NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

उपनिर्वाचन : दुवै पक्ष हार्न नचाहेको पुराना र नयाँबीच प्रतिष्ठाको लडाईं

काठमाडौं । तनहुँ–१, चितवन–२ र बारा–२ मा प्रतिनिधिसभा सदस्यका निर्वाचनका लागि जारी मतदान दलहरूको सहमतिमा आइतबार बेलुकादेखि नै मतगणना सुरू गर्ने निर्वाचन आयोगको तयारी छ ।

उपनिर्वाचन भएपनि यो निर्वाचनलाई पुराना पुस्ता र नयाँ पुस्ताबीच रोचक भिडन्तका रूपमा हेरिएको छ । एकातिर कांग्रेससहित सत्ता गठबन्धन र विपक्षी एमाले पुराना पुस्ताको नेतृत्व गर्दै विरासत जोगाउन यो निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन् ।

अर्कोतिर नयाँ पुस्ताको नेतृत्व गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले मतमार्फत बौद्धिक विद्रोहको रूपमा निर्वाचनलाई प्रतिष्ठा बनाएको छ ।  तीनवटा निर्वाचन क्षेत्रको चुनावी मैदानमा अहिले ६९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये कांग्रेस, एमाले, रास्वपा र जसपाका उम्मेदवारबीच नै मूख्य प्रतिस्पर्धा हुने देखिन्छ । पुराना र नयाँबीच प्रतिष्ठाको लडाईंमा दुवै पक्ष हार्न नचाहेको रूपमा यस उपनिर्वाचनलाई हेरिएको छ ।

यसैगरी सबैले चासोका साथ हेरिएको चितवन–२ का केही मतदान केन्द्रमा स्थगित मतदान रास्वपाका उम्मेदवार रवि लामिछानेले माफी मागेपछि पुनः सुचारू भएकोे छ । अन्य क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

तनहुँ–१ मा गठबन्धनबाट कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेले चुनौती दिएका छन् । विपक्षी एमालेले सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ ।

यी क्षेत्रमा तीन जना उम्मेदवार नै नयाँ अनुहार भएपनि एमालेका उम्मेदवार खनाल जनताबाट परिक्षण भइसकेका उम्मेदवार हुन् । मंसिरमा भएको निर्वाचनमा उनी काठमाडौं–६ बाट रास्वपाका उम्मेदवार शिशिर खनालसँग भारी मतान्तरले पराजित भएका थिए । नेपाल प्रहरीका पूर्वआइजिपीसमेत रहेका उनी ३० वर्षे अनिवार्य अवकास पाएर निर्वाचनको मुखमा एमाले प्रवेश गरेका हुन् ।

भट्टराई र वाग्ले कांग्रेस पृष्ठभूमिका नयाँ र आशालाग्दा उम्मेदवार हुन् । कांग्रेसका केन्द्रीय सदस्य रहेका भट्टराई तनहुँलाई केन्द्रविन्दू बनाएर चार दशक राजनीति गरेका अनुभवि व्यक्ति हुन् । यस क्षेत्रका निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि भट्टराईले अवसर पाएका हुन् ।

अमेरिका, बेलायत, अष्ट्रेलियका विश्वविद्यालयबाट अर्थशास्त्रम विद्यावारिधी गरेका वाग्ले विश्व बैंक र एडिबीमा लामो सयम काम गरेका अनुभवी व्यक्ति हुन् । उनी भर्खरमात्र कांग्रेसबाट विद्रोह गरी रास्वपा प्रवेश गरेका हुन् । २०४८ देखि कांग्रेसको गढ मानिएको सो क्षेत्र यसपटक आफूले तोड्ने वाग्लेले दाबी गरेका छन् ।

यसैगरी चितवन–२ मा रास्वपाका सभापतिसमेत रहेका रवि लामिछाने जनताबाट परिक्षण भइसेका उम्मेदवार हुन् । गएको निर्वाचनमा सोही क्षेत्रबाट रविले कांग्रेका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार ३१२ को भारी मतान्तरले पराजित गरेका थिए । तर नागरिकता प्रकरणमा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि उनी पदमुक्त भएका हुन् । योपटक अघिल्लो निर्वाचनको भन्दा राम्रो नतिजा ल्याई विजयी हुने उनको दाबी छ । उनलाई योपटक गठबन्धनबाट कांग्रेसका जितनारायण श्रेष्ठले चुनौती दिएका छन् ।

