचन क्षेत्र चितवन–२ मा रास्वपाका सभापतिसमेत रहेका रवि लामिछानेले नै भारी मतले जित्ने सम्भावना देखिन्छ । मंसिरको निर्वाचनमा झण्डै ३५ हजार मतान्तरले कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई पराजित गरेका रविले योपटक कांग्रेस चिवतनका पूर्वसभापति जितनारायण श्रेष्ठले चुनौतीको समाना गर्दै छन् । लामो समय सञ्चार कर्ममा रहेर लोकिप्रिय रहेका रवि योपटक अघिल्लो निर्वाचनको भन्दा बढी मत ल्याएर जित्ने दाबी गरेका छन् । यद्यपि दाेहाेराे राहदानी अभियाेगमा उनीमाथि मुद्दा दायर भएकाले रविकाे उम्मेदवारी के हुन्छ भन्ने अवस्था छैन ।

उनीमाथि दोहोरो राहदानी लिएको आरोपमा गृहमन्त्रालाय र प्रहरीमा उजुरी परेको थियाे । तर जिल्ला सरकारी वकिल कार्यलयले रविलाई मुद्दा लगाउनुपर्ने मनासिव कारण नदेखिएको भन्दै राय पेश गरेपछि महान्यायाधीवत्ता दीनबन्धु पाेखरेलले उक्त फाइल नै बन्द गरेका थिए । साेही निर्यणविरूच युवराज पाैडेलले आइतबार सर्वोच्चमा मुद्दा दायर गरेका हुन् । त्यसैले उनीमाथि खतराको घण्टी कायमै रहेको छ । सत्तासँग सौदाबाजी गरेर राहदानीसम्बन्धी फाइल बन्न गर्न लगाएको समेत उनीमाथि आरोप छ ।

शनिबार पत्रकार सम्मेलनमा बोल्दै उनले आफूविरूद्ध पहिले पनि षड्यन्त्र भएको अहिले पनि त्यो कायमै रहेको बताए । पत्रकार सम्मेलनमा उनले एक बदला तीन उम्मेदवार लिएर संसद भवन छिर्ने दाबी गरे ।

‘पहिला मेरो केही समान्य त्रुटिका कारण सांसद पद गयो । योपटक एकको बदला तीन सांसद लिएर संसद भवन जानेछौं । अब उप सुप होइन प्रधानमन्त्री र मन्त्री हुनेछौं’, उनले दाबी गरे ।

सम्मेलनमा उनले विशेष परिस्थिति बाहेका रास्वपाले कसैसँग पनि चुनावी तालमेल नगर्ने बताएका थिए । गठबन्धन बनाएर चुनाव लड्ने संस्कारको अन्त्य गर्न निर्वाचन आयोगले नै पहल गर्नुपर्ने उनको भनाइ थियो । सत्ता गठबन्धनका प्रमुख घटक रहेको रास्वपाले तीन वटै क्षेत्रमा कसैसँग पनि चुनावी तालमेल नगर्ने निर्णय गरेको छ ।

जनमत रास्वपाप्रति आकर्षित रहेको र अहिलेसम्म आफ्ना सांसद र मन्त्रीहरू पूर्णरूपले परिक्षण नभएकाले आसन्न निर्वाचन पनि लोकप्रिय मत ल्याएर जित्नेमा रविको आत्मविश्वास देखिन्छ । यद्यपि नागरिकता प्रकरणमा दोषी ठहर गर्दै सर्वोच्च अदालते उनको सांसद, पार्टी सभापति र उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त गरेपछि योपटक जनमत विभाजित हुने विपक्षीको आँकलन छ । ११ पुमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएका रवि ३२ दिनै पदमुक्त भएका थिए ।

आफूमाथि गम्भीर उजुरी हुँदाहुँदै स्वार्थ बाजिने मन्त्रालयमा गएको, म्यान पावरका मालिकलाई मन्त्री बनाएको, पदमुक्त भएपछि पनि पुनः गृहमन्त्री बन्न दलका नेताहरूको घरघर चाहारेको, सत्ता स्वार्थका लागि सरकारलाई दिएको समर्थन कायमै राखेको लगायत अरोप रविलाई लागेकोे छ ।

