NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

‘रास्वपाको लहर क्षणिक भेल हो, आगामी नेतृत्व कांग्रेस र कम्युनिस्टले गर्छन्’

'राजनीतिलाई स्थिर हुनै नदिने अनि सिस्टम खोजेर हुन्छ ?'

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पछिको झण्डै दुई दशक नेपालको राजनीति सत्ता र शक्तिको स्वार्थमै केन्द्रित रह्यो ।
८० को दशकको सुरूवातसँगै व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको छ । त्यसको संकेत गएको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा ब्यालेटमार्फत जनताले देखाएका छन् ।

झण्डै ७० दशक राजनीतिको केन्द्र विन्दूमा रहेका कांग्रेस र कम्युनिस्ट पार्टीप्रति जनताको बढ्दो वितृष्णा, नयाँ दल र नेतृत्वप्रति देखिएको जनलहरले कतै जनता व्यवस्था परिवर्तनतर्फ उन्मुख भएको हो कि भन्ने अनुमान गर्न थालिएको छ ।

त्यसको संकेत प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले केहि दिन अगाडि गरिसकेका छन् । उनले प्राप्त उपलब्धिको रक्षाका लागि वामपन्थी शक्ति मिलेर समाजवादी मोर्चा गठन गर्ने प्रस्ताव गरेका छन् । त्यसको तयारी पनि भइरहेको नेताहरू बताउँछन् ।

सत्ता समीकरण बन्ने र भत्किने क्रम अहिले पनि जारी छ । सत्ता स्वार्थका लागि दलहरू फुट्ने र जुट्ने पुरानै रोग अझै हटेको छैन । पुराना शक्ति भनिएका दलहरूले देश र जनताको पक्षमा राम्रो काम गर्न नसक्दा नागरिकहरू उकुसमुकुस भएका छन् ।

व्यवस्था परिवर्तनका लागि सँगसँगै हातेमालो गरेका कांग्रेस र कम्युनिस्ट दुई कित्तामा विभाजित छन् । यस्तै विषयमा सत्तारूढ दल एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडासँग नेपालवाचका सहकर्मी गणेश पाण्डेले समाजवादी मोर्चा र मुलुकका आगामीे राजनीति अवस्थाबारे कुराकानी गरेका छन् :

वामपन्थीबीच पार्टी एकता र समाजवादी मोर्चा गठबन्धनको विषय कहाँ पुग्यो ?

विभिन्न कारणले तत्काल यी विषय रोकिएको छ । चुनाव सकिएपछि प्रक्रिया अघि बढ्छ । पार्टी एकता अहिले सम्भव छैन, मोर्चा बन्छ ।

माओवादीसहित पार्टी एकता गर्ने भनिएको थियो । त्यो विषय सेलाएको हो ?

छैन, छैन । कुराकानी जारी छ तर तत्काल एकता हुने सम्भावना छैन ।

तत्कालीन महासचिव बेदुराम भुसालको नेतृत्वमा तपाईंहरूले वार्ता टोली बनाउनुभएको थियो । माओवादीले पनि वार्ता टोली गठन गरेको थियो, किन डेडलक भयो ?

नभ्याएर हो । योबीचमा एउटा सरकार बन्यो, त्यो गिर्यो । फेरी अर्को सरकार बन्यो ।
सरकार बनाउने र भत्काउने खेलमा समय बढी खर्च भयो । १० दलको समीकरण बनाउने र सरकारको न्यूनतम नीति तथा साझा कार्यक्रम बनाउँदा समाजवादी मोर्चा गठन प्रक्रिया बिलम्ब भएको हो । वैशाख १० को निर्वाचन पछि यी प्रक्रिया अघि बढ्छन् । अबको १०/१५ दिनमा समाजवादी मोर्चा बन्छ ।

समाजवादी मोर्चा मा कुनकुन दल सहभागी हुन्छन् ? यसको उदेश्य के हो ?

