NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

कांग्रेसको गढ तनहुँमा कसरी पाए स्वर्णिमले लोकप्रिय मत ?

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि तीन क्षेत्रमा आइतबार भएको उपनिर्वाचनको नतिजा आउनेक्रम जारी छ । पछिल्लो मतपरिणामअनुसार तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले सुरूवाती अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

दिउँसो १ बजे सम्मको मतपरिणाम आउँदासम्म वाग्ले १२ हजार ७०५ मतसहित अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई ७ हजार ६४७ मतसहित पछ्याईरहेका छन् ।

यसैगरी एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ४ हजार २२० मत पाएका छन् । वाग्ले निकटतम प्रतिद्वन्द्वीभन्दा ५ हजार ५८ मतान्तरले अगाडि छन् । एमालेका उम्मेदवारले पाएको भन्दा उनी ८ हजार ४८५ ले बढी हो ।

मतपरिणाम हेर्दा वाग्लेका प्रतिस्पर्धी कांग्रेस र एमालेका उम्मेदवारले पाएको जम्मा मत ११ हजार ८६७ रहेको छ । प्रतिस्पर्धी दुवै उम्मेदवारको मत जोड्दासमेत वाग्ले ८३८ मतले अगाडि छन् ।

वाग्ले तीनै व्यक्ती हुन जसले ५० वर्ष लामो कांग्रेसको पारिवारिक विरासत तोड्दै निर्वाचनको मुखमा रास्वपा प्रवेश गरेका थिए । तनहुँ–१ को प्रारम्भिक नतिजा हेर्दा रास्वपाले परम्परागत दल कांग्रेस र एमालेलाई धक्का दिने देखिन्छ ।

विश्वको अर्थराजनीतिबारे गहिरो ज्ञान भएका वाग्लेको व्यक्तित्व, रास्वपाप्रति देखिएको जनलहर, कांग्रेसभित्रको आन्तरिक कलह र गठबन्धन दल र विपक्षी एमालेको रणनीतिका कारण योपटक कांग्रेसलाई ठूलो धक्का लाग्ने देखिन्छ ।

चितवन–२ र बारा–२ मा पनिमतगणना सुरू भइसकेको छ । उपनिर्वाचनले वर्तमान सत्तासमीकरणमा खासै असर नगरेपनि २०८४ को मध्यावधिमा दलहरूलाई खतराको घन्टी बज्ने स्पष्ट संकेत गरेको छ । यस निर्वाचनले नयाँलाई अवसर दिएको छ । पुरानालाई विश्राम लिन सन्देश दिएको देखिन्छ ।

जनमतले गठबन्धनको संस्कृतिलाईसमेत अस्वीकार गरेको देखिन्छ । दलीय सिन्डिकेट, आन्तरिक अन्तर्विरोध र सत्ता स्वार्थ राजनीतिप्रतिको वितिष्णा जनमतबाट शान्तिपूर्ण विद्रोह खोजेको संकेत पनि यो निर्वाचनले देखाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्रसमेत रहेको तनहुँ–१ कांग्रेसको गढ मानिन्छ । २०४८ को निर्वाचनदेखि अपराजित यात्रा तय गरेका पौडेल २०७४ को निर्वाचनमा आन्तरिक कलहका कारण पराजित भए । त्यतिबेला गोविन्दराज समूहलाई कांग्रेसले विश्वासमा लिन नसक्दा कांग्रेसको गढमै एमाले विजयी भएको थियो । मंसिरमा भएको निर्वाचनमा कांग्रेस, माओवादीसहितको समर्थनमा विजयी भएका पौडेल २५ फागुनमा राष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो । तर आफ्नो गढ मानिएको क्षेत्रमै वाग्लेले लोकप्रिय मत पाएपछि कांग्रेसभित्र खैलाबैला मच्चिएको छ । गठबन्धन बनाएर निर्वाचनमा भाग लिँदासमेत वाग्ले झण्डै दोब्बर मतले अग्रता लिएपछि गम्भीर चुनावी समीक्षा गर्नुपर्ने पक्षमा कांग्रेसका युवा नेताहरू रहेका छन् ।