दल खोलेको ५ महिनामै रास्वपालाई २० सिट जिताउन सफल भएका उनी उपनिर्वाचनमा तीन वटै सिट ‘क्लीन स्वीप’ गर्ने रणनीतिमा रहेका छन् । वाग्ले र खरेल जस्ता लोकप्रिय व्यक्तित्वलाई उम्मेदवार बनाएर उनले परम्परागत दलमाथि खतराको घण्टी बज्ने संकेत दिएका छन् ।
त्यस्तै गठबन्धनबाट नै रविका प्रतिस्पर्धी रहेका श्रेष्ठ चितवन कांग्रेसमा लोकप्रिय नेता हुन् । रविको नागरिकता तथा राहदानी मुद्दालाई प्रमुख चुनावी मुद्दा बनाउने उनको रणनीति छ । श्रेष्ठले चितवन नेताहरूको परिक्षण गर्ने थलो नभएको जिकिर गर्दै योपटक आफूले भारी मतले जित्ने दाबी गरेका छन् । उनलाई कांग्रेससहित माओवादी केन्द, जसपा, एकीकृत समाजवादी लगायत दलहरूले समर्थन गरेका छन् । यो क्षेत्रमा विपक्षी एमालेले जिल्ला अध्यक्षसमेत रहेका लोकप्रिय नेता रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

यसअघि रविका प्रतिस्पर्धी रहेका चर्चित नेता कृष्णभक्त पोखरेल पछि हटेपछि एमालेले न्यौपानेलाई उम्मेदवार बनाएको हो । यहाँ अघिल्ला तीन निर्वाचनमा पोखरले विजयी भएका थिए । मंसिरको निर्वाचनमा रविमाथि भ्रम रहेको जिकिर गर्दै योपटक उनले निर्वाचन नजित्ने पोखरेलले दाबी गरे ।

‘गएको निर्वाचनमा रवि कृष्ण भगवन नै हो कि भन्ने भ्रम आम मतदातामा थियो । उनले देश र जनतालाई गम्भीर रूपले ढाँटेको प्रमाणित भइसकेको छ । त्यो भ्रममा अब चिनवने जनता छैनन् । योपटक यहाँका जनताले विगतको गल्ति दोहोर्याउने छैनन्’, पोखरेले भने ।

उपेन्द्रलाई सत्ता पक्षकै उम्मेदवार गलपाँसो

यसैगरी बारा–२ मा पनि योपटक रोचक प्रतिस्पर्धा हुने भएको छ । गएको निर्वाचनमा एमालेको सहयोगमा यहाँ जसपाका उम्मेदवार रामसहायप्रसाद यदाव ३१५ को झिनो मतान्तरले माओवादीका उम्मेदवार शिवचन्द्र कुशवाहलाई पराजित गरेका थिए । उनी चैत ३ मा उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेका सो क्षेत्रमा जसपाका अध्यक्ष यादव उठ्ने तयारी गरेका छन् । २०६३ को मधेश आन्दोलनबाट राजनीतिमा स्थापित भएका यादव त्यसयता निरन्तर केन्द्रीय राजनीतिमा सक्रिय छन् ।

त्यतिबेला मधेशका मसिहा भनेर चिनिएका यादवलाई सत्ता केन्द्रीत राजनीतिमा मधेशलाई धोका दिएको आरोप लाग्दै आएको छ । २०६४, २०७०, २०७४ को निर्वाचन जितेका उनी उप्रधानमन्त्रीसहित पटक–पटक मन्त्री भए । लामो समय देउवा नेतृत्वको गठबन्धनमा रहेका उनी प्रतिनिधिसभा निर्वाचनमा एमालेसँग चुनावी तालमेल गरेका थिए । निर्वाचनमा सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष सीके राउतसँग नमिठो हार व्यहोरेपछि यादव पुनः पुरानै गठबन्धनमा फर्किए । उपनिर्वाचनबाट पुनः संसद भवन प्रवेश गर्ने तयारी गरेका उनलाई गठबन्धनकै उम्मेदवार गलपाँसो बन्ने देखिएको छ ।