तत्काल समाजवादी मोर्चा हाम्रो पार्टीसहित माओवादी केन्द्र र जसपाबीच हुन्छ । एजेण्डाको विषयमा हामी गम्भीर छलफलमा छौं । निर्वाचनलगत्तै तीन दल बसेर विस्तृत छलफल गर्छौं । यसका उदेश्य, नीति तथा कार्यक्रम ल्याउँछौं । विशेष गरी संसदमा यसको भूमिका हुन्छ । राष्ट्रिय एजेण्डाहरूमा हामी सँगै लाग्छौं ।

दीर्घकालीन रुपमा पार्टी एकता हुन्छ कि सहकार्य मात्रै ?

अहिलेलाई सहकार्यबाहेक यसको उदेश्य केही छैन । संसदभित्र वामपन्थीबीच सहकार्य गर्न र जनताका एजेण्डा उठानका लागिमात्र मोर्चा बन्न लागेको हो ।

पछिल्लो समय तपाईंको पार्टीबाट नेता तथा कार्यकर्ता बाहिरिने क्रम तिव्र छ, यसलाई कसरी लिनुभएको छ ?

पार्टीमा आउने जाने भइराख्छ । कहिले आउँछन्, कहिले जान्छन् । हाम्रो जस्तो मुलुकमा पार्टी छाड्ने र आउने क्रम जारी रहन्छ । पुरानाले छाडे नयाँले चलाउँछन् ।

भर्खर पार्टी छाडेका पुराना नेता मुकुन्द न्यौपानेले नेकपा एसबाट दुईतिहाइ नेता तथा कार्यकर्ता एमाले फर्किने दाबी गरेका छन्, त्यस्तै हो अवस्था ?

उहाँहरूले सँगै लैजानोस् शुभेच्छा छ । म लान्छु, जान्छु भनेपछि रोक्न सक्छ कसैले ? केन्द्रीय कमिटीमासमेत नितान्त एक्लो भइ हिनताबोध भएपछि उहाँले पार्टी छाड्नु भएको हो ।

उनले नेतृत्वलाई त पिँध नभएको बाल्टिन भनेका छन् । एमालेका अध्यक्ष केपी ओलीले पनि नेकपा एसको भविष्य छैन भनेका छन् नि ?
ओली बाले के भन्नुहुन्छ । मुकुन्दले के भन्छन् त्यसले केही अर्थ राख्दैन । ओली आफ्नै भविष्य नदेखेका नेता हुन् । उहाँले अरूमाथि प्रश्न गर्नुको कुनै तुक छैन । मुकुन्दजीको आरोप आफूले केही गर्न नसकेको अपजस नेतृत्वमाथि थोपरेका हुन् । उहाँ पार्टीबाट अलग भएर केही फरक पर्दैन ।

कोही भाविष्य नदेखेर, कोही मन्त्री नपाए पार्टी छाड्ने प्रवृत्ति हावी भएपछि अप्ठ्यारो पर्ने भयो नि त ?

पहिलो कुरा पार्टीको भविष्य छैन भन्नेले आफ्नै भविष्य नदेखेर त्यसो भनेका हुन् । अर्को कुरा, मन्त्रीका लागि दौडधुप गरिरहेको भन्ने आरोप छ । एउटा सांसदले मन्त्री बन्न दौडधुप गर्नु कुन आश्चर्यको विषय हो र ? जुनबेला भाग पर्छ त्योबेला मन्त्री बन्छन् । क्रमैसँग जाँदा भाग परिहाल्छ नि ।

त्यसो भए एकीकृत समाजवादीको भविष्य कस्तो छ ?

भविष्यमा बलियो हुने पार्टी नै हाम्रो हो । यही पार्टीको अगुवाइमा वामपन्थी गोलबन्ध हुनेछन् ।

२०८४ को निर्वाचनमा सम्पूर्ण वामपन्थी एकजुट भएर जाने सम्भावन कत्तिको देख्नुहुन्छ ?