चितवन कांग्रेसका पूर्वसभापतिसमेत रहेका उनी नयाँ अनुहार हुन् । एमालेबाट उम्मेदवार रहेका रामप्रसाद न्यौपाने पनि नयाँ अनुहार हुन् । एमाले चितवनका अध्यक्षसमेत रहेका युवामाझ लोकप्रिय छन् । यसअघि तीन पटकसम्म लगातार निर्वाचित भएका कृष्णभक्त पोखरेल ब्याक भएपछि न्यौपालेले अवसर पाएका हुन् ।

त्यस्तै बारा–२ मा गठबन्धनबाट जसपाका अध्यक्षसमेत रहेका उपेन्द्र यादव जनतामाझ पटक–पटक परिक्षण भएका उम्मेदवार हुन् । २०६३ को मधेस विद्रोहबाट राजनीतिमा स्थापित भएका उनी २०६४, २०७० र २०७४ को निर्वाचनमा विजयी भएका थिए । गएको निर्वाचनमा सप्तरी–२ बाट जनमत पार्टीका उम्मेदवार डा. सीके राउतसँग भारी मतान्तरले पराजित भएका थिए ।

बारा–२ बाट निर्वाचित आफ्ना विश्वासिला सांसद रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर उनी दोस्रो प्रयासमा संसद प्रवेश गर्न लागेका हुन् । उपप्रधानमन्त्रीसहित पटक–पटक मन्त्री भएका उनलाई दोस्रो हारबाट जोगिदै आफ्नो विरासत जोगाउनुपर्ने बाध्यता छ । यादवलाई चुनौती दिँदै सत्ता घटक जनमत पार्टीले शिवचन्द्र कुशवाह चुनावी मैदानमा छन् ।

कुशवाह नयाँ अनुहार नभएपनि आफूले निर्वाचन जित्ने दाबी गरेका छन् । माओवादी केन्द्र परित्याग गरी उपनिर्वाचनको मुखमा जपा प्रवेश गरेका उनी आफूले जित्ने दाबी गरेका छन् । उनको चुनाव जित्ने बलियो आधार माओवादी परित्याग जपा प्रवेशलाई लिएको छ । अघिल्लो निर्वाचनमा जसपाका उम्मेदवार रामसहायसँग झिनो मतान्तरले पराजित भएका थिए । योपटक माओवादीले यादवलाई समर्थन गरेपछि उनले पार्टी परित्याग गरेका हुन् । विपक्षी एमालेबाट पूर्वमन्त्री पुरुषोत्तम पौडेलले यादवलाई चुनौती दिएका छन् ।

राजनीतिमा परिचित अनुहार भएपनि यहाँ उनी नयाँ अनुहार हुन् । रास्वपाले पूर्वडीआइजी तथा सुशासन पार्टीका अध्यक्ष रमेश खरेललाई उम्मेदवार चुनावी मैदानमा छन् । बारा–२ मा उनी नयाँ अनुहार भएपनि जनताबाट परिक्षण भएका उम्मेदवार हुन् । गएको निर्वाचनमा उनी काठमाडौं–१ बाट पराजित भएका थिए । कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह विजयी हुँदा उनी तेस्रो स्थानमा पुगेका थिए । दोस्रोमा झिनो मतान्तरले राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका रवीन्द्र मिश्र पराजित भएका थिए ।

तीन क्षेत्रको मात्र उपनिर्वाचन भएपनि यो निर्वाचनलाई सबैले धेरै महत्वकासाथ हेरेका छन् । भट्टराई र यादव विरासत जोगाउन प्रतिस्पर्धा गरिरहेका छन् । लामिछाने विरासत कायमै राखी नयाँ र्कीतिमान कायम राख्न प्रयासरत छन् । एमाले र जनमत परिणाम उल्टाउने रणनीतिमा छन् ।