NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

शान्ति मिसनमा सैनिक महिलाको ऐतिहासिक उपस्थिति

काठमाडौं । नेपालबाट एकसाथ पाँच सय ६५ सैनिक महिला शान्ति स्थापनार्थ राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका छन् । उनीहरू विभिन्न नौवटा मिसनमा कार्यरत छन् । शान्ति मिसनमा नेपालबाट सैनिक महिलाको यो उपस्थिति अहिलेसम्मकै ठूलो हो ।नेपाली सेनाले शान्ति मिसनमा सहभागिता जनाउन थालेको ६५ वर्षको अवधिमा दुई हजार एक सय ४६ सैनिक महिला मात्र खटिएका थिए । त्यसको करिब एकचौथाइ हाल एकैपटक खटिएका छन् ।

संयुक्त राष्ट्रसंघले मिसनमा महिलाको संख्या बढाउन अनुरोध गर्दै आएको छ । नेपाली सेनाले पनि प्राथमिकताका आधारमा महिलालाई शान्ति मिसनमा छनोट गर्ने नीति लिएको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले बताए । ‘राष्ट्रसंघले पनि महिलाको सहभागिता बढाउन प्रोत्साहन गरिरहेको छ,’ उनले भने, ‘हामीले पनि सकेसम्म धेरै महिलालाई मिसनमा खटाउने नीति लिएका छौँ, यो नेपाली सेनाका लागि पनि गर्वको विषय हो ।’

६ हजार ६३ सैनिक शान्ति मिसनमा कार्यरत रहेकोमा त्यसमध्ये ९.३१ प्रतिशत महिला छन् । कन्टिन्जेन्ट मिसनमा पाँच सय ३३ तथा सैनिक पर्यवेक्षक तथा स्टाफ अफिसरमा ३२ महिला कार्यरत रहेको सैनिक प्रवक्ता भण्डारीले बताए । एक वर्षमै शान्ति सेनामा महिलाको सहभागिता करिब दोब्बर भएको छ ।

सन् २०२२ मा तीन सय सात महिला मात्र खटिएका थिए । सन् २००० मा पहिलोपटक सैनिक महिला शान्ति मिसनमा सहभागी भएका थिए । त्यतिवेला लेबनानमा प्राविधिकतर्फका दुई महिला अधिकृत खटिएको प्रवक्ता भण्डारीले बताए । कर्णेल तहसम्मका सैनिक महिला मिसनमा खटिएका छन् ।

सेनाको तथ्यांकअनुसार सबैभन्दा धेरै दक्षिण सुडानमा एक सय ७५, सेन्ट्रल अफ्रिकन रिपब्लिक (कार) मा एक सय १३, कंगोमा ९५, लेबनानमा ८४ जना कार्यरत छन् । त्यस्तै, सिरियामा ५१, लिबिया र मालीमा १७–१७, सुडानमा १२ तथा इराकमा एकजना छन् । पाँच सय ६५ मध्ये पाँच सय ३२ जना कटिन्जेन्ट तथा अन्य ३३ तथा सैनिक पर्यवेक्षक तथा स्टाफ अफिसरका रूपमा कार्यरत छन् ।

तुलनात्मक रूपमा सेनाको महिलाको जनशक्ति न्यून छ । प्राविधिक पदमा ०१८ देखि नै सेनामा महिलाको भर्ना हुँदै आएकोमा सामान्य सैनिक सेवामा भने ०६१ देखि मात्र भर्ना लिन थालिएको हो । हाल कुल जनशक्तिमध्ये करिब ६ हजार ६ सय महिला छन् ।

सामान्य सेवातर्फ १६ जना महिला अधिकृत मेजर तहसम्म पुगेका छन् । प्राविधिक तथा कानुनी सेवातर्फ आठजना महिला सहायक रथी पदमा कार्यरत छन् । पछिल्लो समय भर्नामा महिलाको संख्या बढेसँगै शान्ति मिसनमा पनि उनीहरूको उपस्थिति बढेको हो । नयाँ पत्रिका दैनिकमा खबर छ ।