अर्को निर्वाचन आउन धेरै समय बाँकी रहेकाले अहिले केही भन्ने अवस्था छैन । सबैलाई मिलाएर जाने क्षमता भएको पार्टी भनेको हाम्रो पार्टी हो। वामपन्थी एकताका लागि हामी पहल गर्छौं । अरु कसरी प्रस्तुत हुन्छ त्यसमा भर पर्छ ।

अब फरक प्रशंगमा कुरा गरौं, तपार्ईं सत्ता समीकरण बदलिएकोमा खुशी मनाइरहनुभएको छ । उता नयाँ भनिएका दलहरूले जनमत क्यास गरिरहेका छन् । यसलाई कसरी हेर्नुभएको छ ?

जनताको मन जितेपछि कसैको केही लाग्दैन । त्यसमा रिस गरेर पनि हुँदैन । प्रतिस्पर्धामा जितेपछि रिस गरेर हुन्छ त ?

९ महिनाअघि खुलेको बिना क्याडरको पार्टीप्रति यत्रो जन लहर छ । तर तपाईं त्यत्रो संघर्ष गरेर आएको नेता भन्नुहुन्छ । तपाईंको पक्षमा जनता नै छैनन् नि ?

म तपाईंलाई प्रश्न गर्न चाहन्छु । रवि लामिछानेको एजेण्डा के छ ? कुन एजेण्डामा यो पार्टी बन्दैछ । बिना एजेण्डा भेल आउने हो पार्टी बन्ने होइन । पार्टी बन्न एजेण्डा चाहिन्छ । दृष्टिकोण चाहिन्छ । नेपालको परिवेशमा तलसम्म संस्थागत संरचना चाहिन्छ । संस्थागत संरचना नभएको, कुनै दर्शन दृष्टिकोण र सिद्धान्त नभएको पार्टी नयाँ भएर मात्र चल्दैन । प्रत्येक वर्ष नयाँ मात्र खोज्नेले देशमा अस्थिरता मात्र निम्त्याउँछ ।
त्यसैले रविको पार्टी भेल हो । केही समय भेल आयो भन्दैमा आत्तिने अवस्था छैन । यसअघि भगवान भनिएका उहाँमाथि अहिले प्रश्नैप्रश्न उठेको छ । नेपालमा कांग्रेस र कम्युनिस्टबाहेक अन्यको अस्तित्व रहँदैन । अबको दशक पनि यी दुई पार्टीले नेतृत्व गर्छन् ।

कहिलेकाहिँ हिउँदभरी खोलामा काइ परेको फोहोर र दुषित पानीलाई वर्षातको भेलले सफा गर्छ । राजनीतिमा पनि जनताले त्यही खोजिरहेका छन् कि ?

तपाईंको तर्क ठीक हो । तर नेपालको राजनीतिमा ठूलो भेल आउँदैन । तपाईंले रास्वपालाई संकेत गर्नुभएको होला । रास्वपा पहिले दर्ता गर्दा जुन उचाइमा थियो । अहिले त्यो घटेर धेरै तल झरिसकेको छ । उसका व्यवहार, उसका नीति, उसका क्रियाकलापले रविलाई धेरै तल झारिसकेको छ । जनताले प्रश्न गर्न थालिसकेका छन् । एउटा वा दुई चुनाव जित्दैनमा त्यसले सम्पूर्ण कुरा निर्धारण गर्दैन । केही सिट हार्दैमा पनि निर्धारण गर्दैन । त्यसैले भेललाई खोला देख्नुभएन । खोलालाई नै खोला देख्नुपर्यो ।

तपाईंले यी तर्क गरिरहँदा पुराना भनिएका दलहरूप्रति जनताको वितृष्णा देखिन्छ नि ?