उनलाई चुनौती दिन सत्ता घटक रास्वपाले पूर्वडीआइजी रमेश खरेललाई उम्मेदवार बनाएको छ । गठबन्धनबाट नै जनमत पार्टीले भर्खर माओवादी परित्याग गरेका कुशवाहलाई उम्मेदवार बनाएको छ । यहाँ विपक्षी एमालेले उम्मेदवारी दिने वा नदिने कुनै निर्णय गरेको छैन ।
तनहुँ–१ र चितवन–२ उम्मेदवार खडा गरेको एमालेले बारा–२ मा निर्णय नगर्नुलाई रणनीतिक मानिएको छ । मंसिरमा भएको निर्वाचनमा एमालेसँग सहकार्य गरेका यादवले निर्वाचनपछि देउवा–प्रचण्ड गठबन्धनलाई सहयोग गरेकोमा केपी ओली आक्रोसित छन् ।

आफ्ना विश्वास पात्र रामसहायलाई उपराष्ट्रपति बनाएर यादव फेरी संसद प्रवेश गर्न लागेको उनीमाथि आरोप छ । एमालेले उम्मेदवार नबनाउनुले जनमत पार्टी वा रास्वपाका उम्मेदवारलाई समर्थन गरेर उपेन्द्रलाई हराउने रणनीति बनाएको हुन सक्ने सत्ता पक्षका नेताहरूले आशंका गरेका छन् ।

उनलाई सत्तारूढ दल कांग्रेसले समर्थन गर्ने निर्णय गरिसकेको छ । मओवादी, नेकपा एस लगायत दलले पनि उनलाई नै समर्थन गर्ने निश्चित छ । तर यादवलाई सत्तापक्षकै लोसपा र जपाले असहयोग गर्ने रणनीति बनाएको छ ।

रास्वपाका उम्मेदवार खरेल यादवका लागि थप चुनौती देखिन्छ । सुशासन पार्टीका अध्यक्षसमेत रहेका खरेल गएको निर्वाचनमा काठमाडौं–१ बाट कांग्रेसका उम्मेदवार प्रकाशामान सिंहसँग पराजित भएका थिए । रास्वपासँग पार्टी एकता गर्ने तयारीमा रहेका खरेलले उम्मेदवारी दिएपछि बाराको निर्वाचन थप रोचक बनेको हो । बारा–२ मा दलगत बाहेक स्वतन्त्र मत निर्णाय रहेको छ । गएको निर्वाचनमा स्वतन्त्र उम्मेदवारले मात्रै यहाँ २९ हजार मत पाएका थिए ।

कसको कति मत ?

मंसिरको निर्वाचनमा तनहुँ–१ बाट प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले २५ हजार ३६१ मतसहित विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका एकबहादुर रानाले १९ हजार ९८१ मत पाएका थिए । स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८८६ मत पाए ।

समानुपातिकतर्फ कांग्रेसको २० हजार १५८, एमालेको १६ हजार ६८३, रास्वपाको १२ हजार ७७३ र माओवादीको ७ हजार ३२६ मत रहेको छ ।
यसैगरी चितवन–२ मा रविले ४९ हजार ३०० मत पाएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार श्रेष्ठले १४ हजार ९८८ मत पाए । एमालेका पोखरेलले १४ हजार ६५२ मत पाए ।

समानुपातिकतर्फ रास्वपाको ३५ हजार ९४५, एमालेको १६ हजार ७८४, कांग्रेसको १२ हजार १३२, माओवादीको ८ हजार ४०७ र राप्रपाको ३ हजार २१८ मत रहेको छ ।

त्यस्तै बारा–२ मा प्रत्यक्षतर्फ रामसहायले १३ हजार ८२२ मत ल्याएर विजयी भए । उनको प्रतिस्पर्धी कुशवाहले १३ हजार ४६८ मत पाए । स्वतन्त्र उम्मेदवार त्रय रामकिशोरप्रसाद यादव, रवीन्द्रप्रसाद यादव, अरुणकुमार ज्ञवालीले क्रमशः ११ हजार ४३, १० हजार ७५० र ७ हजार ६९८ मत पाएका छन् । जनमत पार्टीले २ हजार ७२५ मत पाएको छ ।

समानुपातिकतर्फ जसपा १३ हजार २४२, कांग्रेस ११ हजार १७९, एमाले ९ हजार १९३, जपा ८ हजार ८४६, लोसपा ४ हजार २३५, नाउपा ३ हजार ७९४, माओवादी ३ हजार २६५ र नेकपा एस १ हजार ४५५ मत रहेको छ ।