NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

चितवन–२ मा पराजय हुने देखिएपछि रविसँग मतान्तर घटाउने रणनीतिमा एमाले र कांग्रेस

काठमाडौं । चितवन–२ मा आइतबार हुने निर्वाचनमा रास्वपाका सभापतिसमेत रहेका उम्मेदवार रवि लामिछानेप्रति मतदाताको आकर्षण नघटेपछि विपक्षी एमाले र कांग्रेसले मतान्तर घटाउने रणनीति बनाएका छन् ।

नागरिकता प्रकरणमा सर्वोच्च अदालतबाट लामिछाने दोषी प्रमाणित भएपछि यसैलाई मुद्दा बनाएर कांग्रेस र एमाले निर्वाचनमा होमिएका थिए । उम्मेदवार मनोनयन दर्ताको अघिल्लो दिन चैत १९ गते लामिछाने विरूद्ध फेरी राहदानी दुरूपयोगसम्बन्धी मुद्दा परेपछि प्रतिस्पर्धीलाई चुनावी प्रचारका लागि बलियो हतियार बन्यो ।

यहीबीचमा रास्वपाका समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गाप्रसाईंसँग २ करोड घुस मागेको अडियो सार्वजनिक भएपछि लामिछानेमाथि गम्भीर प्रश्न उठेको थियो । श्रेष्ठले अडियोमा रविको कोर टिमलाई २ करोड बुझाएमात्र मन्त्री बन्न पाउने भन्दै प्रसाईंसँग सहयोग मागेका थिए । उक्त अडियो सार्वजनिक भएसँग रविले श्रेष्ठलाई कारवाही गरे भने कोर टिमबारे मौन बसे ।

निर्वाचनको तयारी गरिरहेकै बेला ३२ दिन गृह मन्त्रालयको नेतृत्वमा रहेका लामिछानेले ठेकेदारको सेटिङमा सार्वजनिक खरिद ऐनविपरीत कार्यविधि ल्याएर ठेक्का दिलाएको समाचार बाहिरिएपछि विपक्षीहरू निकै हौसिएका थिए । सोमबार चितवनस्थित लामिछानेको घरको छतबाट उनका चालक खसेर गम्भीर घाइते भएपछि कांग्रेस र एमालेले यस घटनालाई राम्रै मसला बनाएका थिए ।

लामिछानेमाथि लागेका यी सबै आरोपबाट उपनिर्वाचनमा उनी पराजित हुने अनुमान प्रतिस्पर्धी उम्मेदवारहरूको थियो । तर चितवनका जनताले राज्यको मिलिभगतमा लामिछानेलाई फसाउन ल्याइएको प्रपञ्चका रूपमा बुझे । लामिछानेमाथि विकर्षण बढ्नुको साटो आकर्षण बढ्दै गएपछि एमाले र कांग्रेसले भित्रिरूपमा हार स्वीकारेका छन् । रास्वपाले बिहिबार चितवनमा गरेकाे चुनावी सभामा देखिएकाे भिडले पनि रविप्रतिकाे आकर्षण देखाउँछ । यद्यपि बाहिर आफूले जित्ने दाबी गर्दै आएका छन् । भित्रभित्रै लामिछानेले मंसिरमा भएको निर्वाचनमा पाएको मतान्तर घटाउने रणनीति बनाएका छन् ।

अघिल्ला पटक लगातार तीनवटा निर्वाचन जितेको एमाले कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा आफूले नेतृत्व गर्ने तथा भरतपुर महानगरपालिकाका १० वडामा मतान्तर घटाउने गरी चुनावी अभियानलाई तिव्रता दिएका हुन् । चितवनका इन्चार्जसमेत रहेका केन्द्रीय सदस्य देवी ज्ञावालीले अघिल्लो निर्वाचनको तुलनामा योपटक एमालेको जनमत राम्रो रहेको दाबी गरे । यसअघि चितवनका जनताले लामिछानेलाई हेर्ने दृष्टिकोण योपटक फेरिएको उनले जिकिर गरे ।

‘मंसिरको चुनावमा रविलाई भगवान जस्तै मानेका थिए । तर नागरिकता, राहदानी, घुस लेनदेन र गृहमन्त्री भएको एकमहिनामा उनले गरेका कामले उनी को हुन् भन्ने चितवनका जनताले योपटक राम्रोसँग बुझेका छन् । योपटक पहिलाको जस्तो भोट रविले पाउने छैनन्’, ज्ञवालीले दाबी गरे ।

मंसिरको निर्वाचनमा रवि ४९ हजार ३०० मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए । एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मतसहित तेस्रो स्थानमा खुम्चिएका थिए । यहाँ रविको श्रेष्ठसँग मतान्तर ३४ हजार ३१२ रहेको छ भने पोखरेलसँग ३४ हजार ६४८ रहेको छ ।

योपटक रविको प्रतिस्पर्धीका रूपमा कांग्रेसबाट पूर्वसभापति जितनारायण श्रेष्ठ रहेका छन् । एमालेबाट अध्यक्ष रामप्रसाद न्यौपनो उम्मेदवार रहेका छन् । यी दुवै उम्मेदवारले निर्वाचन आफूले जित्ने दाबी गरेका छन् । आफू स्थानीय र युवा भएको, जानताको दुःखसुखमा सारथी रहेकाले पनि लामिछानेको भन्दा बढी मत आउने उनीहरूको दाबी छ ।

एमालेको रणनीति रविलाई पराजित गर्न नसकेपनि ३० हजार मत कटाउने गरी चुनावी तयारी गरेको छ । कालिका र इच्छाकामनामा २० हजार बढी आएने एमालेको अनुमान छ । भरतपुर महानगरपालिकामा विशेष अभियानबाट १० हजार बढी मत आउने एमालेको दाबी छ । रविविरूद्ध तत्कालै जित्नै निकाल्न नसकेपनि ठूलो अंकमा मतान्तर घटाउन सके नैतिक विजय हुने एमालेका नेताहरूले बताएका छन् ।