NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

कांग्रेसले क–कसलाई गर्यो कारवाही फुकुवा ?

काठमाडौं । उपनिर्वाचनको सम्मुखमा सत्तारूढ दल कांग्रेसले यसअघि नेता तथा कार्यकर्तामाथि गरिएको कारवाही फुकुवा गर्ने निर्णय गरेको छ ।

वैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा हुन लागेको निर्वाचनका लागि निर्वाचन आयोगले सोमबार उम्मेदवारी दर्ताको तयारी गरेको छ । सोही निर्वाचनमा एकताबद्ध भएको सन्देश दिन कांग्रेसले नेता तथा कार्यकर्तामाथि लगाइएको कारवाही फुकुवा गर्ने निर्णय गरेको हो ।

कांग्रेस कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले पूर्वमन्त्री तथा नेता गोविन्दराज जोशीलगायत नेता तथा कार्यकर्तामाथि गरिएको अनुशासनको कारवाही फुकुवा गर्ने निर्णय गरेको हो ।

अनुशासनको कारवाही फिर्ता हुनेमा तनहुँ, चितवन र बाराका नेता तथा काकार्यकता भएको उपसभापति धनराज गुरुङले जानकारी दिए ।
अघिल्ला निर्वाचनमा पार्टीले उठाएको आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिएका, तीनका प्रस्तावक र समर्थकहरूलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको थियो । गुरुङका अनुसार कारवाही फुकुवा भएपछि उनीहरूको सदस्यता नविकरणले निरन्तरता पाउनेछ ।

२०७४ को निर्वाचनमा तनहुँ–१ का आधिकारी उम्मेदवार रहेका रामचन्द्र पौडेलविरूद्ध बागी उम्मेदवारी दिएपछि जोशीमाथि अनुशासनको कारवाही गरिएको थियो । मंसिरमा भएको निर्वाचनमा पनि पार्टी निर्णयलाई चुनौती दिँदै उनले पौडेल विरूद्ध स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।

२५ फागुनमा पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको सो क्षेत्रमा कांग्रेसले केन्द्रीय सस्दय गोविन्द भट्टराईलाई उम्मेदवारी बनाएको छ । यसैगरी बैठकले चितवनका पूर्वसभापति विकास कोइरालामाथिको कारवाहीसमेत फुकुवा गरेको छ । उनी २०७० सालको संविधानसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री एवं तत्कालीन केन्द्रीय सभापति सुशील कोइरालाविरूद्ध बागी उम्मेदवारी दिएपछि उनलाई कारवाही गरिएको थियो ।