NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

देशको कर्मचारीतन्त्र चलाउनेलाई किताबबाट मापन गरिन्छ, यो पनि तरिका हो ?

काठमाडौं । काठमाडौंमा बस्दै आएका इसान मैनाली यहीं जन्मिए र हुर्किए । बच्चादेखि नै उनले पटक पटक सुन्दै आएको वाक्य हो – नेपालको शिक्षा सिमित छ ।

बाल्यवस्थादेखि नै यो कुरा सुनेपछि उनले सपना बुन्न थालेका थिए, उच्च शिक्षाका लागि विदेशमै जाने । यसबारे योजना बनाउँदा नै उनले कल्पना गरिसकेका थिए – नयाँ भूगोल, नयाँ परिवेश र विभिन्न मुलुकबाट आएका अन्तर्राष्ट्रिय विद्यार्थी तथा शिक्षकको सामिप्यमा आफ्ना सिकाइका दायरालाई फराकिलो बनाउने ।

प्लस टुको पढाइ सकिएपछि मानवशास्त्रमा स्नातक गर्नका लागि उनी अमेरिका पुगे । त्यहींको लिबरल आट्र्स कलेजबाट स्नातक पूरा गरेपछि उनी नेपाल फर्किएका हुन् ।

नेपाल फर्किएपछि अनलाइनकै माध्यमबाट विद्यार्थीहरूलाई अंग्रेजी र नेपाली विषय पढाउन थाले । अमेरिकामा मानवशास्त्र पढ्दा उनी आफूले भाषाको महत्त्व र कसरी पढाउने भन्ने तरिकाबारे पनि दख्खल राख्ने भइसकेको बताउँछन् । योसँगै उनी अमेरिकी बजारमा नेपाली चिया विक्रि पनि गरिरहेका छन् । अमेरिकी कम्पनीमा उनी यहीं बसेर काम गरिरहेका छन् ।

हिजोआज शिक्षण पेशामा रूची देखाउने युवाको संख्या घट्दो छ । यो भिडमा अपवाद बनेका मैनालीको रोजाइमा शिक्षा नै कसरी पर्यो ? भन्ने प्रश्नमा शिक्षण पेशा अनवरत चल्नेमा उनी ढुक्क सुनिए । ‘समाजमा हरेक कुरा परिवर्तन भइरहेका छन् । तर पढ्ने र पढाउने कुरा हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहनेछ,’ उनले भने ।

तर पढाउने तौरतरिका भने अब परिवर्तन गर्नुपर्ने उनको हुटहुटी छ । उनका हजुरबुबाले सरकारी सेवा गरे । लोकसेवाका मोटा मोटा किताब रटेरै पास गरे । अहिले उनको उमेरका साथी पनि लोकसेवा पास गर्न त्यही गर्दैछन् । सामान्य आँखाको दृष्टिले पनि राम्ररी नभ्याउने अक्षरमा कुँदिएका शब्द घोक्दैछन् ।

देशको कर्मचारीतन्त्र जस्तो स्थायी सरकार हाक्ँने व्यक्तिलाई किताबको साइजको आधारमा मापन गरिएको देख्दा उनी सन्तुष्ट छैनन् । ‘हाम्रो देशको ब्यूरोक्रेसी चलाउने मान्छेलाई त्यसरी मापन गरिन्छ भने हाम्रो देश कस्तो ?,’ उनी प्रश्न गर्छन् ।

अब यस्ता मापनको विधिसँगै पढाउने तरिका पनि फेरिनुपर्नेमा उनको जोड छ । ‘सबैले पेपरर लेखेरै पास गर्छन् भन्ने छैन । कसैलाई भिडियोको माध्यमबाट त कसैलाई बोलीको माध्यमबाट,’ यस्तो किसिमको शिक्षा नेपालमा पनि लागू गरिनुपर्ने उनी बताउँछन् ।

मैनालीसँग लिबरल आर्टस् शिक्षाको महत्त्व, परम्परागत अवस्थाबाट बाहिर निस्किनुपर्ने आवश्यकतालगायतका विषयबारे कार्यक्रम प्रस्तोता तथा किङ्स कलेजका प्रधानाध्यापक नरोत्तम अर्यालले विस्तृत संवाद गरेका छन् । मैनालीसँग गरिएको संवादको पूरा भिडियो तल भिडियोमा हेर्न सक्नुहुनेछ ।