चुनावी परिणामबारे यस्तो छ कांग्रेस नेताहरूको प्रतिक्रिया

कांग्रेसभित्रको आन्तरिक कलह, गठबन्धन दलको असहयोग, विपक्षी एमालेसँग रास्वपाको तालमेलले कांग्रेसका उम्मेदवार पराजित हुने अवस्थामा पुगेको सहमहामन्त्री जीवन परियारको आरोप छ । चुनावी परिणाम जेजस्तो आएपनि त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुको विकल्प नभएको उनको भनाइ छ ।

‘उम्मेदवारको बारेमा पार्टी भित्र कुनै समस्या थिएन । चुनावमा गठबन्धनबाट शतप्रतिशत सहयोग भएन भन्ने सूचना आएको छ । अर्कोतिर कांग्रेसलाई हराउन एमालेले पनि रास्वपालाई सहयोग गरेको देखियो’, उनले भने, ‘गोविन्दराज जोशी समूहले स्वतन्त्रलाई नै भोट मागेको हो । हामीप्रति जनताको वितिष्णा पनि छ । यी सबै कारणले कांग्रेसलाई धक्का लागेको देखिन्छ । निर्वाचनपछि गम्भीर समीक्षा गरेर अगाडि बढ्नुको विकल्प छैन ।’

वाग्लेले पार्टीसँग सल्लाह नै नगरी पार्टी छाडेकोमा असन्तुष्टी जनाउँदै उनले गुपचुप भाग्नेप्रति कुनै टिप्पणी नभएको बताए । उपनिर्वाचनको परिणामले आगामाी निर्वाचनमा खतराको घन्टी बज्छ वा बज्दैन भन्ने सम्बन्धमा त्यतिबेला जनताले नै मुल्याङकन गर्ने उनको भनाइ छ । नयाँ भनिएका दलहरूको चरित्रको सम्बन्धमा पनि विभिन्न कर्तुतहरू बाहिरिएका छन् । ३२ दिन सत्तामा बस्दा रास्वपाका सभापतिले के गरे सबैलाई जगजायरै छ । यसबारे छानविन भइरहेको छ, सत्यतथ्य बाहिरिएला पनि’, उनले भने ।

नयाँ वा पुराना दल जे भनिएपनि जनताको भावना अनुसार काम गर्न नसके अबको राजनीति सजिलो नभएको उनको टिप्पणी गरे ।
यसैगरी युवा नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ का सांसद प्रदीप पौडेल रहेका छन् । जनताको अभिमतको आधारमा अबका दिनमा कांग्रेसले आफूलाई करेक्सन गर्नुपर्ने बताए ।

‘जनताको अभिमतको आधारमा आफूलाई करेक्सन गर्नुपर्छ । मध्यावधि धारणा अध्यावधि गर्नुपर्छ । उपनिर्वाचनको मतपरिणामबाट हामीप्रति जनताको प्रश्न के रहेछ भन्नेबारे नेतृत्वले गहिरिएर सोच्नुपर्छ’, नेपावाचसँग संक्षीप्त कुराकानी गर्दै पौडेलले भने ।

नेविसंघका पूर्वअध्यक्षसमेत रहेका उनी तनहुँका हुन् । चुनावको दौरानमा उनी अहिले मतगणना स्थलमै रहेका छन् । गतवर्ष भएको कांग्रेसको १४ महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार रहेका उनी पराजित भएका थिए । २०७४ को निर्वाचनमा तनहुँ–२ मा झिनो मतान्तरले पराजित भएका पौडले योपटक काठमाडौं–५ बाट निर्वाचित भए । कांग्रेसको संसदीय दलको निर्वाचनमा महामन्त्री गगन थापालाई मतदान गरेका उनी कांग्रेस रूपान्तरणको पक्षमा रहेका छन् ।