वितृष्णा नभएको कहाँ छ ? अमेरिकामा वितृष्णा छैन ? अमेरिकी सरकारको नीतिप्रति त्यहाँका नागरिकमा वितृष्णा छैन ?
त्यहाँ त सिस्टमले चलिरहेको छ नि । नेपालमा सिस्टम पनि छैन । दलहरूको थिति बसेको पनि छैन ?
अमेरिकाको चुनावमा जस्तो अराजकता अन्त कतै देख्नुभएको छ ? अन्तिममा सबैलाई कानुनले समेटेर ल्याउने हो । केही समय अराजकता जस्तो देखिन्छ । विस्तारै यी हटेर जानेछन् ।

अमेरिकमा कानुन र सिस्टमका कारण पूर्वराष्ट्रपतिसमेत कानुनको परिधिमा आए । त्यहाँकै जस्तो सिस्टम नेपालमा कहिले बसाल्नुहुन्छ ?

सिस्टम त राजनीति स्थिरता सँगसँगै बन्दै जाने हो । राजनीतिलाई स्थिर हुनै नदिने अनि सिस्टम खोजेर कसरी हुन्छ ? यी दुवै सँगै हिड्ने विषय हो ।

त्यसोभए यो दशकमा त्यस्तो सिस्टमको कल्पना गर्न सक्छौं ?

एउटा प्रयास हो । कसले नेतृत्व गर्छ भन्नेले निर्धारण गर्छ । कुन इच्छाशक्तिले काम गर्छन् भन्ने कुरामा भर पर्छ । स्वदेशी तथा विदेशी शक्तिहरू कसरी भूमिका खेल्छन् भन्ने कुरा महत्पूर्ण छ । संसारको भूराजनीति कता जान्छ, त्यसले निर्धारण गर्छ । यी सबै कुराको ख्याल गरेर कति अगाडि बढ्न सक्छ त्यसमै भर पर्छ ।

एक्लै वकालत गरेर कुनै वरिष्ठ समाजसेवी, पत्रकार, अर्थशास्त्री, डाक्टर र इन्जिनियरले देश बन्ने होइन । यी सँगसँगै उसले सिस्टम पनि गु्रम गर्न सक्नुपर्छ । वर्षौं लगाएर विगारेको सिस्टम एकै पटक सुध्रिने होइन ।

भोलिको नेपाल पनि पुराना भनिएका यीनै दलले नेतृत्व गर्छ भन्ने तपाईंको दाबी हो ?

यो देशमा कांग्रेस र कम्युनिस्ट दुईवटा शक्ति निरन्तर रहिरहन्छ । ती कहिले टुट्छन् कहिले जुट्छन् । कुनै एजेण्डामा यी दुवै जुट्छन् । कुनै एजेण्डामा दुवै फुट्छन् । कांग्रेस पनि फुट्छ । कम्युनिस्ट पनि फुटिरहन्छन् ।

त्यो विकृति चाहिँ बढी कम्युनिस्टमा देखिएको छ हैन ?

हैन, फुटेका गैर कम्युनिस्ट पार्टी सबै कांग्रेसका बाइ प्रोडक्ट पार्टी हो यो कुरा नबिर्सनुस् । राप्रपाबाहेक अन्य सबै गैर कम्युनिस्ट पार्टी कांग्रेसका विकृतिका परिणाम हुन् । कम्युनिस्टहरूमा तपाईंले भनेजस्तो छन् । त्यसकारण विकृति कम्युनिस्टमा मात्र होइन कांग्रेसमा पनि छन् । कम्युनिस्टमा मात्र छ भन्ने कुरा सत्य होइन । कांग्रेस एउटै पार्टी भएर पनि पूर्णरूपमा फुटेको छ । त्यहाँ पनि देउवा र शेखरबीच लडाईं छ । एउटा रूख चिन्ह छ । चार तारे झण्डा छ । त्योबाहेक सबै भिन्नभिन्न छन् ।