NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

हरिले नहेरेपछि उपचुनावमा कांग्रेसको हरिबिजोग, गगन र विश्वप्रकाशमाथि नै उठ्यो प्रश्न

काठमाडौं । ‘एक जना पनि कांग्रेसका साथीले दायाँबायाँ तलमाथि गर्ने छुट छैन । मैले भन्दै आएको छु, म भगवानमा विश्वास गर्ने मान्छे हुँ । मनमा जसको हरि छ, अरूले नदेखे पनि हरिले देखेको हुन्छ । बाहिर बाहिर रूख रूख भन्ने भित्र गएर तलमाथि गरे हरिले हिसाबकिताब गर्छन् भन्ने ठान्नुपर्छ।’

माथिको भनाइ ४ वैशाखमा कांग्रेसका महामन्त्री गगन थापाले चितवनको कालिकानगरमा भएको चुनावीसभामा भगवान हरिलाई साक्षी राखेर कार्यकर्तालाई दिएको निर्देशन हो । अघिल्लो निर्वाचनमा पार्टी भित्रै अन्तर्घात र प्रतिघात भएकाले कांग्रेसको उम्मेदवार पराजित भएको रिर्पोटिङको आधारमा उनले त्यसो भनेका प्रष्टै देखिन्छ ।

पार्टीले उठाएको उम्मेदवारलाई भोट हाल्न उर्दी जारी गर्नुले थापालाई आफ्नै कार्यकर्तामाथि विश्वास नभएको अभिव्यक्तिमा झल्किन्थ्यो । त्यसैले हरिको कसम खाएर जनमत प्रभावित पार्ने उनले पुरानै शैली अपनाएका थिए । तर थापाको अभिव्यक्तिको प्रतिवाद गर्दै चितवन–२ का उम्मेदवारसमेत रहेका रास्वपाका सभापति रवि लामिछानेले हरिका नाममा पुराना दलहरूले वर्षौं वर्षसम्म गरेको बदमासी सम्झेर घण्टीलाई भोट हाल्न आग्रह गरे ।

‘एक जना मित्रले हरिको नाम लिँदै रूखलाई भोट हाल्नु भन्नुभएछ । म पनि सम्झाउन चाहन्छु, पुराना दलले वर्षौं वर्षसम्म गरेका बदमासी सम्झेर हरिका नाममा घण्टीलाई भोट हाल्नुहोला । त्यसको हिसाबकिताब हामी गर्नेछौं’, गगनलाई रविको जवाफ थियो ।

हिन्दू धर्मालम्बिहरूमा पाप र पुन्यसँग हरिलाई जोडेर मानवीय भावनालाई प्रभावित पार्न प्रयोग गरिन्छ । कोही व्यक्ति निर्दयी भएमा मनमा हरि नभएको भनेर सम्बोधन गरिन्छ । मनमा हरि भएका व्यक्तिले बेइमानी गर्दैन, व्यभिचारी हुँदैन, निर्दयी वा क्रुर व्यवहार देखाउँदैन भन्ने विश्वास गरिन्छ । चितवन हिन्दूहरूको पवित्र तिर्थस्थल भएको जिल्ला भएकाले पनि महामन्त्री थापाले हरि सम्झेर कार्यकर्तालाई कांग्रेसको नीति र सिद्धान्तमा बाध्न यो अस्त्र प्रयोग गरेका हुन सक्छ ।

चुनावको मुखमा परम्परागत दल कांग्रेसका महामन्त्री थापा र आफूलाई वैकल्पिक नयाँ शक्ति दाबी गरेका सभापति रविबीचको वाक युद्धले यस उपनिर्वाचनलाई राजनीनिक दलहरूले निकै प्रतिष्ठाको विषय बनाएको प्रष्टै देखिन्थ्यो । कांग्रेसले आफ्ना उम्मेदवारलाई जिताउन तनहुँ–१ मा गगन थापा र चितवन–२ मा विश्वप्रकाश शर्मालाई खटाएको थियो । कांग्रेसका उम्मेदवारलाई सत्ता घटक माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा लगायतले समर्थन गरेका थिए । सत्ता समर्थित दल भएपनि रास्वपा एक्लै चुनावी मैदानमा उत्रिएको थियो । विपक्षी एमालेले पनि कसैसँग चुनावी तालमेल गरेन ।

