NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

समाजवादी मोर्चा गठनको अन्तिम तयारीमा प्रचण्ड, माधव र उपेन्द्र

काठमाडौं । भविष्यमा पार्टी एकता गर्ने रणनीतिसहित चार राजनीतिक दलले तत्कालका लागि समाजवादी मोर्चा निर्माण कार्यले वैशाख १० को निर्वाचनपछि मूर्तरूप लिने नेताहरूले दाबी गरेका छन् ।

समाजवादी मोर्चाबारे माओवादी, एकीकृत समाजवादी, जसपा र नेसपाबीच सैद्धान्तिक सहमति भइसकेको र घोषणा हुन मात्रै बाँकी रहेको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

यसबीचमा सरकार फेरबदल, राष्ट्रपति, प्रधानमन्त्री, सभामुखको निर्वाचन, सरकारको नीति तथा कार्यक्रम, उपनिर्वाचनको तयारीका कारण मोर्चा गठन प्रक्रिया रोकिएको उनको जिकिर छ ।

‘तत्काल हाम्रो पार्टीसहित माओवादी केन्द्र र जसपासँग समाजवादी मोर्चा बन्छ । यसको उदेश्य संसदमा सशक्त भूमिका खेल्ने हो । पार्टी एकता अहिले सम्भव छैन । भविष्यमा प्रयास जारी रहन्छ’, उनले भने ।

फागुनको अन्तिम साता प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही दिनमै समाजवादी मोर्चा गठन हुने खुलासा गरेका थिए । समाजवादी मोर्चाकै जगमा वृहत्त वामपन्थी शक्ति निर्माण गर्ने प्रचण्डको जिकिर थियो ।

माओवादीबाट वार्ता टोलिका सदस्य रहेका नेता गिरिराजमणि पोखरेलले पनि उपनिर्वाचनपछि समाजवादी मोर्चा बन्ने जिकिर गरे । उनले विचारमिल्ने शक्तिबीच पार्टी एकता गर्ने पहल भइरहेपनि तत्काल नेसपासँग पार्टी एकता हुने दाबी गरे ।

‘हामीले पूर्वमाओवादी घटकसहित विचार मिल्ने वामपन्थी दलसँग पार्टी एकताको पहल जारी राखेका छौं । विप्लवजीसँग प्रधानमन्त्री आफैले छलफल गरिरहनुभएको छ । बाबुराम नेतृत्वको नेसपासँग पार्टी एकता हुन्छ’, पोखरेलले भने, ‘एकीकृत समाजवादी र जसपाबीच तत्काल पार्टी एकता सम्भव नभएपनि समाजवादी मोर्चा बनाउन सहमति भएको छ ।’

जसपा सहअध्यक्ष राजेन्द्र श्रेष्ठले पनि समाजवादी मोर्चा निर्माणको प्रक्रिया निकै अगाडि बढेको बताए । विचार मिल्ने शक्तिबीच पार्टी एकता गर्ने प्रयास तत्काल सफल नभएको उनले स्वीकार गरे । यद्यपि मोर्चाको जगमा पार्टी एकता गर्ने प्रयास जारी रहने उनको भनाइ छ ।
‘विचार मिल्ने शक्तिबीच मिलेर जाने विषयमा कुनै विवाद छैन । विविध कारणले मोर्चा गठन गर्न ढिलाइ भएको हो । उपनिर्वाचनपछि मोर्चा गठन हुन्छ,’ उनले भने ।

समाजवादी पार्टी खोल्ने लहर

२०७४ को निर्वाचनपछि वामपन्थी दलहरूमा समाजवादी पार्टी खोल्ने लहर नै चलेको छ । नेपालको संविधान २०७२ को प्रस्तावनामै समाजवादप्रति प्रतिवद्ध रही समृद्ध राष्ट्रनिर्माण गर्ने उल्लेख भएकाले लोकतान्त्रिक गणतन्त्रवादीका सबैको लक्ष्य एउटै देखिन्छ ।

देशकै सबैभन्दा पुरानो दल नेपाली कांग्रेसको ‘स्लोगन’ नै राष्ट्रियता, लोकतन्त्र र समाजवाद रहेको छ । त्यसैले कांग्रेसले पनि आफूलाई समाजवादी पार्टी भएको दाबी गर्दै आएको छ ।

नेपालमा साम्यवादी मुलुक घोषणा गर्न सशस्त्र विद्रोह गरेको माओवादी र मदन भण्डारीको जबजबाट मुलुकलाई साम्यवादी बनाउन लागि परेका एमालेसम्म सबैको तत्कालीन लक्ष्य समाजवादमा जाने देखिन्छ । समाजवादमा जाने कांग्रेस र कम्युनिस्टको लक्ष्य एउटै भएपनि बाटो फरक–फरक छन् ।

खासगरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुस, २०७७ मा संसद विघटन गरेपछि दलहरू भत्किने र नयाँ बन्ने क्रममा तिव्रता आयो । त्यतिबेला सत्ताको नेतृत्व गरिरहेका नेकपासमेत विभाजनबाट अछुतो रहेन । सर्वोच्च अदालतको आदेशबाट विघटनपछि बनेको एमालेसमेत फुट्यो ।

सत्ता समीकरणको फेरबदलले मधेस केन्द्रित दलहरूसमेत प्रभावित भए । जसपा तीन टुक्रामा विभाजित भयो । अहिले जसको नेतृत्व उपेन्द्र यादवले गरिहेका छन् । जसपा विभाजित भएर बनेको दल लोसपाको नेतृत्व महन्थ ठाकुरले गरेका छन् । बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी राखेका छन् ।

एकातिर कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, तत्कालीन एमालेका माधव नेपाल समुह, जसपासहित पाँच दल एकातिर भए । एमाले एक्लियो । त्यो क्रम अहिले पनि जारी छ । एकअर्कालाई अग्रगामी र प्रतिगामी शक्ति भएको आरोप प्रत्यारोपकाबीच २०७९ मा भएको तीनै तहको आवाधिक निर्वाचनमा होमिए ।

मंसिरमा भएको निर्वाचनको शेरोफेरोमै सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, नेकपा एस, जसपा, नेसपाबीच समाजवादी गठबन्धन गरी एउटै निर्वाचन चिन्हमा चुनावमा भाग लिने तयारीसाथ छलफल गरे । तर निर्वाचनपछि पार्टी एकता गर्नेगरी तत्काल चुनावी तालमेल गरी निर्वाचनमा सहमति गरे । वामपन्थी एकता र समाजवादी मोर्चा गठन गर्ने सम्बन्धमा छलफल जारी राखे । भट्टराई नेतृत्वको नेसपाले मात्र माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचनमा भाग लियो ।

निर्वाचन परिणामले कांग्रेस पहिलो दल भयो । तत्कालीन सत्ता गठबन्धनको लक्ष्य निर्वाचनबाट एमालेलाई पत्तासाफ बनाउने थियो । तर गठबन्धनले सोचेअनुसार एमाले कमजोर नभएपछि गठबन्धनको राजनीतिलाई जारी राखेका छन् । सत्ता गठबन्धनमै रहेका वामपन्थी घटक मिलेर संसदमा सशक्त भूमिका खेल्ने रणनीतिमा प्रचण्ड–माधव रहेका छन् ।