NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

‘अडिसन’ बाट कसरी छनोट हुन्छन् कलाकार ?

काठमाडौं । चलचित्रको प्रमुख आकर्षण नै कलाकार हुन्छन् । त्यसैले पोस्टरमा उनीहरूलाई प्रस्तुत गर्ने गरिन्छ । चलचित्रमा देखिने कलाकारले ती भूमिका कसरी पाउने गर्छन् ? वा निर्देशकले चरित्र चयन कसरी गर्ने गरेका छन् ? विदेशी चलचित्रमा कलाकार छनोट गर्ने निकाय नै हुन्छ ।

उनीहरूले नै कथा पढेर पात्रअनुसार कलाकार सुझाव दिने गर्छन् । यद्यपी नेपालमा त्यस्तो छैन । निर्देशक आफैँले छनोट गर्ने गरेका छन् । केही समययता कलाकार छनोट गर्न पनि निर्देशक राखिन्छ । उनीहरूलाई चलचित्रको भाषामा ‘कास्टिङ डिरेक्टर’ भनिन्छ । पात्र सुहाउँदो कलाकारको लागि अडिसन पनि लिने गरिन्छ ।

पात्रको गाउँ, स्वभाव, वर्णदेखि शिक्षा र हाउभाउसमेत पात्र छनोट गर्ने निर्देशक वा चलचित्रको निर्देशकले तय गर्छन् । नेपालमा चलचित्रका लागि कलाकार छनोट र भूमिकामा पात्र चयन केही वर्षयता प्रक्रियागतरूपमै हुन् थालेको निर्देशक दिनेश राउतले बताए । उनी निर्देशित पछिल्लो चलचित्रमा पात्रअनुसार कलाकार छनोट गर्ने दायित्व रङ्गकर्मी अनुप बराललाई दिइएको थियो।

‘सुरुआती समयमा म निर्देशनमै केन्द्रित रहेँ । म बजार र निर्माताअनुसार प्रस्तुत भए तर पछिल्लो चलचित्र ‘प्रसाद’ र ‘प्रकाश’मा मैले सम्पूर्ण जिम्मेवारी छुट्याएर काम गरेको छु’, निर्देशक राउतले भने ‘अहिले चलचित्र निर्माण शैली फेरिएको छ । यो कलाकार चाहियो पनि भन्न सक्छौँ । केही कलाकार अडिसनमार्फत नै छनोट गरेको छु ।’ उनले चलचित्र ‘प्रकाश’ मा अभिनेत्रीमा रेणु योगीलाई अडिसनमार्फत नै चयन गरेका हुन् ।

कलाकार महेश त्रिपाठी अडिसन दिन हिच्किचाउनु हुँदैन । उनी आफू उक्त चरित्रमा उपयुक्त हुने वा नहुने मापन नै अडिसनले गर्ने बताए। ‘अलि कति नाम चलेपछि अडिसन दिन हामी आनाकानी गर्छौं तर हामीले पात्रलाई जाच्ने नै त्यहीँ प्रक्रियामार्फत हो । त्यसले हाम्रो अभिनय क्षमतालाई नभई पात्रलाई हेरिने भएकाले म तयार हुन्छु’, अभिनेता त्रिपाठीले भने, ‘मैले चलचित्र निर्माण गर्ने समूह हेरेर भने अडिसन दिने गरेको छु । विदेशी चलचित्रमा अडिसन दिएर नै काम गरेको छु ।’

नेपालमा लिइने अडिसन धेरैजसो देखावटी हुने अभिनेत्री विनिता थापामगरले बताइन् । उनले पनि प्राय काम अडिसनमार्फत नै पाएकी छन् तर उनको अनुभव राम्रो छैन । ‘पहिले कलाकार तय गरेर देखावटी अडिसन गर्ने पनि पाएकी छु । त्यसैले अडिसन दिन जाँदा सबै बुझेर मात्र जान्छु । यो त पात्रमा सुहाउँदो कलाकारलाई अवसर हो तर यहाँ भौगोलिक भिन्नता देखिने कलाकारलाई पनि छनोट गरिन्छ’, अभिनेत्री थापामगरले भनिन् । दशक अगाडि अडिसन गर्ने प्रक्रिया बढेको थियो । किनकि नयाँ अनुहार चलचित्रमा देखिन थालेका थिए ।

कलाकारले अडिसन दिन हिच्किचाउने कारण नै यो प्रक्रिया घटिरहेको निर्देशक विक्रम सापकोटाले बताए । उनले चलचित्र निर्माण गर्ने क्रममा केही कलाकारलाई अडिसनको लागि अनुरोध गर्दा नमानेको सम्झिए । ‘मैले चलचित्रका केही प्रसिद्ध कलाकारलाई आग्रह गर्दा मान्नु भएन । त्यसपछि रङ्गमञ्चमा रहेका कलाकारको अडिसन लिएर छनोट गरेको हो’, उनले भने । कलाकारले पाएको भूमिकामार्फत निर्देशक र लेखकको सोचलाई पर्दामा देखाउने भएकाले पनि यो महत्वपूर्ण विषय हो तर नेपाली चलचित्रमा लेखिएको पात्रको स्वरूप चलचित्र भवनमा हुने व्यापारकै आधारमा तय हुनेगरेको छ । बेलाबखतमा विभिन्न भूमिकाका लागि अडिसन गर्ने गरिन्छ तर त्यस्तो प्रक्रियाबाट पर्दासम्म आइपुग्ने कलाकारको सङ्ख्या र पर्दामा हुने महत्त्व निकै कम छ ।

ताजा अपडेट

नेपालवाच विशेष