सत्ता गठबन्धनबाट तनहुँ–१ मा कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको थियो । मंसिरमा भएको निर्वाचना विजयी भएका रामचन्द्र पौडेल राष्ट्रपति भएपछि योपटक भट्टराईले मौका पाएका हुन् । रास्वपाले भर्खर कांग्रेसबाट विद्रोह गरी अलग भएका अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई उम्मेदवार बनायो ।

चितवन–२ मा पूर्वसभापतिसमेत रहेका कांग्रेसका जीतनारायण श्रेष्ठ चुनावी मैदानमा उत्रिएका थिए । अघिल्लोपटक भारी मतान्तरले विजयी भएका रास्वपाका सभापति आफै चुनावी प्रतिस्पर्धामा थिए । नागरिकता प्रकरणमा निर्वाचित भएको दुई महिनामै सांसद पद गुमाएपछि उनी दोस्रोपटक चुनावी मैदानमा उत्रिएका हुन् । बारा–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई कांग्रेसले समर्थन गरेको थियो ।

उपनिर्वाचनमा कांग्रेसकाे हरिबिजाेग

तर आइबार सम्पन्न निर्वाचन परिणामले कांग्रेसलाई ठूलो धक्का लाग्यो । थापाले दिएको निर्देशन न त कार्यकर्ताले पालना गरे न त उनले भने जस्तो हरिले माथिबाट हेरे । तनहुँ–१ मा कांग्रेसका झण्डै ३५ वर्ष लामो विरासत बोकेको गढमा रास्वपाका उम्मेदवार वाग्ले १४ हजार ७९७ भारी मतले विजयी भए । वाग्ले ३४ हजार ९१९ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भट्टराईले २० हजार १२२ मत पाए । भट्टराईले अघिल्लो पटक कांग्रेसले पाएको मतसमेत बचाउन सकेनन् । मंसिरको निर्वाचनमा कांग्रेसका उम्मेदवार पौडेलले २५ हजार ३६१ मत पाएका थिए । योपटक कांग्रेसको ५ हजार २३९ घटेको छ । यहाँ थापाले भनेको जस्तो हरिको डर नमानी कार्यकताहरूले नै वाग्लेलाई मत दिएको देखिन्छ ।

त्यस्तै हरिबिजाेग चितवन कांग्रेसमा पनि देखियो । मंसिरको निर्वाचनमा ४९ हजार ३० मतसहित विजयी भएका रविले योपटक मत र मतान्तरमा यसअघिको आफ्नै र्कीतिमानी ब्रेक गरे । रविले ५४ हजार १७६ मतसहित विजयी हुँदा कांग्रेसका उम्मेदवार श्रेष्ठले जम्मा ११ हजार २१४ मत पाए । श्रेष्ठ ४२ हजार ९६२ फराकिलो मतान्तरले पराजित भए । उनले पनि अघिल्लोपटक कांग्रेसले पाएको मतलाई होल्ड गर्न सकेनन् । गएको निर्वाचनमा कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए । योपटक कांग्रेसले ३ हजार ७७४ मत घटाएको छ । ताकि तनहुँ  र चितवनमा आफ्ना उम्मेदवारलाई जिताउन प्रधानमन्त्रीसहित दुई पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र माधवकुमार नेपाल लगायत नेताहरूले चुनावी सभामा शक्ति प्रदर्शन गरेका थिए ।

चुनावी परिणमाले कांग्रेसको हरिबिजोग मात्र भएको छैन, भावि प्रधानमन्त्री रूपमा हेरिएका गगन र विश्वप्रकाशको नेतृत्व क्षेमतामाथि प्रनि प्रश्न चिन्ह खडा भएको छ ।

पार्टीभित्र सँधै पुस्तान्तरण र रुपान्तरणको बहस गर्दै आएका महामन्त्री द्वय थापा र शर्मालाई आफ्नै कार्यकताले पत्याएको देखिएन । चुनवी कमाण्डर बनेका गएका उनीहरूले आफ्ना उम्मेदवारलाई जिताउन त कसेनन्, यसअघि कांग्रेसले पाएको मतसमेत जोगाउन सकेनन् ।